दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न

१. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ?
पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमान्ड सम्हालेका पाइलट अबिद सुल्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यहाँको धावनमार्गसँग अभ्यस्त थिए । किनभने उनले यसअघि पनि पटक–पटक काठमाडौंको उडान भरिसकेका थिए ।

२. पाइलटको शारीरिक र मानसिक अवस्था
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले युएस–बंगला र बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको उडान विवरण, अनुभवलगायत सम्पूर्ण विवरण माग गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सुल्तानले दुर्घटनामा ज्यान गुमाउनुअघि पाँच हजार घन्टा जहाज उडाइसकेका थिए । सोमबार दुर्घटनामा परेको जहाज भने १ हजार ७ सय घन्टा उनको कमान्डमा उडेको थियो । बंगलादेशको इन्टरनेट न्युजपेपर बिडिन्युजडटकमका अनुसार सोमबार नै उनी क्यानडाबाट सोही जहाज उडाएर बंगलादेश आएका थिए । त्यसपछि दोस्रो उडानका क्रममा बंगलादेशबाट नेपाल आएको बिडिन्युजको समाचारमा उल्लेख छ ।

 

३. १७ वर्ष पुरानो जहाज यसअघि सामान्य दुर्घटनामा
दुर्घटनाग्रस्त यो जहाज क्यानेडियन कम्पनी बम्बाडियरले पहिलोपटक सन् २००१ मा स्क्यान्डानेभियन एयरलाइन्स (एएसए)लाई डेलिभरी गरेको थियो । उक्त कम्पनीले जर्मनीको अउगसबर्ग कम्पनीलाई सन् २००८ मा बेचेको थियो । सो कम्पनीबाट युएस–बंगलाले यो जहाज सन् २०१४ मा किनेको हो । यसअघि यही जहाज बंगलादेशको साइदपुर विमानस्थलमा सामान्य दुर्घटनामा परे पनि मानवीय तथा भौतिक क्षति नभएपछि लगत्तै उडानयोग्य बनेको थियो ।

४. धावनमार्गमा खराबी थियो ?
विमानस्थलको आलोचनाको अर्को विषय धावनमार्ग पनि हो । वेलावेला पिच उप्कनेदेखि जनावर र चराको आतंक यहाँ सामान्य मानिन्छ । तर, अहिले धावनमार्गमा कुनै समस्या नरहेको विमानस्थल व्यवस्थापन दाबी गर्छ । ‘त्रिभुवन विमानस्थलभित्रको कुनै पनि संरचनाका कारण जहाज दुर्घटनामा परेको देखिँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, अनुमानको भरमा बोल्नुभन्दा उच्चस्तरीय दुर्घटना जा“च आयोगको प्रतिवेदन कुर्नु राम्रो हुन्छ ।’

५. एटिसी नै अलमलमा थिए ?
युएस–बंगला एयरलाइन्सका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जहाज दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को हात रहेको आरोप लगाइएको छ । एटिसीले समयमा उचित सूचना दिन नसक्दा पाइलट झुक्किएको युएस–बंगला एयरलाइन्सको दाबी छ । तर, त्रिभुवन विमानस्थलका अधिकारीहरूका अनुसार एटिसीले दिएको निर्देशन सही पालना भएको भए पूर्वनिर्धारित समयमै सुरक्षित अवतरण सम्भव थियो । एउटा दिशाबाट अवतरणको अनुमति दिइसकेपछि पनि अर्को दिशातर्फ मोडिनु, आकाशमा छँदा कुनै इमर्जेन्सी घोषणै नगरी अवतरणका लागि तयार भएपछि एटिसीले थप निर्णय लिने मौका नपाएको महाप्रबन्धक क्षेत्रीले बताए ।

६. दुर्घटनाका वेला ड्युटीमा रहेका एटिसी अर्को शाखामा सरुवा
यसैबीच, त्रिभुवन विमानस्थल व्यवस्थापनले दुर्घटनाको समय ड्युटीमा रहेका एटिसीको शाखा परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगन (आइकाओ)को नियमअनुसार प्रत्यक्ष दुर्घटना देखेका एटिसीलाई केही दिन मानसिक रूपमा कम तनाव हुने शाखामा सारिएको विमानस्थल व्यवस्थापनको भनाइ छ । ‘एटिसी अति दबाबमा काम गर्नुपर्ने पेसा हो,’ महाप्रबन्धक क्षेत्री भन्छन्, ‘त्यसकारण केही दिनका लागि सोमबार एटिसी सम्हालेका कर्मचारीलाई अरू शाखामा पठाएका छौँ ।’

७. इयूको कालोसूची लम्बिन्छ ?
नेपाली आकाशलाई असुरक्षित देखाउँदै सन् २०१३ देखि युरोपेली युनियनले नेपाली वायुसेवालाई प्रतिबन्ध लगाएको छ । एभिएसन सेफ्टी लिस्ट (कालोसूची)मा राखेको युनियनले यसै वर्ष नेपाललाई उक्त सूचीबाट हटाउने अपेक्षा थियो । तर, नेपाली भूमिमा भएका ठूला दुर्घटनापछि अब के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक भन्छन्, ‘यो बंगलादेशको नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको जहाज हो, त्यसकारण जाँच आयोगको प्रतिवेदन नआएसम्म अन्तर्राष्ट्रिय निकायले कुनै मूल्यांकन गर्दैनन् ।’

कमजोर सुरक्षा, भद्रगोल उद्धार

दुर्घटनाको १० मिनेटसम्म दमकल पुगेन, पछि सुरक्षाकर्मी मात्र होइन, सर्वसाधारणले पनि धावनमार्ग पार गरे

जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे । तर, उद्धार रफ्तारमा हुन सकेन । सुरक्षाकर्मी आपसमा अलमलिरहेका देखिन्थे । उद्धारमा खटिएका नै अलमलमा परेपछि दुर्घटनापछिको परिस्थिति भद्रगोल बन्न पुग्यो । दुर्भाग्यवश ५० यात्रुले
ज्यान गुमाए ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी प्रेम चन्द उद्धारमा भद्रगोल भएको स्विकार्न तयार छैनन् । कुनै कसर बाँकी नराखी उद्धार गरिएको उनले बताए । उनी भन्छन्, ‘दुर्घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । दमकलले आगो निभायो । अति प्रज्ज्वलनशील पदार्थलाई आगोले टिप्ने डरले विशेष खालको ‘फम’ प्रयोग गरियो, घाइतेलाई विमानस्थलको मूलगेटबाट लैजाँदा समय लाग्ने भएकाले भन्सारतर्फको गेट प्रयोग गरियो ।’

विमानस्थलभित्र हुन सक्ने दुर्घटनाको क्षति न्यूनीकरण गर्न र यात्रुको उद्धार गर्न प्रत्येक वर्ष सुरक्षाकर्मीले काल्पनिक घटनाको रिहल्सन (डेमो) गर्ने गर्छन् । त्यसवेला दुर्घटना भएको दुई मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुगेको र उद्धारमा खटिएको देखाइन्छ । तर, सोमबार भएको दुर्घटनामा रिहल्सनमा गरिएझैँ दुई मिनेटमै सुरक्षाकर्मी घटनास्थल पुगेको देखिएन । न त उद्धार नै छरितो भयो । तर, एसएसपी चन्द भने १० मिनेटभित्र यो सब काम भएको भन्दै काम चुस्त भएको दाबी गर्छन् ।

विमानस्थलभित्र  क्षणभरमै सयौँको भिड

विमानस्थलको सुरक्षा अति संवेदनशील मानिन्छ । अत्यावश्यक जाँच गरेपछि मात्रै सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउँछन् । तर, सोमबार दुर्घटनाग्रस्त जहाज जलेको हेर्न दर्जनौँ सर्वसाधारण घटनास्थलमै पुगे । कतिपय चप्पलसमेत नलगाई घटनास्थलतर्फ हान्निएका देखिन्थ्यो । उनीहरू हात हल्लाउँदै ‘अलिहेसम्म उद्धारका लागि सेना प्रहरी आएको छैन’ भन्दै थिए । यतिसम्म कि रमिता हेर्न केटाकेटीसमेत पुगेका थिए । त्योभन्दा ठूलो भिड विमानस्थलको पूर्वी–दक्षिणतर्फको पेप्सिकोलातिरको गेटमा देखिन्थ्यो । यही गेटबाट सर्वसाधारण विमानस्थलभित्र छिरेका थिए । घटनास्थलमा सर्वसाधारणको भिड बढेपछि गेटमा खटिएका सुरक्षाकर्मीले अरूलाई भने भित्र जान रोकेको थियो । त्यसैले गेटमा भिड बढेको थियो ।

तर, एसएसपी चन्द विमानस्थलभित्र सर्वसाधारण नछिरेको दाबी गर्छन् । ‘विमानस्थलको कुनै पनि गेटबाट सर्वसाधारण घटनास्थल छिरेका छैनन् । मिडियाकर्मीलाई समेत घटनास्थल छिर्न रोक लगाइएको थियो । टाउजर र हाफपाइन्टमा देखिएका त सिभिलमा खटिएका सुरक्षाकर्मी हुन् । तत्काल उद्धारमा खटिनुपर्ने भयो । त्यसैले उनीहरू जस्तो अवस्था थिए, सोही अवस्थामा उद्धारमा खटाइएको हो,’ चन्दले दाबी गरे ।

जगेडा सुरक्षाकर्मी छैनन् 
विमानस्थलमा नियमितबाहेक आकस्मिक सुरक्षामा खटाउन जगेडा सुरक्षाकर्मीको व्यवस्था छैन । त्यसैले सोमबार नियमित सुरक्षामा खटिने २५ सुरक्षाकर्मीलाई दुर्घटनास्थलतर्फ खटाइयो । त्यसपछि मात्रै उद्धारका लागि थप सुरक्षा बल माग गरिएको थियो ।

एसएसपी चन्दले भने, ‘यहाँ रहेका २० देखि २५ सुरक्षाकर्मी तत्काल दुर्घटनास्थलमा खटाइयो । थप सुरक्षाकर्मी त्यसपछि मागिएको हो । त्यसवेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी पनि घटनास्थल आइसकेका थिए । सबै गरी करिब ३ सयको संख्यामा सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।’

विमानस्थलको प्रत्यक्ष सुरक्षा नेपाल प्रहरीको कमान्डमा छ । विमानस्थलभित्रको सम्पूर्ण सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहन्छन् । यसका लागि नेपाल प्रहरीको मात्रै ३ सय ७ दरबन्दी छ, कमान्ड डिआइजीले गर्छन् । विमानस्थलको यो नियमति सुरक्षा संयन्त्र हो । यो संयन्त्रमा चौबिसै घन्टा सुरक्षाकर्मी खटिनुपर्छ । त्यसैले यहाँको सुरक्षाकर्मीलाई झिकेर अन्त लैजान सकिँदैन । अत्यावश्यक परे बाहिरैबाट थप सुरक्षाकर्मी माग्नुपर्ने हुन्छ । विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि हुन्छन् ।

मृतकको पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन

युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने भएको छ ।

फरेन्सिक मेडिसिन विभागसँग सीमित स्रोत–साधन भएकाले पोस्टमार्टम रिपोर्ट आउन ढिला हुने भएको हो । सबै मृतकको सनाखत गर्न शव महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि राखिएको छ ।

फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले सीमित स्रोत–साधनबीच काम गर्नुपर्ने भएकाले रिपोर्ट आउन केही दिन लाग्ने बताए । विभागमा भएका १३ कर्मचारीले सोमबार रातिदेखि निरन्तर पोस्टमार्टमका लागि नमुना संकलन गरिरहेका छन् ।

डा. वस्तीका अनुसार सोमबार रातिदेखि मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझ्ने काम भइरहेको छ । विवरण बुझ्ने, पोस्टमार्टम गर्ने र परिवारका सदस्यलाई शव बुझाउने प्रक्रिया भएकाले केही दिन लाग्ने उनले बताए । सबैको विवरण बुझेपछि फरेन्सिक मेडिसिन विभागले पोस्टमार्टमको रिपोर्ट मृतकका परिवारका सदस्यलाई दिनेछ ।

नर्भिक अस्पतालमा उपचार गराइएका विमानका पाइलट अबिद सुल्तानको पनि मंगलबार मृत्यु भएपछि मृतकको संख्या ५० पुगेको छ । सोमबार अवतरणका क्रममा अनियन्त्रित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको थियो ।

२४ घन्टामा १४ शवको मात्रै विवरण संकलन
विभागले सहजताका लागि क्रमैसँग विवरण संकलन गरिरहेको छ । एउटा शवको नमुना संकलनमा तीन घन्टासम्म समय लाग्ने भएपछि सोमबार रातिदेखि चिकित्सकहरूले १० वटा शवको मात्रै नमुना संकलन सकाएका छन् । ‘स्रोत–साधनको अभावले काममा गम्भीर समस्या देखिएको छ,’ एक चिकित्सकले भने, ‘आवश्यक सहयोगका लागि विभागले पटक–पटक सरकारलाई आग्रह गरे पनि चासो नदिँदा भवितव्यको समयमा समस्या पर्ने गरेको छ ।’

सबैभन्दा सजिलोसँग पोस्टमार्टम गर्न दाँत र औँलाको छाप आवश्यक हुन्छ । त्यसबाहेक औँठी, सिक्री, लुगा, जुत्तालगायत सामान भए पनि सनाखत केही सहज हुन्छ । ‘हामी शवका स्याम्पल भेट्छौँ, तर परिवारका सदस्यले शवसँग तुलना गर्ने स्याम्पल हामीलाई दिन सकेका छैनन् । यसकारण पनि समस्या देखिएको छ,’ वस्तीले भने ।

४० शव पहिचान गर्नै गाह्रो
कम्तीमा ४० शव चिन्नै नसक्ने गरी जलेका छन् । सबै भाग जलेकाले कोठी र दागहरू खोज्न चिकित्सकलाई असहज भएको छ । विभागका अनुसार अहिलेसम्म युएस बंगला एयरलाइन्सका कर्मचारी कुनै प्रमाण लिएर उपस्थित भएका छैनन् । उनीहरूले विवरण नदिँदा समस्या भएको विभागले जनायो ।

पाँच दिनमा सके ठूलो उपलब्धि
विभाग सबै किसिमका सामानको अभावमा गुज्रिरहेको अवस्थामा पाँच दिनमा रिपोर्ट तयार गर्न सके ठूलो उपलब्धि हुने डा. वस्तीले बताए । ‘पाँच दिनमा सबै शवको पोस्टमार्टम सकियो भने ठूलो उपलब्धि हुनेछ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकबाट

Comments

comments