१७ फागुन काठमाडौँ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषयमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले बिहिबार पनि छलफललाई निरन्तरता दिएका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवसहित एमाले र माओवादी नेताहरुको बैठक यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा जारी रहेको छ ।

बुधबार साँझ तीन पार्टीबीच भएको छलफल बिना निश्कर्ष टुंगिएको थियो । नेताहरुले छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै बिहिबार बिहान पुनः छलफल गर्ने बताएका थिए । बिहान ९ बजेदेखि जारी बैठकमा एमालेबाट माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरु सहभागी रहेका छन् ।

स्रोतका अनुसार अन्य विषयमा तीन पार्टीहरु सहमति नजिक पुगे पनि धारा २७४ को संशोधनको विषयमा सहमति हुन सकिरहेको छैन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमांकन हेरफेरको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग गरेका छन् ।  तर, नेकपा एमालेले भने सबै प्रदेशको बहुमतको आधारमा मात्र सीमांकन हेरफेर हुनुपर्ने अडान राखेको छ ।

Comments

comments