Presedent Bidya Devi Bhandari. Photo: President's Office

 

 

 

 

राष्ट्रपतिमा झलनाथ खनाल र अमिक शेरचनको दाबी, अहिलेकै राष्ट्रपति–उपराष्ट्रपति पनि दोहरिन लबिङमा

 

काठमाडौं -निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारका विषयमा ‘वन अन वन’ छलफल गरिरहेका छन् ।

दुई नेताबीच सीमित छलफलका प्रगति अहिलेसम्म बाहिर आउन नसके पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनदेखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गर्न थालेका छन् । वाम गठबन्धनबाटै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित हुने बढी सम्भावना देखिएकाले कांग्रेस र मधेसकेन्द्रित दलभित्र भने अहिलेसम्म आकांक्षी देखिएका छैनन् । आयोगले २१ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

यी हुन् राष्ट्रपति–उपराष्ट्रपतिका आकांक्षी
भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटक–पटकको भेट र ‘डिनर मिटिङ’मार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना प्रकट गरेकी छिन् ।

उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् । उनले गठबन्धनको निर्णयअनुसार आफू जिम्मेवारी लिन तयार रहेको बताइसकेका छन् । माओवादी नेता शेरचनले पनि आफूलाई अघिल्लोपटक नै ‘अफर’ आएको र पार्टी अध्यक्ष प्रचण्डको आग्रहअनुसार जिम्मेवारी लिने मनस्थिति बनाएर बसेको प्रस्ट पारेका छन् । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनबाहेक अन्य नेताले अहिलेसम्म आकांक्षा राखेका छैनन् । माघको पहिलो साता एमाले अध्यक्ष ओली थाइल्यान्डको बैंककबाट फर्किएलगत्तै उनको निवास बालकोट पुगेर पुनले कूटनीतिक भाषामा दोहोरिने चाहना प्रकट गरेका थिए ।

यसकारण दोहोरिन चाहन्छन् राष्ट्रपति–उपराष्ट्रपति
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डसँग दोहोरिने चाहना राखेका छन् । राष्ट्रपति सचिवालयका एक सदस्यले भने भण्डारीले अहिलेसम्म त्यसरी औपचारिक रूपमा प्रस्ताव नगरेको दाबी गरे । ‘शिष्टाचार भेटघाटलाई पनि नियोजित ढंगले प्रचार गरेर राष्ट्रप्रमुखको मर्यादा घटाउने खेल भइरहेको छ,’ ती सदस्यले आफ्नो नाम उद्धृत नगर्ने सर्तमा राष्ट्रपतिलाई विवादमा नमुछ्न आग्रह गर्दै भने, ‘उहाँले अहिलेसम्म कोही–कसैसँगको भेटघाट वा छलफलमा दोहोरिने चाहना प्रकट गर्नुभएको छैन ।’

ओली र प्रचण्डनिकट स्रोतले भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल राष्ट्रप्रमुखमा दोहोरिने चाहना राखेको दाबी गर्‍यो । ‘राष्ट्रप्रमुख र उपप्रमुखजस्तो पद छोटो समयमै फेरिरहँदा राष्ट्रलाई व्ययभार थपिने, भूतपूर्व भइसकेपछि मर्यादाभित्र रहिरहन असहज हुने भन्दै दुवैजनाले दोहोरिने चाहना राख्नुभएको छ,’ स्रोतले भन्यो, ‘कम्तीमा एक कार्यकाल जिम्मेवारी पूरा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आशय छ ।’ राष्ट्रपतिले धेरै उमेर नभइसकेको र पूर्वराष्ट्रपतिको हैसियतमा राजनीतिमा आउँदा आलोचना हुन सक्ने भएकाले पनि पुनः पाँच वर्षका लागि दोहोरिने चाहना प्रकट गरेको स्रोतको दाबी छ । साढे दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित भण्डारी अहिले ५६ वर्षकी भइन् ।

एक महिनामै नयाँ राष्ट्रपति, यस्तो छ कानुनी व्यवस्था
निर्वाचन आयोगले ३ फागुनमा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाइसकाले संसद् गठन भएको एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक र कानुनी प्रावधानअनुसार बढीमा ३ चैतभित्र नयाँ राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित भइसक्नेछन् । राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ र ५ मा ऐन प्रारम्भ भएपछि पहिलोपटक हुने निर्वाचनमा संघीय संसद् र प्रदेश सभा गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

आयोगमा राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित
निर्वाचन आयोग प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएलगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तयारीमा केन्द्रित भएको छ । राष्ट्रिय दलहरूसँग सुझाब लिएर आयोगले मिति घोषणा गरेको छ । यसलगत्तै आयोगले अन्य चुनावमा जस्तै मतदाता नामावली प्रकाशनदेखि, कर्मचारी खटाउनेलगायत सबै तयारी अघि बढाउनेछ । ‘कानुनअनुसार प्रतिनिधिसभा गठन भएको एक महिनाभित्र निर्वाचन गर्नुपर्ने भएकाले मिति तोकेर तयारी अघि बढेको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने ।

फरक–फरक समुदायबाट चुनिनेछन् राष्ट्रपति–उपराष्ट्रपति
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुने व्यवस्था भएकाले दलहरूले त्यसअनुसार उम्मेदवार चयन गर्नुपर्नेछ । यो व्यवस्थाअनुसार राष्ट्रपति पुरुष या एउटा समुदायको भए उपराष्ट्रपति महिला या अर्को समुदायबाट उम्मेदवार हुनेछन् । त्यस्तै, महिला या एउटा समुदायको राष्ट्रपति उम्मेदवार बने पुरुष या अर्को समुदायको व्यक्ति उपराष्ट्रपति बन्नेछन् ।

संघीय संसद् र प्रदेश सभाका सांसद मतदाता
संविधानको धारा ६२ अनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचनमण्डलबाट राष्ट्रपति चुनिनेछन् । दुवै संसद्का सांसदको मतभार फरक छ । कुनै उम्मेदवारले बहुमत नल्याएको अवस्थामा भने संविधानअनुसार कुल मतको बढी मत प्राप्त गर्ने दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने संवैधानिक व्यवस्था छ ।

नदोहोरिए सक्रिय राजनीति गर्ने राष्ट्रपतिको चाहना
कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् । राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा छोटो समय रहेर बिदा हुन लागेका कारण सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्ने गरेकी छिन् । ‘नदोहोरिएको अवस्थामा सम्भवतः उहाँ सक्रिय राजनीतिमा आउन पनि सक्नुहुन्छ, पटक–पटक राष्ट्रपति फेरिँदा राज्यलाई भार पर्ने भएकाले सेवा–सुविधा परित्याग गर्न सकिने उहाँको कुरा छ, विश्वका कतिपय मुलुकमा त्यस्ता उदाहरण रहेकाले उहाँले अनौपचारिक भेटघाटमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्दै आउनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

त्यसो त, राष्ट्रपति हुनुअघि एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले नवौँ महाधिवेशनलगत्तै आफूलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् । यसक्रममा उनले नवौँ महाधिवेशनमा ओलीलाई सघाउने केन्द्रीय सदस्य, भ्रातृ संगठनका पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उपस्थितिमा एक कदम अघि बढेर छुट्टै भेला गरी उनले पार्टीमा ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् । ओलीले राष्ट्रपति बन्ने ‘अफर’ गरेपछि पनि केही समय द्विविधामा परेकी उनले धेरै निकटस्थसँग परामर्श गरेर मात्र जिम्मेवारी सम्हाल्ने निर्णय लिएकी थिइन् ।

प्रचण्ड र नेपालले अस्वीकार गरे प्रस्ताव
वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने प्रस्ताव बारम्बार अस्वीकार गर्दै आएका छन् । स्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिणामलगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डलाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । तर, एकीकृत पार्टीमा सक्रिय राजनीति गर्ने चाहना रहेको भन्दै प्रचण्डले तत्काल प्रस्ताव अस्वीकार गरे । उता, नेपाललाई पनि प्रचण्ड र ओलीनिकट नेताहरूले राष्ट्रपति बन्नुपर्ने आशयको प्रस्ताव बारम्बार राख्दै आए पनि सक्रिय राजनीति गर्ने भन्दै अस्वीकार गर्दै आएका छन् । २६ माघमा आयोजित एक कार्यक्रममा नेपालले आफू सक्रिय राजनीति गर्ने पक्षमा रहेको प्रस्ट पार्दै राष्ट्रपति बन्दा काठमाडौं २ का जनताको भावनामा चोट पुग्ने बताएका थिए ।

राष्ट्रपति बन्ने खनालको पुरानै चाहना
एमाले वरिष्ठ नेता खनालले पार्टीको नवौँ महाधिवेशनदेखि नै राष्ट्रपति बन्ने चाहना प्रकट गर्दै आएका छन् । नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति बन्ने आकांक्षाकै कारण महाधिवेशनमा उनले ‘तटस्थ’ भूमिका खेलेकाले ओलीलाई निर्वाचित हुन सहज भएको आरोप लगाउँदै आएका छन् । तर, ओलीले खनालको विकल्पमा पार्टी स्थायी समितिबाट भण्डारीको पक्षमा निर्णय गराएपछि उनी चिढिएका थिए । नेता नेपालसहित उनी पक्षधर नेताहरूले बलियो समर्थन नगर्दा राष्ट्रपति बन्ने त्यतिवेला गुमेको मौका यसपटक सदुपयोग गर्ने ‘मुड’मा खनाल देखिन्छन् ।

प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
मलाई अघिल्लोपटक नै पार्टीभित्र र अन्य पार्टीबाट पनि राष्ट्रपति बन्न प्रस्ताव आएको थियो । तर, म उम्मेदवार बन्न चाहिनँ । किनभने ०१७ देखि राजनीति गरेको गृहजिल्ला चितवनमा ०७० को निर्वाचनमा धाँधली गरेर हराइयो । त्यसैले राष्ट्रपति हुनेबित्तिकै राजनीतिबाट वञ्चित हुनुपर्ने भएकाले केही समय राजनीतिमै सक्रिय हुने जवाफ फर्काएको थिएँ । तर, यसपटक वाम गठबन्धनको प्रस्ताव आउँदा अस्वीकार गर्दिनँ । पार्टी अध्यक्ष प्रचण्डले सुरुदेखि नै प्रस्ताव राख्दै आउनुभएको छ । तर, हामीले मात्र होइन, गठबन्धनले पनि स्वीकार गर्नुपर्‍यो । समय परिपक्व भएपछि सायद अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुहुन्छ होला । इनयाँ पत्रिकाबाट

Comments

comments