चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ ।

होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ । यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो । उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन् ।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन् । तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन् । बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए ।

दुबईको सरकारी सञ्चार कार्यालयले श्रीदेवीको शवपरीक्षणको विश्लेषण सम्पन्न भएको र मृत्युको कारण निर्क्योल भएको जनाएको छ । अधिकारीहरूका अनुसार उनको मृत्युको केस नियमित कानुनी प्रक्रिया अगाडि बढाउन दुबईको सार्वजनिक अभियोक्तालाई हस्तान्तरण गरिएको छ ।

मृत्युको कारण उल्लेख भएको शवपरीक्षणको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ । ‘गल्फ न्यूज’ का अनुसार श्रीदेवीको शव स्वदेश फर्काउन केही समय लाग्न सक्छ ।

यसअघि उनको शव सोमवार भारत लगिने अपेक्षा गरिएको थियो । अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जलि दिन मुम्बईस्थित उनको घरबाहिर ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका छन् ।

दुबई सरकारको ट्विटमा विषसँग सम्बन्धित परीक्षणका बारे केही उल्लेख गरिएको छैन । शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।

तर यसले हृदयाघातबारे आएको प्रारम्भिक विवरण र विधिविज्ञान विवरणमा देखिएको ‘दुर्घटनावश भएको डुबाइ’ को के सम्बन्ध हुनसक्छ त्यो स्पष्ट पार्ने अपेक्षा गरिएको छ । एजेन्सी

Comments

comments