असुरक्षित सेक्स गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको छ । गर्भपतनले कानुनी मान्यता पाएकाले धेरैपल्ट गर्भपतन गरेर मानसिक रुपमा विक्षिप्त हुने पनि धेरै छन् ।

परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।

सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या सहरमा जति बढ्दो छ, यसको प्रतिप्रभाव (साइड इफेक्ट) भएर वा गर्भ नरोकिएर स्वास्थ्य संस्था आउनेको संख्या पनि त्यत्तिकै छ । आइपिलको प्रयोग वा एबोर्सनबाट स्वास्थ्यमा समस्या ल्याएपछि धेरै महिला हामीकहाँ आइपुग्छन् ।

अहिलेको पुस्ताले ज्ञान र स्वतन्त्रता पायो तर दुइटै अपुरो भयो । ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा केही फरक पर्दैन । अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्दै आएको छ ।

कतिपय अवस्थामा हेलचेक्य्राइँ पनि देखिएको छ । आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने डरलाग्दो प्रवृत्ति छ युवाहरूमा । गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ ।

परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।

आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ ।

पटक–पटक शरीरका नियमित  प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्न सक्छ । यही कारण धेरै सहरी महिलामा मानसिक समस्या आइसकेको छ ।

यसका प्रयोगकर्ता महिलामा मुटुरोग भएमा वा भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने समेत हुन सक्छ ।

सन् २००३ देखि नेपालमा गर्भपतन कानुनी छ । यसबारे नेपालका अधिकांश महिलाले थाहा पाएका छैनन् । अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू बढेका छन् ।

पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ ।

मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानि गर्छन् । गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो । लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ ।  पाठेघरमा इन्फेक्सन हुने, धेरै ब्लिडिङ हुने खतरा पनि हुन्छ ।

२५ वर्षको उमेरमै ६/७ चोटि गर्भपतन गरिसकेको बताउने महिला पनि भेटिएका छन् । उनीहरु आफैँले ‘आफू मानसिक रोगी’ भइसकेको समेत दाबी गरिरहेका हुन्छन् । सन्तान नबसेको भनेर गुनासो गर्न आउनेमध्ये कतिपयको पाठेघरमा क्षति भइसकेको देखिन्छ । धेरै गर्भपतन गराएकै कारण महिनावारी नै नहुने समस्या लिएर पनि थुप्रै महिला आइरहेका छन् । अहिलेका सहरका महिलालाई सबै थाहा छ तर केही थाहा छैन भनेजस्तो देखिन्छ ।

Comments

comments