-जोसेफ स्टालिन 

 

किसानको प्रश्नः

म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग । अरूले “गाउँतिर फर्क” भन्ने नारालाई हामीले सहरहरूतिर आफ्नो पिठ्युँ फर्काउनु पर्छ भन्ने अर्थमा सम्पे्रषण गर्न थाल्नुभएको छ । केहीले त अझ अगाडि बढेर राजनीतिक नेप (नयाँ आर्थिक नीति) सम्म पुग्ने कुरा गरिरहनु भएको छ । यो साँच्चिकै बकवास हो । साँच्चिकै यी सबैले हामी अतिवादतिर जाँदै गरेको अर्थ लाग्छ ।

परन्तु, यदि हामीले ती अतिवादहरूलाई एकातिर पन्छाइदिन्छौँ भने एउटा कुरा बाँकी रहन्छ; वर्तमान समयमा र विशेष गरेर अहिलेको क्षणमा, त्यो नामै किटान गरेर– किसानहरूको प्रश्न–ले असाधारण महत्त्व प्राप्त गर्दछ ।

किन ? कारण के हो ?

त्यसका दुई वटा कारणहरू छन् । मैले आधारभूत कारणहरूका बारेमा भनिरहेको छु ।

किसानको विषयले वर्तमान क्षणमा हाम्रो लागि असाधारण महत्त्व प्राप्त गर्नुको पहिलो कारण के हो भने यो सोभियत सत्ताका मित्रशक्तिमध्ये, सर्वहाराका सबै प्रमुख मित्रशक्तिमध्ये, जुन मेरा विचारमा चार वटा छन्, किसान नै एकमात्र यस्तो मित्रशक्ति हो जसले यो विशिष्ट क्षणमा हाम्रो क्रान्तिलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सक्छ । यो अहिले तत्कालका लागि प्रत्यक्ष सहयोगको प्रश्न हो । यस विशेष घडीमा । जबकि अरू सबै मित्रशक्तिहरू भविष्यका लागि महान् महत्त्वका हुनेछन् र तिनीहरू हाम्रो क्रान्तिका लागि विशाल जगेडा शक्तिका रूपमा रहनेछन्, परन्तु दुर्भाग्यवश तिनले हाम्रो व्यवस्थालाई, हाम्रो सरकारलाई यतिखेरै प्रत्यक्ष सहयोग पु¥याउन सक्दैनन् ।

ती मित्रशक्तिहरू को हुन् त ?

पहिलो मित्रशक्ति – हाम्रो प्रमुख मित्रशक्ति – भनेको विकसित देशहरूको सर्वहारा वर्ग हो । विकसित सर्वहारा – पश्चिमा सर्वहारा – एउटा विशाल शक्ति हो र यो हाम्रो क्रान्ति एवम् हाम्रो शासनको सबैभन्दा भरपर्दो र सबैभन्दा महत्त्वपूर्ण मित्रशक्ति हो । तर दुर्भाग्यवश, विकसित पुँजीवादी देशहरूको क्रान्तिकारी आन्दोलनको अवस्था र परिस्थिति यस्तो छ कि पश्चिमा सर्वहारा वर्गले यति नै बेला हामीलाई प्रत्यक्ष र निर्णायक सहयोग गर्न सक्दैन । हामीलाई यसको परोक्ष तथा नैतिक समर्थन छ र यो यति महत्त्वपूर्ण छ कि यसको मूल्य नाप्नै सकिँदैन, यो अतुलनीय छ । परन्तु यसबाट त्यो प्रत्यक्ष र तात्कालिक सहयोग प्राप्त गर्न सकिँदैन, जुन हामीलाई अहिले आवश्यक छ ।

दोस्रो मित्रशक्ति भनेका उपनिवेशहरू हुन् – अल्पविकसित देशहरूका उत्पीडित जनसमुदाय – जो विकसित देशहरूको उत्पीडनमा परेका छन् । कमरेडहरू, तिनीहरूमा हाम्रो क्रान्तिका निम्ति विशाल शक्ति सञ्चित छ । तर उनीहरूले फड्को मार्न सारै धेरै ढिलो गरिरहेका छन् । उनीहरू हाम्रो सहयोगका लागि प्रत्यक्ष रूपमै आउँदै छन्, तर के सिद्ध भइसकेको छ भने तिनीहरू छिट्टै आइपुग्ने छैनन् । यही कारणले तिनीहरूले हाम्रो समाजवाद निर्माण गर्ने, सोभियत सत्तालाई बलियो बनाउने र हाम्रो समाजवादी अर्थतन्त्र निर्माण गर्ने कार्यमा प्रत्यक्ष रूपमा र तत्काल मद्दत गर्न अक्षम छन् ।

हामीसँग एउटा तेस्रो सहयोगी शक्ति छ, जुन अमूर्त र अमूक छ तर ती सबैका बाबजुद पनि एउटा अति नै महत्त्वपूर्ण छ – नामै लिनु पर्दा – त्यो हो पुँजीवादी देशहरूका बिचका युद्धहरू र अन्तर्विरोधहरू । तिनीहरूलाई मूर्त रूप दिन सकिँदैन, तर तिनीहरूले निश्चित रूपमा हाम्रो सत्ता र हाम्रो क्रान्तिलाई महान् सहयोग प्रदान गर्छन् । त्यो अनौठो लाग्न सक्छ, कमरेडहरू, तर यो तथ्य हो । के सन् १९१७ को साम्राज्यवादी युद्धका क्रममा पुँजीवादी देशहरूका दुई प्रमुख मोर्चाहरू घातक युद्धमा सरिक भएका थिएनन् ? के तिनीहरूले एक–अर्काको कठालो समातिरहेका थिएनन् ? के तिनीहरू आफ्नै धन्दामा व्यस्त भएर सोभियत शक्तिका विरुद्ध युद्ध सञ्चालन गर्न फुर्सद नपाएका होइनन् ? नत्र सोभियत शक्ति बँच्थ्यो भन्नेमा शङ्का थियो । म फेरि पनि दोहोराउँछु कि हाम्रा शत्रुहरूका बिचको सङ्घर्ष, द्वन्द्व र युद्धहरू हाम्रा अति महत्त्वपूर्ण सहयोगी हुन्छन् । तर यो सहयोगी शक्तिको स्थिति कस्तो छ त ? स्थिति यस्तो छ कि युद्ध पश्चात्को विश्व पुँजी, कयौँ सङ्कटहरू पार गरेर, पूर्वावस्थातिर फर्कन लागेको छ । त्यो कुरा स्वीकार गर्नुपर्छ । प्रमुख विजेता देशहरू – बेलायत र अमेरिका – ले अहिले यति शक्ति हासिल गरेका छन् कि तिनले केवल आफ्नो देशको पुँजीगत स्थितिलाई धेरै–थोरै सहज अवस्था कायम गर्ने भौतिक सम्भाव्यता मात्रै राख्दैनन्, बरु फ्रान्स, जर्मनी र अरू पुँजीवादी देशहरूमा समेत नयाँ रक्तसञ्चार गर्न सक्छन् । त्यो विषयवस्तुको एउटा पक्ष हो । त्यो विषयको एउटा पक्षको परिणामस्वरूप, पुँजीवादी देशहरूका बिचमा अन्तर्विरोधहरू यस समयमा त्यही सघनताका साथ विकसित भइरहेका छैनन्, जसरी ती युद्ध पश्चात्को तत्कालीन अवस्थामा थिए । यो पुँजीका निम्ति एउटा उपलब्धि हो र हाम्रो निम्ति एउटा क्षति हो । तर यो प्रक्रियाको अर्को पक्ष पनि छ, ठिक उल्टो पक्ष । त्यो उल्टो पक्ष के हो भने यो समयमा पुँजीले सिर्जना गर्न सफल भएको सापेक्ष स्थायित्वका बाबजुद पनि, अर्को कोणका अन्तर्सम्बन्धका अन्तर्विरोधहरू, शोषक विकसित देशहरू र शोषित अल्पविकसित देशहरू, उपनिवेशहरू र पराधीन देशहरू बिचका अन्तर्विरोधहरू, अझ बढी गहिरा र तीखा भएका छन् र तिनले पुँजीका ‘कारबाहीहरू’लाई नयाँ र ‘अप्रत्यासित’ कोणहरूबाट बिथाल्ने चुनौती दिइरहेका छन् । इजिप्ट र सुडानको सङ्कटले, जसका बारेमा सायद तपाईंहरूले अखबारमा पढ्नु भएको छ; चीनमा समेत देखिएका अन्तर्विरोधका केही मुख्य बुँदाहरू, जसले वर्तमान ‘मित्र शक्तिहरू’लाई असमञ्जस्यमा पु¥याउँछ र पुँजीको बललाई चकनाचुर पार्छ । उत्तरी अफ्रिकामा देखिएका अन्तर्विरोधका नयाँ शृङ्खलाहरूका मूल विन्दुहरूले, जहाँ स्पेनले मोरक्को गुमाउँदै छ भने फ्रान्सले आफ्ना हातहरू त्यतैतिर लम्काउँदै छ, तर उसले त्यसलाई हत्याउन सक्ने छैन किनभने बेलायतले फ्रान्सलाई जिब्रालटारमा नियन्त्रण कायम गर्न दिने छैन – यी सबै तथ्यहरू हुन् जसले धेरै तरिकाले युद्धपूर्वको अवस्थाको झल्को दिन्छन् र अन्तर्राष्ट्रिय पुँजीको ‘रचनात्मक कार्य’मा सङ्कट पैदा गर्नेछन् ।

समग्र अन्तर्विरोधहरूको विकासको बहीखातामा नाफा र घाटाहरू यस्ता छन् । तर पनि यतिबेला यो गोलाद्र्धमा पुँजीका उपलब्धिहरू यसका क्षतिभन्दा ठुला छन् र भविष्यमा तत्कालै पुँजीपतिहरूका बिचमा सैन्य युद्ध विष्फोट हुने कुराको आशा गर्न सकिने आधारहरू छैनन् । यसले सिद्ध हुन्छ कि हाम्रो तेस्रो मित्रशक्तिका सन्दर्भमा पनि स्थिति त्यस्तो छैन, जस्तो होस् भन्ने हामी चाहन्छौँ ।

अब चौथो मित्रशक्ति बाँकी रहन्छ – किसान । यो हाम्रो पक्षमा छ । हामी सँगसँगै जीवन बिताइरहेका छौँ । हामीले सँगसँगै नयाँ जीवन निर्माण गरिरहेका छौँ । राम्रो होस् वा नराम्रो; हामीले सँगसँगै निर्माण गरिरहेका छौँ । जस्तो कि तपाईंहरू आफैँ सचेत हुनुहुन्छ, यो मित्रशक्ति धेरै स्थीर हुँदैन । किसान मित्रशक्तिका रूपमा विकसित पुँजीवादी देशको सर्वहारा जत्तिको भरपर्दो हुँदैन । तर जेसुकै भए पनि यो एउटा मित्रशक्ति हो र हाम्रा सबै अस्तित्वमा रहेका मित्रशक्तिमध्ये यो मात्रै एउटा यस्तो मित्रशक्ति हो जसले यो समयमा प्रत्यक्ष मद्दत गर्न सक्छ, मद्दत गरिरहेको छ र त्यसको सट्टामा हाम्रो पनि मद्दत प्राप्त गरिरहेको छ ।

त्यही कारणले, विशेषतः यो क्षणमा, जतिबेला क्रान्तिकारी र अन्य सङ्कटहरूको विकासको गति केही मात्रामा धिमा भएको छ, किसानको प्रश्नले असाधारण महत्त्व हासिल गर्दछ ।

किसानको प्रश्नले असाधारण महत्त्व प्राप्त गर्नुको पहिलो कारण यस्तो छ ।

हामीले यतिबेला किसानको प्रश्नलाई हाम्रो नीतिको आधारशीला बनाउनुको दोस्रो कारण के हो भने हाम्रो उद्योग, जुन समाजवादको आधार हो र हाम्रो सत्ताको आधार हो, त्यो आन्तरिक बजार – किसान बजार–मा आधारित छ ।

मलाई थाहा छैन त्यतिबेलाको स्थिति के होला, जतिबेला हाम्रो उद्योग पूर्ण रूपले विकसित हुनेछ, जतिबेला हामीले आन्तरिक बजारसँग काम गर्न सक्षम हुनेछौँ र बाह्य बजारहरू हासिल गर्ने प्रश्नको सामना गरिरहेका हुनेछौँ । हामीले भविष्यमा त्यो प्रश्नको सामना गर्नेछौँ, त्यस बारेमा तपाईंहरूले कुनै शङ्का नगरे हुन्छ । हामीले आफूभन्दा अनुभवी पुँजीबाट पश्चिमा बाह्य बजारहरू कहिले कब्जा गर्न सफल हुनेछौँ भन्ने कुरा शङ्कास्पद छ । तर पूर्वका बजारहरूको सन्दर्भमा भने –जोसँग हाम्रा सम्बन्धहरू ठिकठाक छन् र ती अझै राम्ररी विकसित हुनेछन् – यहाँ हामीले धेरै अनुकूल अवस्था पाउने छौँ । हामीले पुँजीपतिहरूसँग प्रतिस्पर्धा गरेर पूर्वको बजारमा आपूर्ति गर्ने मुख्य वस्तुहरूमा टेक्सटाइलका सामानहरू, रक्षा सामग्रीहरू, यन्त्रहरू र अन्य यस्तै चीजहरू हुनेछन् भन्ने कुरामा कुनै शङ्का छैन । तर त्यो हाम्रो उद्योगको सन्दर्भमा भविष्यको कुरो हो ।

वर्तमानका लागि, जतिबेला हामीले आफ्नो किसान बजारको एक तिहाई पनि पूर्ण रूपमा उपयोग गरेका छैनौँ, यो समयमा हामीले सामना गर्नुपर्ने मूल प्रश्न भनेको आन्तरिक बजारको हो, त्यसमा पनि सबैभन्दा पहिले किसान बजारको । तथ्य के हो भने यतिबेला किसान बजार हाम्रो उद्योगका निम्ति मुख्य आधार हो । यही कारणले हामीले – सरकारका रूपमा र सर्वहाराका रूपमा – किसान अर्थतन्त्रको अवस्थालाई यथासम्भब सुधार गर्न, किसानहरूको भौतिक अवस्था सुधार गर्न, किसानहरूको क्रयशक्ति वृद्धि गर्न, सर्वहारा तथा किसानहरूका बिचको सम्बन्ध सुधार गर्न र लेनिनले भनेको त्यो एकता स्थापित गर्न इच्छुक छौँ, जुन अहिलेसम्म पनि ठिक ढङ्गले स्थापित भएको छैन ।

त्यो दोस्रो कारण हो जसले गर्दा हामीले – पार्टीका रूपमा – यो घडीमा किसानको प्रश्नलाई सबैभन्दा अग्र मोर्चामा राख्नुपर्छ र हामीले किसानहरूलाई विशेष ध्यान दिने र विशेष हेरचाह गर्ने कार्यमा समर्पित हुनुपर्छ ।

किसानको सन्दर्भमा हाम्रो पार्टी नीतिका व्यवस्थाहरू यस्ता छन् ।

कमरेडहरू, सिङ्गो समस्या के हो भने यो प्रश्न कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा हाम्रा धेरै कमरेडहरूले बुझ्दैनन् वा बुझ्न चाहँदैनन् ।

प्रायजसो भन्ने गरिन्छः मस्कोमा हाम्रा नेताहरूले किसानहरूका बारेमा बोल्नुलाई एउटा फेसन बनाएका छन्, सायद तिनले यसलाई गम्भीरतापूर्वक भनेका हैनन्, यो कुटनीतिक कुरा हो । मस्कोले बाहिरी विश्वका निम्ति यस्ता भाषणहरू गर्न आवश्यक छ, तर हामीले पुरानै नीतिलाई निरन्तरता दिन सक्छौँ । केहीले यस्तो कुरा गर्छन् । अरूले भन्छन् कि किसानको कुरा जुन छ, त्यो कुरै मात्र हो । यदि मस्कोका मानिसहरू कार्यालयमा टाँसिएर नबस्ने हो, बरु ग्रामीण क्षेत्रको भ्रमण गर्न जाने हो भने तिनीहरूले देख्ने थिए कि किसान के हो र तिनीहरूबाट कसरी कर असुल गरिन्छ । त्यस्ता किसिमका कुराहरू सुनिन्छन् । मलाई लाग्छ, कमरेडहरू, हामीले सामना गर्नुपर्ने सबै खतरामध्ये हाम्रा स्थानीय जिम्मेवार श्रमिकहरूले यो हाम्रो अगाडिको कार्यभारलाई बुझ्न असफल हुनु सबैभन्दा गम्भीर खतरा हो ।

एउटा हुन्छ वा अर्को हुन्छः

या त स्थानीय कमरेडहरूले किसानको समस्या कति धेरै गम्भीर छ भन्ने कुरा अनुभूति गर्नेछन्, जुन अवस्थामा उनीहरूले किसान अर्थतन्त्रलाई सुधार गरेर र एकतालाई बलियो बनाएर किसानहरूलाई रचनात्मक काममा ल्याउन सुरु गर्नेछन् । अथवा कमरेडहरूले यसलाई अनुभूति गर्न असफल हुनेछन् र यो अवस्थामा कुरा सोभियत सत्ताको विघटनमा टुङ्गिने छ ।

कमरेडहरूले यो नसोचून् कि मैले कसैलाई तर्साउने कोसिस गरिरहेको छु । त्यसो होइन कमरेडहरू । यहाँ कसैलाई तर्साउने कोसिस गर्नुको कुनै अर्थ छैन । यो प्रश्न सारै गम्भीर छ र यसलाई गम्भीर जनसमुदायलाई उपयुक्त हुने गरी सम्बोधन गरिनु पर्छ ।

मस्कोमा आउँदा, कमरेडहरूले आफू बसेको गाउँमा सबै कुरा ठिक छ भन्दै प्रायः “पोशाकको दायाँतिर” देखाउने कोसिस गर्नुहुन्छ । नोकरशाही आशावाद कहिलेकाहीँ दिक्दार लाग्दो हुन्छ । के प्रस्टै छ भने सबै कुरा ठिक छैन र न त कहिल्यै हुन सक्छ । स्वाभाविक रूपले त्यहाँ गल्तीहरू छन्, जसलाई आलोचनादेखि नडराईकन भण्डाफोर गर्नुपर्छ र त्यसपछि हटाइनु पर्छ । त्यो विषय निम्नानुसार छः या त हामी – सिङ्गो पार्टी – ले गैरपार्टी किसानहरू र मजदुरहरूलाई आलोचना गर्न अनुमति दिनेछौँ अथवा हामी विद्रोहहरूको माध्यमबाट आलोचित हुनेछौँ । जर्जियाको विद्रोह आलोचना थियो । ताम्बोभको विद्रोह पनि आलोचना नै थियो । के त्यो क्रोन्स्ताड्टको विद्रोह आलोचना थिएन ? एउटा कुरा वा अर्को कुराः या त हामीले विषयवस्तुमाथिको यो नोकरशाही आशावाद र नोकरशाही दृष्टिकोण परित्याग गरौँ, आलोचनाबाट नडराऔँ र हामी आफैँलाई गैरपार्टी मजदुरहरू र किसानहरूबाट आलोचित हुन दिऔँ, जो अन्ततोगत्वा हाम्रा गल्तीका प्रभावहरूलाई अनुभव गर्ने जनसमुदाय हुन् । अथवा, हामीले त्यसो नगरौँ र असन्तुष्टिहरू थुप्रिँदै र बढ्दै जानेछन् । अनि, हामी विद्रोहहरूका रूपमा आलोचित हुनेछौँ ।

सबैभन्दा ठुलो खतरा के हो भने हाम्रा धेरै कमरेडहरू वर्तमान समयको यो ठोस विशेषता बुझ्न असफल भएका छन् ।

के यो प्रश्न – किसानको प्रश्न – को ट्राटस्कीवादको प्रश्नसँग कुनै सम्बन्ध छ, जुन तपाईंहरूले यहाँ छलफल गर्नुभएको छ ? निशङ्कोच रूपमा, यसको (सम्बन्ध) छ ।

लियाेन ट्राटस्कीकाे फाेटाे
लियाेन ट्राटस्की

ट्राटस्कीवाद के हो ?

ट्राटस्कीवाद हाम्रो क्रान्तिका शक्तिहरूमाथिको अविश्वास हो, मजदुर र किसानका बिचको संयुक्त मोर्चामा अविश्वास हो, एकताप्रतिको अविश्वास हो । वर्तमान समयमा हाम्रो मुख्य कार्यभार के हो ? इल्यिच (लेनिन) का शव्दमा, नेप रुसलाई (नयाँ आर्थिक नीति लागू गरिएको रुस) लाई समाजवादी रुसमा बदल्नु हो । यदि त्यो एकता स्थापित गर्न सकिएन भने के यो कार्यभार पुरा गर्न सकिन्छ त ? होइन, सकिँदैन । के त्यो एकता – मजदुर र किसानहरूको संयुक्त मोर्चा– स्थापित गर्न सकिन्छ, यदि त्यो मोर्चामाथि अविश्वास गर्ने ट्राटस्कीवाद जस्तो सिद्धान्तलाई ध्वस्त गरिएन भने ? हुँदैन, त्यसो गर्न सकिँदैन । निष्कर्ष प्रस्ट छः जसले नेपबाट विजयीका रूपमा खडा हुन चाहन्छ, उसले वैचारिक प्रवृत्तिका रूपमा ट्राटस्कीवादलाई माटोमुनि पुरिदिनु पर्छ ।

अक्टोबरको क्रान्तिभन्दा पहिले इल्यिचले प्रायजसोः भनिरहनु हुन्थ्यो कि हाम्रा वैचारिक प्रतिपक्षमध्ये मेन्सेविकहरू सबैभन्दा खतरनाक छन्, किनभने तिनीहरूले अक्टोबर क्रान्तिको विजयप्रति अविश्वास फैलाउन कोसिस गरेका थिए । त्यसैले उहाँले भन्नुहुन्थ्यो कि मेन्सेविकहरूलाई ध्वस्त नगरेसम्म अक्टोबरको विजय प्राप्त गर्न सकिँदैन । मलाई लाग्छ, त्यतिबेलाको – अक्टोबर क्रान्तिको समयको– मेन्सेविकवाद र वर्तमान समयको – नेपको अवधिको– ट्राटस्कीवादको बीचमा केही समानता छ । अक्टोबर क्रान्तिको विजय पश्चात् आजको साम्यवादका सबै वैचारिक प्रवृत्तिमध्ये, नेपको वर्तमान अवस्थामा, ट्राटस्कीवादलाई सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा लिइनु पर्छ किनभने यसले हाम्रा क्रान्तिका शक्तिहरूमाथि अविश्वास फैलाउने कोसिस गर्छ, मजदुर र किसानहरूको संयुक्त मोर्चामा अविश्वास फैलाउने कोसिस गर्छ, नेप रुसलाई समाजवादी रुसमा रूपान्तरण गर्ने कार्यमा अविश्वास फैलाउन खोज्छ । त्यसैले ट्राटस्कीवादलाई ध्वस्त नगरेसम्म नेपका अवस्थाहरूको मातहतमा विजय प्राप्त गर्न असम्भव छ,

आजको रुसलाई समाजवादी रुसमा रूपान्तरणमा सफलता हासिल गर्न असम्भव छ ।

Comments

comments