९ जेठ, चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना र परीणाम रोचक मोडमा पुगेको छ । अहिलेसम्म महानगरका १७ वटा वडा गणना सकिँदासम्म एमालेले १० वटा जितेको छ भने कांग्रेसले ५ र माओवादीले एक र माओवादीबाट कारवाही भोगेका तर, माओवादीको चिन्हबाट चुनाव लडेका एकले वडाध्यक्ष जितेका छन् ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल कांग्रेसको प्रभाव क्षेत्र मानिएको भरतपुर महानगरबाट गठवन्धन बनाई मेयरमा उठेका कारण भरतपुर महानगरमा सबैको चासो छ । पोखरा महानगर र हेटौंडा उपमहानगरमा कांग्रेस माओवादी लड्खडाएको बेला भरतपुरमा के होला भन्ने चाँसो सबैमा हुनु स्वभाविक पनि छ ।

२९ वटा वडा रहेको भरतपुर महानगरमा अब १२ वटा वडाको मत गन्न बाँकी छ । गणना गर्न बाँकी पश्चिम चितवनका वडाहरु मूलत कांग्रेसको पकड र केही एमालेले जित्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा रेणुको जित वा हार अब कांग्रेसको मत नै निर्भर हुने छ ।

महानगरका पश्चिमी वडाहरुमा मतगणना टोलीले मत गन्दै गर्दा गठवन्धनको पक्षमा आउने मत र गठवन्धनको बिरोधमा कांग्रेससहितको मतले भावी मेयरको निर्धारण गर्ने देखिन्छ ।

महानगरमा माओवादीले खाता खोल्यो

भरतपुर महानगरपालिकाको वडा नः १३ मा माओवादी केन्द्रले खाता खोलेको छ । उजेलीनगर, गंगानगरचम्पानगर, ब्रम्हपुरी लगायतको क्षेत्र समेटेर बनेको यो वडामा माओवादीले वडाध्यक्ष जितेको छ । उसका प्रकाश दवाडीले एमाले उम्मेदवार रामजी सापकोटालाई ३८५ मतले पछि पार्दै निर्वाचन जिते । दवाडीले प्यालनसहित चुनाव जितेका हुन् ।

सुकुम्वासीहरुको समेत बाक्लो उपस्थिसत रहेको यो वडालाई माओवादीको प्रभाव क्षेत्र मानिन्छ । महानगरका १५ वडा गणना गर्दासम्म नजितेको माओवादीका लागि यसले राहत दिएको छ ।

वडा नः २६ का वडाध्यक्ष कसका ?

महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस माओवादीले गठवन्धन गरिरहँदा वडा नः २६ मा भने रोचक घटना भयो । महानगरमा एमालेलाई एक्लाउने नीति भएपनि वडा नः २६ मा भने एमाले र माओवादी उम्मेदवारहरुवीच गठवन्धन गरेर जाने निर्णय भयो ।

एमालेले उठाएका वडाध्यक्षको उम्मेदवारी फिर्ता लिएर माओवादीका उम्मेदवार ज्ञानप्रसाद खनाललाई सर्मथन गर्ने र अन्य ४ जना एमालेका सदस्यहरुलाई समर्थन गर्ने गरी सहमति भयो । तर, माओवादी जिल्ला नेतृत्वले एमालेसँग तालमेल गरेको भन्दै खनाललाई पार्टीबाट निस्कासन गर्ने निर्णय मात्रै गरेन, वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनायो ।

तर, सोही वडाबाट माओवादीबाट कारवाही झेलेका खनाल बिजयी भए । खनालले १६५८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४६० मत प्राप्त गरे ।

अनलाइनखबरसँग कुरा गर्दै खनालले माओवादीले आफुलाई कारर्वाही गरेपछि देवीको पक्षमा मत मागेको बताएका थिए । मतगणनास्थलमा बस्दा पनि उनी एमालेको प्रतिनिधी भएर बसेका थिए ।

खनाललाई पार्टीले कारर्वाही गरेपनि एकथरी माओवादीको जिल्ला नेतृत्व भने कारवाही अस्थायी हो भन्दै उनलाई भेट्न घरमा नै पुगेको स्रोतले बतायो । उनले निर्वाचन जितिसकेपछि उनले माओवादी केन्द्र खुसियाली मनाउने कि नमनाउने दोधारमा छ । तलका कार्यकर्ता खुसियाली साट्ने क्रममा भएपनि जिल्ला नेतृत्व भने उदासिन देखिन्छ ।

देवीको मत घट्दै, रेणुको बढ्दै !

भरतपुर महानगरका वडा नः १०, ११, १२, २९ र २८ बाट एमाले उम्मेदवार देवी ज्ञवालीले जोडेको मत माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालले वडा नः १३ र २६ मा घटाएकी छिन् ।

वडा नः २७ को गणना सकिँदा देवी र रेणुको मतान्तर ३८३३ थियो । १४५८ मत ल्याएर वडा नः १३ मा माओवादी केन्द्रले वडाध्यक्ष जित्दा रेणुले १६४१ मत थपिन । यहाँ एमाले उम्मेदवार देवी ज्ञवालीले भने १११९ मत मात्रै थपे । यहाँबाट रेणुले देवीको खाताको ५२२ मत घटाएकी छिन् ।

यस्तै वडा नः २६ मा भने माओवादीबाट कारवाही झलेका ज्ञानप्रसाद खनालले १६५८ मत ल्याएर वडाध्यक्ष जित्दा रेणुले त्यति मत पाइनन् । माओवादी र एमाले सर्मथनको मत एकैठाँउमा भएका कारण कति मत मात्रै माओवादी हो भन्न नसकेपनि रेणुले वडा नः २६ बाट १५४९ मत थपिन् । यहाँ कांग्रेसले १४६० मत ल्यायो । देवी ज्ञवालीले मेयरमा ८९६ मत मात्रै थपे । यसरी हेर्दा रेणुले वडा नः २६ मा देवीलाई ६५३ मत तिर्न लगाइन् ।

वडा नः २७ मा रहँदा बनाएको ३८३३ मतको अन्तर २६ को गणना सकिँदासम्म २६५८ मा झरेको छ ।

अबको वडामा को कस्तो ?

महानगरका १७ वटा वडा गणना सकिएको छ । अब १२ वटा वडाको मत मात्र गन्न बाँकी छ । वडा नः १४ देखि २५ सम्मको गणनामा नतिजा कसको पक्षमा आउला यसै भन्न सकिने अवस्था छैन ।

गणना जारी रहेको वडा नः १४ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाल्यकाल बिताएको ठाँउ पनि हो । वडा नः १५ र १६ मा सबैभन्दा बढि क्रमशः ५५२३ र ५७२३ मत खसेको छ । साविक मंगलपुर गाविसमा पर्ने यो क्षेत्रको वडा नः १६ मा एमाले र १५ मा कांग्रेसको पकड छ । साथै एमाले जिल्ला सचिव पार्वती रावलको वडा पनि हो ।

साविक चित्रवन नगरपालिका कांग्रेसको गढ हो । शारदानगर, रामपुर र गोव्रेनी क्षेत्र समेटिएको वडा नः १७, गुञ्जनगर, चनौलीको माथिल्लो क्षेत्र, शशिनगर र भूवनवस्ती समेटिएको वडा नः १८, शारदानगर, गुञ्जनगर र किरणगञ्ज समेटिएको वडा नः १९ कांग्रेसका किल्ला मानिन्छ । वडा नः १९ मा एमालेले स्थानीय युवा प्रकाश तामाङलाई एमालेले उम्मेदवार बनाएको छ ।

जनजातिको बाहुल्य भएको यो क्षेत्रबाट उनले कांग्रेसलाई टक्कर दिन सक्ने एमालेको आंकलन छ । वडा नः २२ पटिहानीको तल्लो क्षेत्रमा माओवादी र एमालेको बीचमा प्रतिस्पर्धा हुनेछ । रेणुको मावली पनि यहि पर्दछ । यहाँ एमाले र माओवादी मध्ये एकले जित्ने छन् । साविक जगतपुर, खड्कौली र मधुपुरी समेटिएको जगतपुरको वडा नः २३ आफूले जित्ने एमालेको दाबी छ ।

वडा नः २४ जगतपुरको बाँकी भूभाग र शुक्रनगरको केही क्षेत्र समेटेर बनेको छ । महानगरकै सबैभन्दा कम मत खसेको वडा नै यहि हो ।

यहाँबाट जम्मा १७५९ मत खसेको छ । वडा नः २५ मा पनि एमाले प्रतिस्पर्धामा आउने छ । यसरी हेर्दा समान्य रुपमा रेणुले लिने अग्रतालाई तिर्न पुग्ने मत एमाले उम्मेदवार देवी ज्ञवालीसँग छ तर, फराकिलो अन्तर परेमा भने उनी पछि पर्नेछिन् । पश्चिम चितवनका मूलत कांग्रेसका बलियो भएका केही वडाले रेणु र देवीलाई दिने मतले यहाँको भविश्यको फैसला गर्नेछ ।

२०७४ जेठ १० गते ११:३० मा प्रकाशित