-अमृत योञ्जन तामाङ

हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुनुहुदैन ।ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छेउसै थरमा जीवनभर रहन्छेजस्तै मोक्तान’ थरकी चेली योन्जन’ थरको केटोसँग विवाह हुन्छ भने उनी योन्जन’ हुँदैनतामाङ सामाजिक नियम अनुसार ऊ मोक्तान’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। 

मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति, उपजाति, जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य, मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ।

हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो, हाल तामाङ छोरीचेलीले पनि हिन्दू छोरीचेलीले झै आफ्नो थर फेरेर लोग्नेको थर लेख्ने गरेको पाइन्छ। यो प्रचलन तामाङ सांस्कृतिक मूल्य र मान्यता विपरित छ। कुनै पनि सांस्कृतिक मूल्य र मान्यतालाई समकालीन समाजको आधारमा जोख्नु आवश्यक छ र अनुकूल भए अपनाउनु पर्दछ, नत्र छोड्नु पर्दछ। कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मूल्य र मान्यतालाई स्वीकार्नु हुँदैन। विवाहित चेलीले आफ्नो थर परिवर्तन गरेर लोग्नेको थर झुण्ड्याउनु भनेको श्रीमान् वा श्रीमानको खलकको दासत्व स्वीकार्नु हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो।

हिन्दू समाजमा विवाहपछि छोरीचेलीको जन्मको थर हुँदैन। जुन थरमा उसको जन्म हुन्छ अर्थात् विवाहपूर्व जुन थर हुन्छ विवाहपश्चात् उही थर रहँदैन। विवाहपश्चात् उनको थर श्रीमान्को थरमा परिवर्तन हुन्छ र उसको आनो कुनै जन्मको अस्तित्व देखिँदैन। हिन्दू नारीले लोग्नेको ’त्वम् शरणम्‘ भएर स्वामीको थर स्थापित गर्नु पर्ने सांस्कृतिक परम्परा र मूल्यमान्यता रहेको देखिन्छ।

हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै ‘मोक्तान’ थरकी चेली ‘योन्जन’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘योन्जन’ हुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ ‘मोक्तान’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा ‘मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ।

चेलीको थर परिवर्तन हुनु र नहुनुमा सम्वन्धित जातिका सांस्कृतिक मूल्य र मान्यता जिम्मेवार हुन्छन्। तामाङ समुदायमा स्थापित मूल्यमान्यताको व्याख्या ताम्बाले गर्दछ। ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ। तामाङ समाजमा ताम्बाको ठूलो महत्व छ। विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाई सकेपछि भनौं विवाहको चरमोत्कर्ष (चारदाम)मा ताम्बा भन्दछन् – डिन्छेन आपाला काडिन्छेन आमाला स्या म्हाला स्याप्रि प्रात्चि। रुइवाला चारि (रुइसाङ्) मायुङला छ्यारिन् मुला अर्थात् बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियो तर चेलीको अस्थि (हाड) माइतीको अधिनमा नै छ। ’तामाङ समाजमा अस्थिलाई थरको प्रतिक मानिन्छ।

तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत र मासु मात्र दिइन्छ तर रुइसाङ अर्थात् चेलीको अस्थि (थर) दिइदैन। ताम्बाले प्रष्ट शब्दमा भनेका छन् – रुइबाला चारि मायुङ्ला छयारिन् मुला’ अर्थात् चेलीको अस्थि माइतिको हातमा नै छ। विवाहपश्चात् पनि चेलीको हाड माइतीमा नै रहने सांस्कृतिक परम्परा रहेको छ। यस प्रक्रियाबाट तामाङ समाजमा विवाहपश्चात् चेलीको थर परिवर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ।

यसपछि बेहुली तर्फका ताम्बा भन्दछन् – स्या का मायुङ्से प्रात्चिरुइबाला चारि मायुङ्लान्। बुसिङ्ला चु रुइबाला चरि तोरमार तासाम् मायुङ्ला छयारि दोन्लामायुङ् रेन्बोर्छे’ अर्थात् ’माइतीले चेलीको रगत मासु हामीलाई सुम्पिनु भो। चेलीको अस्थि माइतीको वंशमा नै छ। चेली तलमाथि भयो (मर्यो) भने यो अस्थि (हाड) माइतीलाई फिर्ता गरिदिने छौं।’ यसरी बेहुला पक्ष रुइसाङ फिर्ता गर्ने बचनबद्ध हुन्छन्। ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ – तामाङ चेली गाईवस्तु वा बेचविखनको वस्तु होइन रहेछ भनेर। विवाहपश्चात् पनि चेलीको हकअधिकार र कर्तव्य माइती घरमा रहिरहन्छ।

माथिको सामाजिक संस्कारबाट प्रष्ट हुन्छ तामाङ समाजमा ‘कन्या दान’ हुँदो रहेनछ। आजभोलि हिन्दूधर्मको प्रभावले हो वा ओजे (ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा विशषगरी तराइतिर ‘कन्या दान’ दिने चलन चलाएको सुनिन्छ। उनीहरुले बुझ्नु आवश्यक छ – ‘तामाङ छोरीचेली गाईवस्तु जस्तो दान दिने वस्तु होइन, न त दासी नै हो पराया घरको भनेर’। तामाङ समाजको लागि छोरी जुवाई भनेको दोस्रो पुस्ताका सन्तान हुन्। तसर्थ गोड धुवाइ गर्ने र जुवाइलाई ढोक्ने परम्परा तामाङ संस्कृतिमा कतै पाइँदैन। यो चलन कन्यादान दिने संस्कृतिको उपज हो।

तामाङ समाजमा माइती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ। आफ्नो जन्मथरको यश राख्न वा कुलको रक्षा गर्न चेली तथा माइतीको समान दायित्व हुन्छ। यसो हुनाले आमा–बुबाको मृत्युपश्चात् पनि चेली र माइतीबिच आवत–जावत् भइनै रहन्छ। तर हिन्दू समाजमा चेली माइत आउनुको अर्थ जन्मको माया मात्र हो। आमा–बुबा मरेपछि त्यो मायाको धागो झिनो हुँदै जान्छ। तामाङ समाजमा चेली माइत आउनुको अर्थ मायामोह मात्र होइन सांस्कृतिक हकअधिकार पनि हो। आमा–बुबा नरहे पनि माइतीले चेलीको रेखदेखको पूर्ण जिम्मेवारी बहन गर्नुपर्दछ।

ताम्बाको यस्तो सामाजिक विधानले गर्दा नै तामाङ छोरीहरुको इच्छा विपरित विवाह गरिदैन। विवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ। यदि कसैले जवर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले विराजीको मत जाहेर गरेमा एक हप्तापछि पनि माइती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ। तीन-चार छोराछोरीकी आमा बने पनि चेलीले आफ्नो लोग्नेसँग बस्न अनिच्छा प्रकट गरेमा माइतीमा आउँछिन् र चेलीको इच्छाअनुसारको अर्को कुटुम्बसँग पुन विवाह गरिदिन्छन् अर्थात् चेलीको घरजमको मामिलामा चेलीको विचार नै सर्वोपरि हुन्छ।

चेलीको मृत्यु भएमा माइतीको उपस्थिति र स्वीकृतिबिना लास चलाउन पाइँदैन। माइतीले चेलीको मृत्युको कारण सोधपुछ गरी लासको अनिवार्य निरिक्षण गर्दछन् र ऊ विश्वस्त भएपछि मात्र लास चलाउन स्वीकृति दिन्छन्। यो प्रचलन मेडिकल साइन्सको पोस्टमार्टम जस्तै हो। कुटुम्बाले घेवा अर्थात् अन्तिम मृत्यु संस्कारमा माइतीलाई निम्त्याएर सामाजिक नायकहरु – ताम्बा, गान्बा आदि भद्रभलाद्मीको उपस्थितिमा लामाको डाजाङ (आसान)मा चेलीको अस्थि विवाहमा गरिएको सर्तअनुसार फिर्ता गर्दछन्। माइतीले चेलीको रुइबाला चरी (थरको प्रतिक हाड) विधिविधानसहित ग्रहण गर्दछन्। यसरी तामाङ चेली कुटुम्बको घर गएर पनि जन्मथरमै आफ्नो अस्तित्व कायम गर्दछन् र मृत्युपश्चात् पनि ऊ आफ्नो जन्म घर र थरमा नै फर्किएकी हुन्छे।

माइतीले सामाजिक जिम्मेवारीपूर्ण चेलीको अस्ति (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पूर्खाको भूमि अर्थात् हालका पवित्र तिर्थस्थल स्वम्भूमा लगेर शान्तबुद्धलाई समर्पित गर्दछन् र प्रकाशको लागि बौद्ध तथा स्वयम्भूमा नाङ्साल (बत्ती) बाल्दछन्। सो कार्य गर्न माइतीले कारणवश नसक्ने भएमा चावाइ लामा (मूल लामा)लाई अनुरोध गर्दछन् र उनले सो कार्य सम्पन्न गर्दछन्। यी तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आनो पुर्खाको भूमिमा पूर्वजहरुसँग लिन गराउनु हो भन्ने विश्वास रहेको छ। त्यसपछि पनि वर्ष वर्षमा ती पवित्र स्थलहरुमा गएर चेली अध्याँरो यात्रामा होलिन्, उज्यालो होस्, शान्ति होस् भन्दै चेलीको नाममा माइतीले नाङसाल बाल्ने गर्दछन्। आजभोलि पनि प्रत्येक वर्षको चैत्र पूर्णिमाको अगिल्लो दिन बौद्धको चैत्यमा र पूर्णिमाको दिन स्वयम्भूमा मृतकको नाउँमा बत्ती बाल्ने तामाङ श्रद्धालुहरुको भिड हेर्न सकिन्छ।

यसरी तामाङ चेलीमा थर परिवर्तन नहुनुका कारणहरु माथिका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्कारहरुबाट प्रष्ट भएको छ। तामाङ समाजको लागि चेलीले लोग्नेको थर राख्नु भनेको लोग्नेको दासी बन्नु हो, स्वअस्तित्व विलिन गर्नु नै हो, माईतिसँगको सम्बन्ध तोडिनु पनि हो, आवात–जावतको बाटो बन्द गरिनु पनि हो। जुन जातिमा चेलीको थर परिवर्तन हुन्छ अर्थात् लोग्नेको थर नै उसको आफ्नो थर हुन्छ, ती सबै जातिका चेली सांस्कृतिकरुपमा दासी सरह हुन्छन् भन्ने पनि छ। तामाङ समाजमा जस्तो सामाजिक तथा सांस्कृतिक वैधानिकता हिन्दू समाजमा नहुनाले छोरीलाई दान दिने वस्तुको रुपमा स्थापित गरिएको पाइन्छ र ‘कन्यादान’ को परम्पराले गर्दा ‘हिन्दू नारी स्वतन्त्रता’ र ‘नारी मुक्ति आन्दोलनको लक्ष्य’ एउटा काल्पनिक वस्तु मात्र हुन गएको छ सडक आन्दोलनमा होमिदा होमिदै पनि।

यसरी तामाङ समाजमा ताम्बाले विभिन्न सामाजिक तथा सांस्कृतिक विधिविधानमार्फत् तामाङ चेलीलाई नारी स्वतन्त्रताको सांस्कृतिक तथा सामाजिक वैधानिकता प्रदान गरेको छ। ताम्बाको यस्तो सामाजिक–सांस्कृतिक वैधानिकतालाई अङ्गालेर आफ्नो परम्परागत हकअधिकारलाई निरन्तरता दिएर स्वतन्त्रतामा रम्ने वा गैरतामाङ सांस्कृतिक परम्पराको सिको गर्दै मुक्तिको लागि आन्दोलनमा उत्रने यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरो हो। धन्यवाद।

फुट नोट

१  यो लेख सर्वप्रथम नौलो तरङ्ग सामयिक (वर्ष १ अङ्क १, जेष्ठ, २०४९) प्रकाशित भएको हो । परिमार्जनसहित ज्यारुड खास्योर मासिक (वर्ष १ अङ्क ३ साउन, २०५०) मा र पछि अन्यत्र धेरै पत्रपत्रिकामा छापिएका छन् । यस अवधारणासम्बन्धी थप जानकारी र प्रमाणहरु प्रताप बलका पुस्तक दार्जिलिङका ताम्बाहरुको व्याख्यान (२००५) मा हेर्नुहोला।

२  शरीरविज्ञानमा पनि हाडलाई रक्तको स्रोत मानिएको छ अर्थात् हाडमा नै रगत बन्दछ । ताम्बाहरुले शरीरविज्ञान बुझेका रहेछन् भन्ने यसबाट प्रष्ट हुन्छ ।

३  काठमाडौंको बौद्ध–जोरापाटीस्थित तामाङ गुम्बामा २०६२ सला असारमा सम्पन्न एक विवाहमा सो गुम्बाका मूल लामाले पनि ओजे भएर हो वा के कारणले हो ताम्बाको वचन रुइबाको चरीको विधिविधान नगरिकनै विवाह सम्पन्न गरेका थिए । यस्तो सांस्कृतिक मूल्य, मान्यता र सामाजिक नायकहरुतर्पm पनि तामाङ जाति चनाखो हुनु आवश्यक छ । थप जानकारीको लागि यसै पुस्तकमा रहेको तामाङ जातिको मौलिक तथा गतिशील सांस्कृतिक पक्षहरु हेर्नुहोला ।

४  तामाङ चेली विजातीसँग गएमा पनि माइत आवत–जावत गर्न सक्दछन् तर विवाहको रीतभात अर्थात् चारदाम गरिदैन । यसरी विवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीको रगत मासु दिइएको हुनुहुदैन  र चेली माइती कुलमा नै रहिरहन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात् अन्तिम संस्कार पनि माइतीले नै गर्नुपर्छ ।

अमृत योञ्जन (भाषविद्) को फेसबुकबाट 

Comments

comments

SHARE