काठमाडौँ । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा देखिएपछि सरकारले दुईतिहाइ समर्थन पाउने निश्चित भएको छ ।

सरकारले अाजै विश्वासको मत लिने तयारी गरिरहेका छ । सरकारलार्इ समार्थन गर्नेहरूमा अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदहरू देखिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवर्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ ।

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य हुन् ।  यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन ।

अाज १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ ।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रतिनिधिसभाको अपराह्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ ।

ओली ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Comments

comments

SHARE