४ फाल्गुन २०७४
काठमाडौँ/ती सदस्यीय मन्त्री मण्डल गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने भएका छन् । पार्टी एकता नटुंगीएपछि माओवादी केन्द्र समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने योजनामा रहेका प्रधानमन्त्री वलीले मन्त्री मण्डल विस्तार नगरिएको हो ।
एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यका साथ गत निर्वाचनमा वाम गठबन्धन निर्माण भए पनि माओवादी केन्द्रसँगको पार्टी एकताको टुङ्गो नलाग्नु र एमालेभित्रकै माधव नेपाल समूहको चित्त बुझाउन नसकेपछि मन्त्री मण्डल विस्तार गर्न सहज नभएपछि विस्तार नगरेको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तत्काल मन्त्रीमण्डल विस्तारको कुनै तयारी भएको छैन । ‘प्रधानमन्त्रीको शुक्रबार दिनभर बाहिर जाने कार्यक्रम पनि छैन, पार्टीसँगको छलफल पनि तय भएको छैन, आज बधाई र शुभकामनाको मात्रै कार्यक्रम छ’, ओलीका प्रेश संयोजक चेतन अधिकारीले तेमाल अनलाईनलाई बताए ।

पार्टी एकता अनिस्चित
एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा नमिलेपछ माओवादी–एमाले एकता अनिश्चित भएको छ । पार्टीको सिद्धान्त र कार्यदिशाकोबारेमा दुई पार्टीबीच पछिल्लो चरणमा आएपछि विवाद भएको थियो । विवादका कारण एकतालाई अन्तिम रुप दिने भनि बैठकहरु बसे पनि सहमति भने जुटाउन सकेका छैनन् । विशेष गरि माओवादीले सञ्चालन गरेको शसस्त्र जनयुद्ध र मार्गदर्शक सिद्धान्त माओवादकोबारेमा छलफल गर्न नसक्ने र जनताको बहुदलीय जनवाद नै एकीकृत पार्टी कार्यदिशा हुनुपर्ने भनेपछि पार्टी एकता एकाएक अनिश्चित बनेको हो ।

एमालेको १८० डिग्री फान्को
एमाले र माओवादी बीचमा जनताको बहुदलीय जनवाद र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुङ्गो लगाउने सहमति यस अघि भएको थियो । तर एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनसाथ एमाले १८० डिग्रीमा फान्को मारेको छ । त्यसैले एमाले र माओवादी एकताले एकाएक नयाँ कोर्षमा पुगेको हो । यसरी एकताको विषय नटुंगिएसम्म नयाँ सरकारमा सहभागी नहुने बरु सरकार बाहिर नै बसेर एमाले नेतृत्वको सरकारलाई सहयोग गर्ने योजनामा माओवादी लागेको छ ।

एमालेको यही अडानका कारण बुधबार रातिसम्म पार्टी एकताको खाका सार्वजनिक गर्ने भनेर दिनभर वान टु वान र संयुक्त छलफल गरेका दुई पार्टीले अन्तिममा एकताको खाका लिपिबद्ध गर्न सकेनन् । जसले गर्दा एमाले नेताहरू मात्रै सहभागी गराएर ओलीले पहिलो मन्त्रिपरिषद गठन गर्नुप¥यो ।
माओवादी समेतको समर्थनमा प्रधानमन्त्री भएका ओलीलाई एक्लै निर्णय गर्न प्राविधिक अप्ठ्यारो छ । पार्टी नै एकीकरण गर्ने भनेर गृहकार्य भइरहेका बेला एकलौटी अघि बढे गठबन्धनमा थप गडबडी हुने भएकाले पनि अघि बढ्न नसक्ने ओली निकट स्रोतले बताएको छ ।
यद्यपि नेताहरूले अब छिटै बस्ने शीर्ष नेताको बैठकले पार्टी एकतालाई ठोस निष्कर्षमा पु¥याउने दाबी गरेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अबको बैठक निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिँदै शीर्ष तहमा त्यसबारे अनौपचारिक कुराकानी भइरहेका बताइन् । एमाले नेता सुवास नेम्वाङले शुक्रबार या शनिबारसम्म बैठक बसेर निर्णयमा पुगिने बताए ।

मन्त्रालयको भागबण्डा पनि भएको छैन
एमाले र माओवादीबीच कसले कति मन्त्रालय लिने भन्ने पनि निर्णय भइसकेको छैन । प्रारम्भमा ६०–४० भनिए पनि त्यसमा ठोस सहमति भइ नसकेकाले एमालेले कति मन्त्रालय र कुन राख्ने र माओवादीलाई कुन कुन भन्ने निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित पार्टीले मन्त्री बन्नेको नाम टुङ्गो लगाउनेछन् । मन्त्रालय भागबण्डामा माओवादीले पूर्वसहमतिअनुसार ६०–४० का आधारमा मन्त्रालय बाँड्नुपर्ने भन्दै आएको छ भने एमाले ७०–३० को अडानमा छ ।

एमाले भित्रै पनि यस्तो छ समस्या
एमालेभित्र पनि मन्त्रीका आकाङ्क्षी धेरै छन् । बिहीबार नै एमालेका माहासचिव ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई मन्त्रीमण्डलमा समावेश गर्न लागेका ओलीले अन्तिम समयमा आएर पोखरेल र ज्ञवालीको नाम हटाएर लालबाबु पण्डित र थममाया थापाको नाम राखेका थिए । बिहीबार दिनभर ओलीसँगै पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चा भएको थियो । ओली निकटका दुवै नेता पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चा चलेपछि नेता माधव नेपालले ओलीलाई टेलिफोनमा ‘के गर्न खोजेको हो ?’ भनेर सोधेका थिए । माधवको आक्रोशपूर्ण फोन गएपछि तत्कालै ओलीले पोखरेल र ज्ञवालीको नाम हटाएर पण्डित र थापालाई शपथ खुवाउने जानकारी गराएका थिए । पण्डित नेपाल समूहका हुन् भने थपा ओली निकट मनिन्छन् ।

 

Comments

comments