महिलालार्इ हेर्ने कम्युनिष्ट स्कुलिङमाथि प्रश्न

अम्बिका पौडेल

कुनैबेला मोदनाथ प्रश्रितले लेखेको “महिला मुक्ति र बन्धन” भन्ने पुस्तक निकै चर्चामा थियो । कम्युनिष्ट आन्दोलनमा महिला स्वतन्त्रता, समानता र अधिकारको बारेमा यो पुस्तक पढ्न प्रेरित गर्थे नेताहरु । माले स्कूलिङमा यो पुस्तकले बढी चर्चा पाउँथ्यो भने माओवादी स्कूलिङमा योसँगै सिमोन द बाउबारको “द सेकेण्ड सेक्स” भन्ने पुस्तक पढ्न सल्लाह दिइन्थ्यो ।

कम्युनिष्ट आन्दोलनले महिलाहरुमाथिका हरेक खाले उत्पीडिन र शोषणहरु वर्गीय हुने र समाजको बनौटका आधारमा मानिसहरुको चिन्तनपद्दती पनि त्यही अनुरुप हुने कुरा गर्दै आयो । नेपाली समाज पुरुषको हालीमुहाली भएको, श्रोत, साधन र शक्तिमा उनीहरुकै पहुँच भएकोले महिलाहरुलाई भोगवादी दृष्टिले मात्रै हेरिने भन्ने दृष्टिकोण कम्युनिष्ट पार्टीहरुले अघि सारे । यही आधारमा अहिलेका कम्युनिष्ट नाम राखिएका पार्टीका नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिए ।

बिडम्बनाको कुरा के भयो, मोदनाथ प्रश्रितको महिला अधिकारको स्कूलिङबाट हुर्केकाहरु नै अहिले भने चरम पितृसत्तावादी सामन्ती मानसिकताको प्रदर्शन गर्दै बिभिन्न कोणबाट महिलाहरुको सशक्तता र सक्षमतामाथि प्रश्न उठाइरहेका छन् ।

“पोथी बासेको” मन नपर्ने समाज हो नेपाल । महिलाहरुले ज्ञानगुनका, तर्क र विवेकका, राजनीति र विज्ञानका कुरा गर्ने हो भने त्यसलाई नेपाली समाजले हत्तपत्ति पचाउँदैन । पछिल्लो दशकमा यो क्रममा उल्लेख्यमात्रामा ह्रास आएपनि मूल मानसिकतामा भने परिर्वतन देखिँदैन ।

महिलाहरु पनि आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय हुन थालेपछि उनीहरु पनि पुरुषभन्दा कुनै अर्थमा कम छैनन् भन्ने मान्यताको विकास भएपनि उनीहरुलाई भित्रैदेखि, मनैदेखि स्वीकार्ने आँट भने अहिले पनि समाजको देखिन्न । यसको प्रत्यक्ष छाप बिभिन्न तहमा महिलाहरुले नेतृत्व लिँदा हुने गरेका प्रतिक्रिया र त्यसपछि उनीहरुलाई देखाइने व्यवहारले पुष्टि गर्छ । कतिपय निकायमा महिला प्रमुख हुँदा पुरुषहरुले असहज महसुस गर्छन् । यो त्यही मानसिकताको द्योतक हो ।

अनैतिक आलोचकहरुलाई प्रश्न छ- के कारणले रेणुले या अरु नेतृले चुनाव लड्न नहुने ? के कारणले नेताका छोराछोरीहरु राजनीतिका लागि योग्य नहुने ? के महिलाको क्षमता रगतको सम्बन्धले मात्रै निर्धारण गर्छ ?

पछिल्ला दुई सातामा सार्वजनिक सञ्जाल र मिडियामा आएका टिकाटिप्पणी हेर्दा नेपाली समाज कतिसम्म तुच्छ भोगवादी र पितृसत्तावादी मानसिकतामा बाँचेको छ भन्ने कुरा देखिन्छ । महिला उम्मेदवारहरुमाथि भए गरेका टिकाटिप्पणीहरु, राजनीतिमा उनीहरुको स्थान, वडा सदस्य भन्दा माथि उठ्न नदिने मानसिकता र व्यवहार, उम्मेदवार नै भएपनि भोट नदिने प्रवृत्ति हेर्दा हामी परिवर्तनकामी भन्नेहरु, हामी कम्युनिष्ट भन्नेहरु, हामी नारी बन्धन र मुक्तिको सिफारिस गर्नेहरु नै यो तुच्छ मानसिकतामा बाँचेका छौं भन्ने पुष्टि हुन्छ ।

नेपालको राजनीतिमा महिलाहरुको उपस्थिति अहिले पनि निर्णायक छैन । जबकि नेपाली महिलाहरुले राजनीतिलाई मज्जाले, सहजतापूर्वक, पुरुषहरु जस्तै र उत्कृष्ट ढंगले बुझ्न र त्यसअनुरुप कार्य व्यवहार गर्न सक्छन् भन्ने कुरा कतिपय महिलाहरुको भूमिकाले प्रमाणित हुन्छ । सभामुखदेखि राष्ट्रपतिसम्मले देखाएको जिम्मेवारीपूर्ण व्यवहार त्यसको उदाहरण हो ।

अहिले सभामुख छिन् ओनसरी घर्ती । उमेरले उनले आधा दशक पार गरेकी छैनन् । शिक्षाका हिसाबले उनका अगाडि ‘डाक्टर’ झुण्डिदैन । तर उनको भूमिका हेर्दा कतैबाट पनि उनी परम्परागतरुपमा सोचिने महिला देखिँदैनन् । यही कुरा नीजि क्षेत्रदेखि अन्य कैयन निकायमा प्रमुख भूमिकामा रहेका महिलाहरुका बारेमा सत्य हो । तर, हामीकहाँ महिला राजनीतिमा आउँदा त्यसलाई कतै नै कतै कुनै पुरुषसँग जोडेर त्यसको मानमर्दन गरिन्छ । चाहे रेखा थापा हुन, कोमल ओली हुन या रेणु दाहाल, महिलाहरुले राजनीतिमा हिस्सेदारी खोज्नेबित्तिकै अमीलो मुख बनाउने चिन्तन बाँकी नै छ ।

रेखा थापाले राप्रपामा गएपछि टिकट पाइनन् । चर्चा उनको उप मेयरको थियो । त्यसपछि उनीबारे यस्तै तुच्छ, अश्लील पाराका टिप्पणीहरु भए । यी टिप्पणीहरु आम सर्वसाधारण र राजनीतिमा संलग्न नभएका मानिसहरुले गरेका थिएनन् । बरु यी टिप्पणी कुनै वाद, दर्शनको खोल ओढेकाहरुले नै बढी गरेका थिए । महिला अधिकारको दर्शन बोकेको पार्टीका समर्थकहरुले नै गरेका थिए । “रेखा थापा पनौती हुन, उनले छविलाई डुबाइन्, उनले प्रचण्डलाई डुबाईन र अहिले कमल थापाकोमा गएपछि गाईलाई तुहाईन” जस्ता तुच्छ टिप्पणी रेखाको बारेमा गरिए ।

तर सबैभन्दा बढी यस्ता टिप्पणीहरु भने रेणु दाहालको बारेमा गरिए । रेणु दाहाल माओवादी आन्दोलनमा संलग्न एक सक्रिय महिला हुन । जन्मे हुर्केदेखि नै राजनीतिकरण भएको उनको जीवनलाई अहिले जसरी प्रचार गरिएको छ, त्यो पनि कुनै आम सर्वसाधारणले गरेका छैनन् । बरु आफूलाई पुष्पलालका समर्थक बताउने, मदन भण्डारीको आदर्श बोकेको दावी गर्ने र मोदनाथदेखि साहाना प्रधानसम्मको स्कूलिङबाट चिन्तन विकास गरेको दावी गर्ने एमाले समर्थकहरुले बढी गरेका छन् । यतिसम्म कि “एमालेका देवी माथि, रेणु तल” जस्ता घटिया द्वीअर्थी टिप्पणीहरु समेत बडो रस्वादन लिएर सामाजिक सञ्जालमा गरिएका छन् ।

अम्बिका पाैडेल

रेणु दाहालको राजनीतिसँग विमति राख्नु गलत होइन, त्यो अधिकार सबैलाई छ । काठमाडौंबाट यसअघि उम्मेदवार बनेपछि चितवनको मेयरमा उनले दावेदारी प्रस्तुत गर्ने कुरामा तार्किक बहस हुन सक्छ । तर रेणु दाहालका बारेमा यसरी प्रचार गरिँदैछ, मानौं उनको उम्मेदवारी पाप हो, नियम कानुन विरुद्ध हो आदि इत्यादी । जहाँसम्म प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग उनको बुवा छोरीको सम्बन्ध छ, त्यो कुरा अन्य नेताका छोराहरुका हकमा किन लागु हुँदैन ?

मोदनाथ प्रश्रितकै छोरा विजय पौडेल राजनीतिक अर्थशास्त्रीका रुपमा एमालेभित्रै योगदान दिइरहेका छन्, त्यहाँ टिप्पणी किन हुन्न ? किन रेणु या अन्य महिलाहरुलाई कुनै न कुनै पुरुषसँग जोडिन्छ । के प्रचण्डपुत्री हुनु रेणुको दोष हो ? के परिवारलाई व्यक्तिगत सुख सुविधा या क्यारिअरतर्फ नलगेर देशलाई योगदान दिने स्वयम्सेवी क्षेत्र राजनीतिमा लाग्न प्रेरित गर्नु प्रचण्डको मूर्खता हो ? के रेणुले राजनीति गर्नु नै अपराध हो ? हैन, भने उनीमाथि यस प्रकारका निर्लज्ज टिप्पणी र चर्चा किन ? के हाम्रो बहुदलीय जनवादको सिद्धान्तमा कुनै नेताको छोरीलाई राजनीतिमा आउन निषेध गर्नुपर्छ भनिएको छ ? यदि होइन भने हामी र कट्टरतावादी चिन्तन राख्ने केही इस्लामिक नेताहरुमा के फरक छ ?

रेणु एक्ली होइनन्, जो प्रकारको पितृसत्तावादी चिन्तनको शिकार बन्ने । स्वयम् मोदनाथ प्रश्रतिकी श्रीमतीले समेत एकपटक यो पंक्तिकारसँग यही गुनासो गरेकी थिइन । उनले एउटा जीवनकथा (उपन्यास) लेखिन्-काँडाघारीको यात्रा । यो उनको विशुद्ध आफ्नो रचना थियो । तर, प्रचार के गरियो भने यो मोदनाथले लेखेको हो । उनलाई राजनीतिमा आउन इच्छा थियो, तर उनी राजनीतिमा आउँदा मोदनाथकी श्रीमती भएर आउनुपर्थ्यो ।

एमालेभित्रको यो जड पुरुषवादी संस्कारका कारण थुप्रै महिलाहरु अगाडि आउन सकेनन् । जो आए, तिनीहरुलाई कुनै न कुनै पुरुषसँग जोडियो । या नेतृत्वमा स्थापित गर्न दिइएन । यो कुरा एमालेको संगठनको इतिहास पल्टाउँदा झन स्पष्ट हुन्छ । माओवादीले महिला नेतृत्वलाई एकहदसम्म स्थापित गर्न खोज्यो, परिवारको राजनीतिकरणमा जोड दियो, जबकि एमालेमा ठीक उल्टो भयो, जो महिला आए, तिनीहरुलाई यो वा त्यो रुपमा खुम्च्याइयो या कुनै कुनै नेतासँगै जोडिनै पर्ने बनाइयो । यही चिन्तनले यिनै एमालेका समर्थकहरुले सबैभन्दा बढी रेणुमाथि प्रहार गरे ।

चर्चा र आलोचना गर्नुपर्छ, त्यो राजनीतिक संस्कारभित्र पर्छ, तर यो नैतिक हुनुपर्छ । आलोचनाले नैतिकताको सीमा नाघेपछि त्यो गाली बन्छ ।

कतिपय टिप्पणीहरुमा विवकेशील पार्टीबाट काठमाडौं महानगरपालिकामा उम्मेद्वार रञ्जु दर्शना मध्यमवर्गबाट आएकी हुन् भन्ने किसिमले टिप्पणी भयो । यो अर्थसम्मको टिप्पणी नैतिक हुन्छ । तर, रञ्जु दर्शनाको व्यक्तिगत चरित्रमाथि औंला ठड्याउनु अनैतिक टिप्पणी हुन जान्छ । यही कुरा रेणु, रेखालगायतका सबैका हकमा लागु हुन्छ ।

अनैतिक आलोचकहरुलाई प्रश्न छ- के कारणले रेणुले या अरु नेतृले चुनाव लड्न नहुने ? के कारणले नेताका छोराछोरीहरु राजनीतिका लागि योग्य नहुने ? के महिलाको क्षमता रगतको सम्बन्धले मात्रै निर्धारण गर्छ ? के महिलाको आफ्नो मष्तिष्क, आफ्नो विवेक, आफ्नो तर्कशीलता, आफ्नो क्षमता हुँदैन ? के महिलाहरुले कुनै कुरा गर्न जनमत संग्रह गरेर अनुमति लिनुपर्ने हो ? के महिलाको परिचय उसले आफूले निर्माण गर्न सक्दैन ? के हरेक स्थानमा उसले पुरुषको परिचय लिएर हिँड्नु पर्ने हो ?

अझै प्रश्न गर्न मन लाग्छ- के हामीले यही चिन्तनको विकास गर्न लोकतन्त्रको लडाईं लडेका हौं । के परिवर्तनका आन्दोलनहरु यसैगरी रेणुलगायतलाई भोगवादी चिन्तनले होच्याउने जमात तयार गर्न भएका हुन ? के हाम्रो समावेशी र समाजवादोन्मुख संविधान यसैका लागि बनेको हो ?

यदि होइन भने मानसिकता परिवर्तन नभई कसरी बन्छ नयाँ नेपाल ? अझ यो चिन्तन हावी हुने, यही चिन्तनाबाट खसेका मतहरुको बहुमत हुने र तिनीहरुले सत्ता चलाउने अवस्थामा हामी कहाँ पुग्छौं ?

Comments

comments

SHARE