काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता सुरु गरेको एक वर्ष पुग्दा एक करोडभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको छ । वैशाखबाट मोबाइलको आईएमईआई दर्ता सुरु गरेको प्राधिकरणमा व्यक्तिगत र व्यवसायी गरी एक करोड तीन लाख ९२ हजारभन्दा बढी आईएमईआई दर्ता भएको हो ।

गत वर्ष मात्र ९९ लाख ९८ हजार आईएमईआई नम्बर दर्ता भएको छ । त्यसमा ९९ लाख ९५ हजार व्यावसायिक रूपमा र चार हजार व्यक्तिगत रूपमा आईएईआई नम्बर दर्ता भएको प्राधिकरणका सहायक निर्देशक दिनेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षको पहिलो महिनामा मात्रै पनि व्यक्तिगत र व्यावसायिक रूपमा तीन लाख ९४ हजारभन्दा बढी आईएमईआई नम्बर दर्ता भइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमईआई) नम्बर दर्ता प्रक्रिया सुरु गरेको ६ महिनामा २५ लाख मोबाइल फोन प्राधिकरणमा दर्ता भएका छन् । गौतमका अनुसार धेरैजसो मोबाइल सेटमा दुईवटा आईएमईआई नम्बर हुने भएकाले दर्ता भएको आईएमईआई नम्बरभन्दा आधा संख्यामा मोबाइल आयात भएको छ । दर्ता भएको आईएमईआई नम्बरका आधारमा ७० लाख मोबाइल व्यावसायिक रूपमा र दुई हजार दुई सय मोबाइल व्यक्तिगत रूपमा १३ महिनामा नेपालमा भित्रिएको छ ।

मोबाइल फोनलाई व्यवस्थित गर्न साथै आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइसाथ लागू गरेको थियो । यसलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउनका लागि प्राधिकरणले अनलाइन सेवा पनि प्रदान गर्ने जनाएको थियो । तर, अनलाइन पक्रियामा केही ढिलाइ भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार अनलाइन प्रक्रिया अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पुगेको अवस्था छ ।

अनलाइनका लागि आवश्यक सफ्टवेयर निर्माण सम्पन्न गरी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पुगिसकेको र यो परीक्षणका क्रममा रहेको उहाँले बताउनुभयो । परीक्षणमा सफल भएपछि यो प्रयोगकर्तामाझ आउनेछ । आईएमईआई नम्बर दर्ता गर्न अनलाइन सेवा सुरु भएको खण्डमा दर्ताका लागि फाइल बोकेर धाइरहनुपर्दैन । अनलाइनमार्फत नै व्यक्तिगत र व्यावसायिक दुबै दर्ता गर्न सकिनेछ भने काम छिटो हुनुका साथै सहज रूपमा तथ्यांक हासिल गर्न सकिनेछ ।

आईएमईआई दर्ता प्रक्रियालाई अनलाइनमा लानकै लागि प्राधिकरणले इक्विपमेन्ट आईडेन्टिटी रजिस्टर(ईआईआर) परामर्शदाता समेत नियुक्त गरिसकेको छ । प्रवक्ता अर्यालका अनुसार दुई महिना अघिबाट युकेको लौरेसिया एसोसिएसन कम्पनी परामर्श दाताका रूपमा नियुक्त भएको हो । उसले कार्यविधिको निर्धारण गर्नुका साथै यसको सञ्चालन कसले गर्ने भनी सुझावसमेत दिनेछ । यसका साथै टेलिकम सेवा प्रदायक (अपरेटर), भन्सार, नेपाल दूरसञ्चार प्राधिकरण र ग्राहकले के गर्ने भन्ने कुरासमेत परामर्शदाताले सुझाव दिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यससँगै मोबाइल हराएको खण्डमा मोबाइल खोज्ने अवधिभर ग्रे को रूपमा राखी खोजी गर्न सकिने र नभेटिएको खण्डमा मोबाइल नै ब्लक गर्न सकिनेछ ।

प्रवक्ता अर्यालका अनुसार पछिल्लो समय मोबाइलको प्रयोग आर्थिकदेखि शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा प्रयोग भएको छ । जुन रूपले यसको प्रयोग भएको हो त्यहीअनुरूप समस्या पनि सिर्जना हुँदै गएको छ । यसले चोरी, ह्याकिङजस्ता समस्या देखा परेका छन् । यसले गर्दा पनि आईएमईआई दर्ता प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने काम भएको हो । आईएमईआई दर्ताले भन्सार छलेर मोबाइल आयात हुने क्रम रोकिनुका साथै आईएमईआई दर्ता हुँदा मोबाइल हरायो भने खोज्न सहज हुनेछ । यसमार्फत चोरीको मोबाइल कुन ठाउँमा कुन सिम हालेर प्रयोग भइरहेको छ, पत्ता लगाउनसमेत सहज हुने खनाल बताउनुहुन्छ ।