वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानका रूपमा माक्र्सवादको अनुसन्धान भयो । अनवरत सङ्घर्ष र महान् प्रतिभाको परिचयका साथ काल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अङ्ग रहेको कुरा सर्वविदितै छ । स्वयम् एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वभाविक प्रक्रिया हो । वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्‍याउने काम भयो ।

आज यो विज्ञान सङ्घर्षकै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नयाँ र उच्च चरण माओत्सेतुङ्द्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य एकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादका रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । त्यसैले आजको विश्वको माक्र्सवाद–लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी एवं संशोधनवादीहरूले माओवाद एवं माओवादीहरूमाथि भीषण हमला गरिरहेका छन् । जसरी माक्र्सवाद–लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरूद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्ध संघर्षका क्रममा भएको हो त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम सङ्घर्षकै बीचबाट भइरहेको छ ।

हाम्रो आन्दोलनमा माओका योगदानहरूलाई आजको माक्र्सवाद–लेनिनवादका रूपमा ग्रहण गर्ने स्पिरिट हुँदाहुँदै पनि ती योगदानहरूलाई माओ विचारधारा पदावलीद्वारा अभिव्यक्त गर्ने गरिएको छ । ‘माओ विचारधारा आजको विश्वको माक्र्सवाद–लेनिनवाद हो’ भनेर सर्वहारावर्गको सार्वभौम सिद्धान्तको रूपमा माओवादका योगदानहरूलाई स्वीकार गरेर नै हामीहरू प्रतिक्रियावाद र संशोधनवादसँग लड्दै आएका हौ ।

तर, क. माओको मृत्युपश्चात् चीनमा पुँजीवादको पुनस्र्थापना भएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी भएपछि स्थितिमा परिवर्तन आएको छ । आज संशोधनवादी तेङ् मण्डलीले माओ विचारधारा शब्दको प्रयोग गरेर नै माओका क्रान्तिकारी शिक्षाहरूको आत्माको हत्या गरिरहेको छ । अहिले माओ विचारधारा पदावलीको प्रयोग एकातिर सुधारवादीहरूद्वारा एकातिर विचारधारा शब्दको वास्तविक तौल अनुसार परिकल्पनाको अर्थमा र अर्कातिर कम्युनिष्ट क्रान्तिकारीहरूद्वारा सार्वभौम सिद्धान्तको अर्थमा हुने गरेको छ ।

यो अवस्थामा सार्वभौम सिद्धान्तलाई अभिव्यक्त गर्ने तौलसहितको वैज्ञानिक शब्द ‘वाद’ हुँदाहँुदै भ्रमपूर्ण ‘विचारधारा’ शब्दको प्रयोग गरिरहनु दक्षिणपन्थी संशोधनवादका लागि ठाउँ छोड्नुबाहेक केही हुँदैन । त्यसकारण कम्युनिस्ट क्रान्तिकारीहरू जसले पहिलेदेखि नै माओ विचारधारालाई आजको माक्र्सवाद–लेनिनवादका रूपमा ग्रहण गर्दै आएका छन्, उनीहरूले सहज र दृढतापूर्वक माओवाद शब्दको प्रयोग गर्नु जरुरी छ । चीनमा प्रतिक्रान्ति भएपछि माओका योगदानहरूमाथि भइरहेको दक्षिणपन्थी हमलाका पृष्ठभूमिमा कैयौा हिजोका क्रान्तिकारीहरूद्वारा पनि आतङ्कित भएर विचारधारा शब्दको प्रयोग, माओका योगदाहरूको अवमूल्यन गर्ने, त्यसलाई माक्र्सवादको विकासको तेस्रो चरणका रूपमा र सार्वभौम सिद्धान्तका रूपमा स्वीकार नगर्ने अर्थमा गर्ने कोसिस भइरहेको छ ।

यहीँनेर समस्याको गाँठो परेको छ । यस किसिमका प्रवृत्तिले अन्तत: सुधारवाद संशोधनवादको दिशातिर नै डोर्‍याउने छ । यो स्थितिले गर्दा कम्युनिस्ट क्रान्तिकारीहरूको लागि झनै माओवादद्वारा माक्र्सवादका तीनवटै क्षेत्रमा गरिएका विकासको व्याख्या र माओवाद शब्दकै प्रयोगको सैद्धान्तिक महत्त्व बढ्न गएको छ । त्यसकारण यहाँ कमरेड माओद्वारा दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादका क्षेत्रमा गरिएका महत्त्वपूर्ण योगदानहरू जसले माक्र्सवादलाई नयाँ चरणमा पुर्‍याएका छन्, सोबारे संक्षिप्त चर्चा गर्न आवश्यक छ ।
(क) दर्शनको क्षेत्र

१) द्वन्द्वात्मक भौतिकवादको सारतत्त्वका रूपमा एवं प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्यौलको पद्धति र महत्त्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई नयाँ उचाइमा पुर्‍याएको छ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्त्वपूर्ण भूमिका स्वत: स्पष्ट छ ।

२) ज्ञानको सिद्धान्तको क्षेत्रमा क. माओले वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बताएर इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धबारे गर्नुभएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्त्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।

३) संशोधनवादका विरुद्ध वर्गसङ्घर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रूपमा ‘एक दुईमा विभाजित हुन्छ’ भन्ने सम्बन्धमा गरिएको विशुद्ध व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरूका हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।

४) आधार र उपरिसंरचनाको आपसी सम्बन्धबारे अधिभूतवादी र एकलकाँटे दृष्टिकोण अपनाई ‘उत्पादक शक्तिको विकासको सिद्धान्त’ र ‘अर्थवाद’ तिर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाइहरूमाथि प्रहार गर्दै खासखास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको व्याख्याले छद्म पुँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।

५) दर्शनलाई पुस्तकालय र दार्शनिकहरूको अध्ययनकोठाबाट निकालेर आम जनतासम्म पुर्‍याई एउटा अजेय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसको विधिबारे क. माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नतरूपले भौतिक शक्तिमा परिणत गर्ने आधार मिलेको छ ।

(ख) राजनीतिक अर्थशास्त्रको क्षेत्र

१) यो क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण क. माओको एउटा महत्त्वपूर्ण खोजी हो । सामन्तवादसँग साँठगाँठ गरी जनतालाई लुट्ने एकाधिकार पुँजीवादको प्रतिनिधिको रूपमा उत्पीडित राष्ट्रहरूमा नोकरशाही पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा अर्कातिर उत्पीडित राष्ट्रहरूमा क्रान्तिको निसाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंश गरी उनीहरूको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्त्व स्पष्ट छ ।

२) समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त (सोभियत सङ्घका  अनुभवहरूको आलोचनात्मक अध्ययनसहित) को मजबुत जग बसाउने काममा क. माओको महत्त्वपूर्ण भूमिका रहेको छ । नोकरशाही आदेशद्वारा होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमीमा वृद्धि गरेर नै समाजवादी अर्थवयवस्थालाई मजबुत किसिमले विकास गर्न सकिन्छ भनी ‘क्रान्तिलाई पकड, उत्पादन बढाऊ’(Grasp Revolution, Promote Production)तथा ‘लाल र निपुर्ण’(Red & Expert) को क्रान्तिकारी महत्त्व स्पष्ट नै छ ।

३) नयाँ जनवादी क्रान्तिका सन्दर्भमा ‘जमिन जोत्नेको’ आधारमा सामन्तहरूलाई ध्वंस गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवं घरेलु आर्थिक निगमहरूलाई कब्जा गर्ने, जनजीवनलाई नियन्त्रण नगर्ने गरी व्यक्तिगत पुँजीलाई सीमित, नियन्त्रित र निर्देशित गर्ने, अर्थनीतिहरूको वैज्ञानिकता स्वयम् जीवनद्वारा प्रमाणित भैसकेका छन् ।
उपर्युक्त तथ्यहरूले माक्र्सवादी राजनिितक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।

(ग) वैज्ञानिक समाजवादको क्षेत्र

१) उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ ।

२) साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवका आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्च शिखरमा जनयुद्धको सिद्धान्तको विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यो सिद्धान्तअनुसार शक्तिशाली दुसमनलार्य परास्त गर्ने वैज्ञानिक विधि स्पष्ट भएको छ । ‘राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ’ भन्ने माओको केन्द्रीकृत भनाइको महत्त्व पनि स्वयम् स्पष्ट छ ।

३) समाजवादी कालभरि वर्गसङ्घर्ष जारी रहने र त्यस सम्बन्धमा सोभियत सङ्घको प्रतिक्रान्तिमाथि ध्यान दिँदै क. माओद्वारा विकास गरिएको सर्वहारावर्गको अधिनायकत्त्वअन्तर्गत क्रान्तिलाई जारी राख्ने सिद्धान्त समाजवादी अवस्थामा पुँजीवादको पुनस्र्थापना रोक्ने एउटा मजबुत सैद्धान्तिक हतियार भएको छ । सर्वहारावर्गको नेतृत्वमा चलाइएको तेस्रो महान् क्रान्तिका रूपमा चीनको महान् सर्वहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहारावर्गका लागि ऐतिहासिक दिशानिर्देश बनेको छ ।

४) ‘साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन्’ तथा ‘आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गका हेरफेरबाट गुज्रनेछ’ भन्ने भनाइहरूको असाधारण महत्त्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्‍याएको छ । रुसी संशोधनवाद र अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा माओ आफैंले तिनीहरूको प्रयोग गर्नुभएको छ ।
यरी दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रको समग्रतामा क. माओले माक्र्सवादी विज्ञानलाई गुणात्मकरूपले त्यसको नयाँ चरणमा विकास गराउनुभएको छ । त्यो अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवाद–लेनिनवाद–माओवादको एउटा सिङ्गो हतियारको रूपमा प्राप्त गरेकोृ छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा माओवाद पदावलीको प्रयोगको विरोधमा माओका येगदानहरूको अवमूल्यन गर्ने कोणबाट पनि तर्कहरू आइरहेका छन् जसको खण्डन नगरी अगाडि बढ्न सम्भव छैन, मुख्यत: ती निम्न छन् :

१) युगको सिद्धान्त
कतिपय मानिसहरू ‘वाद’ हुनका लागि एउटा सिङ्गो युगको प्रतिनिधित्व गरेको हुनुपर्छ भन्दछन् । उनीहरूका भनाइअनुसार माक्र्सवाद पुँजीवादी युगको उपज हो । लेनिनवाद साम्राज्यवादी युगको उपज हो, तर माओको त कुनै नयाँ युग छैन, त्यसकारण माओवाद हुनसक्तैन आदि ।
यस प्रकारका तर्क गर्नेहरूले न सामान्य विज्ञानको नियम र विकास प्रक्रियालाई बुझ्नसकेका छन् न माक्र्सवादलाई नै विज्ञानका रूपमा ग्रहण गरेका छन् । विज्ञानको विकासलाई युगको विकासको गतिसँग कैद गर्न खोज्नु सर्वथा अवैज्ञानिक र हास्यास्पद कुरा हो । एउटै युगमा विज्ञानले कैयौं चरणमा विकास गर्न सक्दछ । यदि युकै कुरा गर्ने नै हो भने समाज विकासको दृष्टिले साम्राज्यवाद पनि कुनै नयाँ युग नभएर पुँजीवादकै उच्चतम् र मरणासन्न अवस्था मात्र हो । त्यसकारण लेनिनवाद पनि भन्न भएन । यसरी युगको तर्क तेस्र्याउनेहरूको दिवालियापन स्पष्ट छ ।

२) कतिपय मानिसहरूले माओका खास कुनै मौलिक खोजहरू छैनन् । त्यसकारण माओवाद शब्दको प्रयोग गर्न हुँदैन भन्छन् । उनीहरूक अनुसार माओले भनेका सबै कुराहरू लेनिले पहिले नै भनिसक्नुभएको थियो । विचारधारा शब्दको प्रयोगलाई समर्थन गर्नेहरूले नै यस प्रकारको तर्क गर्नुले झन् स्थिति गम्भीर बन्छ ।

यस प्रकारका तर्क गर्नेहरूले माओ विचारधारालाई पनि परित्याग गर्ने र दक्षिणपन्थी अवसरवादतिर जाने दिशा पक्रेको कुरामा शंका छैन । माओका योगदानहरूबारे माथि नै संक्षिप्त चर्चा भइसकेको छ । तर, यहाँ प्रश्न उठ्छ यदि त्यसरी नै तर्क गर्ने हो भने त लेनिनले पनि नयाँ सन्दर्भमा माक्र्सवादको व्याख्या मात्र गरेका हुन् किन नभन्ने ? यस किसिमको तर्क गर्नेहरूले फेरि किन माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तका रूमा स्वीकार गरेका छन् ? सोझै लाग्दछ– जनतालाई भ्रम दिन मात्र । यदि त्यसो नभए या त माओ विचारधारा शब्दलाई पार्टीले पथप्रदर्शक सिद्धान्तका रूपमा अस्वीकर गर्नुपर्ने हुन्छ या माओका योगदानहरूको अवमूल्यन गर्ने काम बन्द गर्नुपर्दछ ।

३) कतिपय मानिसहरूले हतारिएर माओवाद भन्नु हुँदैन, यति ठूलो विषयमा हामीले बोलेर कसैले सुन्दैन र त्यो शब्द स्थापित पनि हुनसक्दैन, फेरि यसले अनावश्यक विवाद मात्र चर्कन्छ भन्ने जस्ता तर्कहरू पनि गरेको पाइन्छ । यस ढङ्गले तर्क गर्ने कयौंको नियतमा इमान्दारी भए पनि स्वयम् यी तर्कहरू माक्र्सवादी पद्धति अनुकूल छैनन् ।

यहाँ प्रश्न सही र गलतको हो, हतारिने र नहतारिने होइन । त्यसप्रकारका तर्कले अन्तत: अनावश्यक सम्झौतातिर डोर्‍याउने तथा भ्रमलाई कायम राख्ने काम मात्र गर्ने भएकोले गलत छन् । अन्तमा, संशोधनवादका विरुद्धको सङ्घर्षलाई उच्च स्तरमा सञ्चालन गर्ने नयाँ ढङ्गको लडाकु, कम्युनिष्ट पार्टीको विकासको प्रक्रियालाईतेज पार्न, क्रान्तिकारी सङ्घर्ष र जनयुद्धको विकासको कामलाई नयाँ गति प्रदान गर्न भ्रमपूर्ण माओ विचारधारा शब्द होइन स्पष्ट वैज्ञानिक शब्द माओवादको प्रयोग नितान्त जरुरी छ ।
 

(ने.क.पा.(एकता केन्द्र) को राष्ट्रिय एकता माहाधिवेशन २०४९ (१९९१) मा पारित ।)

Comments

comments

SHARE