काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ । माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा शरद उपनामले चिनिन उनको वास्तविक नाम युवराज दुलाल हो । अहिले उनलाई युवराजभन्दा पनि शरद उपनामले बढी चिनिन्छन् । पिता गुरुप्रसाद र माता झम्कमायाँको कोखबाट जन्मिएका शरद जेठो छोरा हुन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका शरदका पिता खेती किसानी हुन् ।

गाउँकै सिद्धिगणेश उमाविबाट तत्कालिन एसएलसी (हाल एससीई) २०५५ सालमा प्रथम श्रेणीमा उर्तिण गरेका उनले एम.ए. (मास्टर्स डिग्री) सम्मको औपचारिक अध्ययन गरेका छन् । उच्च शिक्षाको लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भएपनि २०५६ सालदेखि जनयुद्धमा होमिएकाले अपुरो रहेको अध्ययन शान्तिप्रक्रियामा सुचारु गरे । उनले आर.आर. क्याम्पसबाट ब्याचलर गरी २०७३ सालमा उनले पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्र विषयमा एम.ए. गरेका हुन् । उनले २०६९ सालमा विश्वकै सर्वोच्च सगरमाथाको सफल आरोहण पनि गरे । उनी मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभा–२ अन्तर्गत प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद हुन् । अहिले उनी समाजिक विकास मन्त्रीमा नियुक्ति भएका छन् ।

जब क्रान्तिको कसम खाए
कलिलै उमेरमा क्रान्ति र परिवर्तनको मिठो सपना बोकेर क्रान्तिको भेलमा होमिएको शरदका संघर्षका दिनहरु कहालिलाग्दा छन् । माओवादीले २०५२ सालबाट जनयुद्ध शुरु गर्दा शरद कलिलै थिए, उमेरले १२ बर्ष । कलिलै उमेरमा पनि उनी राजनीतिमा सक्रिय थिए र २०५५ सालमा शरद अखिल क्रान्तिकारी सिन्धुपाल्चोको क्षेत्रीय अध्यक्ष भए । ठिक एक बर्षपछि २०५६ मा जिल्ला उपाध्यक्ष भएका थिए, त्यतिबेला जिल्ला अध्यक्ष माधब सापकोटा ‘सुबोध’ थिए । उपाध्यक्ष भएलगत्तै राज्यबाट निगरानी बढ्न थालेपछि २०५६ मा शरद भूमिगत भए, पूर्णकालिन कार्यकर्ता नै बने । त्यतिबेला सरदले स्कुले जीवन सकाइसकेका थिए, उनी अखिल क्रान्तिकारी दोलखा जिल्लाको कार्यबाहक अध्यक्ष पनि भए ।

पनौतीमा ‘रौं रौं’ले बाँचे
‘मैले पहिलो पटक २०५८ मंसिरमा पहिलो पटक सोलुखुम्बुको सल्लेरीको युद्धमा सहभागी भएँ’ शरदले खबरडबलीसँग भने ‘पहिलो पटक भएर पनि म डराइन, हौसला नै बढिरहेको थियो ।’ ‘काभ्रेको पनौती आक्रमणमा ढाडबाट छेडेको गोली पेटमा निस्किएको थियो’ शरदले भने धन्न बाँचे ।’ रुम्झटारमा उनको ढाडमा गोली लाग्यो, बन्दीपुर मोर्चामा घुँडामा र झुरझुरेमा छातीमा गोली लागेको उनले बताए । सोलुको सल्लेरी, संखुवासभाको चैनपुर, ओखलढुंगाको रुम्झटार, बन्दीपुर सैनिक ब्यारेक, सिराहको लाहान, थानकोट, पनौती, चरिकोट, मुँडेलगायत थुप्रै लडाइँमा सहभागी भए । उनको नेतृत्वमा जनमुक्ति सेनाको तत्कालीन वासुस्मृति ब्रिगेडको ११ औं बटालियनको स्पेसल ट्राक्स फोर्सले राजधानीको थानकोट प्रहरी चौकीमा आक्रमण गरी २४ थान हतियार कब्जा गरेको थियो । कयौं युद्ध मोर्चाहरुमा मृत्युको मुखबाट बचेका शरद उनका शरिरमा अझै पनि बम र गोली छर्राहरु प्रशस्तै छन् । माओवादीको वाइसीएल नेपालको केन्द्रीय सदस्य, ताम्सालिङ राज्य इन्चार्ज, केन्द्रीय उपाध्यक्ष, माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत भएका थिए ।

पार्टीको सैन्य फर्मेसनमा स्क्वायड कमाण्डर हुँदै प्लाटुन सहकमाण्डर, कम्पनी कमाण्डर, बटालियन सहकमाण्डर, कमाण्डर हुँदै जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर बने । उनले २०६३ देखि २०६८ सालसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत केन्द्रीय नेताहरुको सुरक्षा टिमको मुख्य कमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।

नआत्तिने तर समय पर्खने नेता
शरद कहिल्यै आत्तिदैनन् । बरु समय पर्खेरै बस्छन् । स्थानीय तहको चुनावमा शरदले चौतारा नगरपालिकाको मेयरको टीकट पाइसकेका थिए । तर शरदले पाइसकेको टीकट छाडेर अर्का नेता अमानसिंह तामाङलाई सुम्पिदिए । त्यतिबेला उनले हातमा परेको पार्टीलाई एकढिक्का बनाउनको लागि टीकट छाडेको चर्चा चलेको थियो । उनले त्यसपछि त्यागी नेताको उपमा पाएका थिए । पार्टीलाई एक ढिक्का बनाउनका लागि उनले जस्तो त्याग र तपस्या गर्ने गरेको सिन्धुपाल्चोक माओवादीमा चर्चा नै चलेको थियो । त्यति हुँदा पनि उनले स्थानीय तहको चुनाव राम्रै सहयोग गरेका थिए । उनी माओवादीका उम्मेद्वारसँगै भोट माग्न हिडेका थिए ।

सामाजिक विकास मन्त्रीमा नियुक्ति भएलगत्तै शरदले खबरडबलीसँग कुरा गर्दै भने ‘मलाई जनताले जिताएर यहाँसम्म पु¥याएका छन्, जनताको हितको लागि काम गर्छु ।’ जनताको हित बिपरित एक इन्च पनि दायाँ बायाँ गर्दिन् । उक्त मन्त्रालय अन्तर्गत शिक्षा, स्वास्थ्य, सरसफाई, महिला, युवा तथा खेलकुद , सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार पर्छन् ।

Comments

comments

SHARE