फागुन ९, काठमाडौँ/नेपालमा धेरै भाषा र भेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा विश्व मातृभाषा दिवसका अवसरमा मंगलबार यहाँ आयोजना गरिएको ‘मातृभाषा विचार गोष्ठी–२०७४’ का वक्ताले प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको प्रयोगमा कमी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा धेरै मातृभाषा भए पनि क्रमशः लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि विद्यालयदेखि मातृभाषामा शिक्षा दिनुपर्ने बताए ।

“धेरै भाषा मरणासन्न अवस्थामा पुगेका छन्, यसलाई जोगाउनका लागि विद्यालयदेखि नै मातृभाषा शिक्षा दिनु जरुरी छ,” उनले भने ।भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले मातृभाषा स्थापित भयो भने राष्ट्रिय भाषा र अंग्रेजी भाषाको अस्तित्व समाप्त हुन्छ भन्ने डरले मातृभाषालाई सरकारले बेवास्ता गरेको आरोप लगाए । भाषाप्रति फैलिँदै गएको भ्रमलाई मेटाउनु अहिलेको मुख्य चुनौती भएको उनको भनाइ थियो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले मातृभाषाको विकास र विस्तारमा बंगलादेशले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको प्रशंसा गरे । भाषा आन्दोलनका क्रममा बंगलादेशको ढाका विश्वविद्यालयमा धेरैले ज्यान समेत गुमाएका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले नेपाली मातृभाषाको विकासका लागि प्रतिष्ठानले सधैं काम गरिरहेको बताए । “विभिन्न भाषाको अध्ययन र अनुसन्धानका लागि खोज गर्नुका साथै विभिन्न समयमा गोष्ठी गर्दै आइरहेका छौँ,”–उनले भने । प्रज्ञा प्रतिष्ठानले मैथली, भोजपुरी, सिञ्जाली, गुरुङ, नेपालभाषा, लिम्बूभाषालगायत मातृभाषामा शब्दकोष तथा व्याकरण प्रकाशन गरिसकेको प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले जानकारी दिए । अहिले नेपालमा आगन्तुक र नेपालमै उत्पत्ति भएका १२३ भाषा प्रचलनमा रहेका छन् ।

Comments

comments