गोकुल बाँस्कोटा, नेपाली कम्युनिष्ट आन्दोलनमा नौलो नाम होइन । त्यसमाथि पनि काभ्रेली राजनीतिक क्षेत्रमा गोकुल बाँस्कोटा एक प्रभावशाली नेताको रुपमा परिचित छन् । विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका उनी बल्ला चार दशक पछि राज्यको महत्वपूर्ण निकायमा पुगेका छन् । वाम गठबन्धनको पक्षमा पार्टी भित्र महत्वपूर्ण पहलकर्ताको रुपमा भूमिका खेलेका उनी वामपन्थीहरुको बहुमतको सरकारमा उनी सूचना तथा सञ्चार राज्यमन्त्री बनेका छन् ।
नव नियुक्त सूचना तथा सञ्चार राज्यमन्त्री वाँस्कोटा आखिर को हुन त ? यहाँ प्रस्तुत गरिएको छ ।


२०७४ साल चैत्र २ गते सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा काभ्रेको मण्डन नगरपालिका–४ नयाँगाउँ चैनपुरमा २०२७ सालमा जन्मिएका थिए । बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट जन्मिएका बास्कोटा ४ दाजु–भाइमध्ये कान्छो हुन् ।

बास्कोटा कक्षा ३ मा पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन भएको थियो । त्यतिबेलै वाम पृष्ठभूमीका गुरुहरुको कुरा सुनेपछि उनमा राजनीतिक चेतना नभए पनि नयाँ कौतुहलता जागृत भएको थियो । माथिल्लो कक्षामा पढ्न अर्को स्कूलमा गएपछि पनि वामपन्थी शिक्षकहरुसँग उनको संगत हुनपुग्यो । आफूसहितका पुस्तकालय कमिटीका साथीहरुले रुसी, चिनियाँ र कोरियाली बालकथाहरु अध्ययन गरी कम्युनिस्ट विचारसँग नजिकिएका उनी बेलुकी–बेलुकी गुरुहरुको प्रशिक्षणपछि वामपन्थी आन्दोलनमा होमिएका थिए ।

उनको गुरुहरुलाई अराष्ट्रिय गतिविधि गरेको भन्ने आरोप लगाएर विद्यालयबाट निकालियो त्यसपछि उनी डेडीथुम्का स्कूलमा पढ्न गए । त्यो स्कूल वामपन्थी आन्दोलनको केन्द्रविन्दुमा नै थियो । उनी त्यसअघि नै कक्षा ५ मा अध्ययन गर्दा अनेरास्ववियुमा आवद्ध भइसकेका थिए । तत्कालिन मालेको अनेरास्ववियु एकताको ५ औं को उनी प्रारम्भिक कमिटीको सह–सचिव थिए त्यो बेला ।

डेडिथुम्का गएपछि स्कूल पनि ठूलो र राजनीतिको केन्द्र पनि भएकाले पञ्चायत समर्थकहरु भए पनि त्यहाँ वामपन्थीहरुको निक्कै राम्रो स्थिति थियो । कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल, भानुभक्त थपलिया लगायतका गुरुहरु थिए । बेलुकी संगठन गर्ने, किसाहरुकोमा जाने, नाटक देखाउने जस्ता गतिविधिमा बास्कोटा सक्रिय भए । ठीक त्यही समयमा ४० सालतिर पिस्कर हत्याकाण्ड भयो । त्यसको विरोधमा डेडीथुम्कादेखि जुलुसको नेतृत्व गर्दै उनी पाँचखाल चौकीसम्म गएका बास्कोटा त्यसबेलादेखि नै राजनीतिमा चिनिएर लागेका व्यक्ति हुन् । त्यतिबेला पुस्तकालय कमिटी, रेडक्रस, अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी वहन गरेका उनी युथलिगको सचिव भएर अग्रजहरुसँग निरन्तर लाग्दै गए ।

गाउँमा ४३ सालमा जनपक्षीय उमेद्वारलाई सक्रियतापूर्वक सहभागी भएर सघाएका बास्कोटाले विद्यार्थी राजनीतिमा ०४२÷४३ देखि अखिलको जिल्ला सदस्य, इलाका कमिटीको अध्यक्ष, जिल्ला कमिटीको सचिव, जिल्लाको अध्यक्ष भएर जिम्मेवारी वहन गरेका थिए । पार्टीको भूमिगतकालमा खासगरी वास्कोटा पार्टीको पर्चाहरु ओसार्ने गर्थे । अखिलका केन्द्रीय कमिटी सदस्य, वागमतिको उपाध्यक्ष, एमाले काभ्रेको सदस्य, सचिवालय, उपसचिव सचिव, अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अहिले प्रदेश कमिटी र पार्टीको स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् ।

वास्कोटासँग भूमिगतकालको एउटा रमाइलो घटना छ । अहिलेका जिल्ला समन्वय समितिका सभापति उद्धव के.सी. त्यतिबेला हेलेन शाहको ड्राइभर थिए । ०४६ सालको चैत्र १७ गते महेन्द्रको शालिकमा कालो झण्डा गाड्ने कार्यक्रम थियो । बास्कोटा बनेपामा जुलुस सकेर आएका थिए । त्यहाँ उनी पर्चा लिन गएका थिए ।

सुनकोशी छापाखानामा पर्चा तयार गरिएको थियो । पुलिस दमन भएकाले त्यहाँ पुग्न नसकेपछि घर जलेकाले हेलेन शाहको ड्राइभर आफ्नो काका भएकोले खबर गर्न आएको भनेपछि पुलिसले समाति सकेकोमा पनि छोडीदिएको थियो । त्यसपछि उद्धव केसीले नी अफिसरमा त्यस्तै रिपोर्टिङ गरे । अनि गाडी लिएर जाऊ आगो निभाउन भनेपछि त्यही हेलेन शाहको गाडिमा सुनकोशी छापाखानामा भएको पञ्चायत विरोधी पर्चा लिएर उनी आएका थिए ।


०४४/०४५ देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएका उनले काभ्रे एमालेको नेतृत्व तहमा रहेर लामो समय साङ्गठानिक जीवन विताएका छन् । उनी संघीय प्रतिनिधि सभाको पहिलो निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट देशभरकै दोस्रो लोकप्रिय मत प्राप्त गर्दै नेकपा एमालेबाट सांसद बनेका थिए । डेडीथुम्का स्कूलबाट एसएलसी गरेका उनले मास कम्युनिकेशनमा स्नातकसम्मको अध्ययन रत्नराज्यलक्ष्मी क्याम्पसबाट पूरा गरेका छन् । प्रकाश, दृष्टि लगायत वाम निकट पत्रिकाहरुमा रहेर सक्रिय पत्रकारिताको लामो अनुभव संगालेका उनी पछिल्लो समय पत्रकारिताभन्दा पार्टी राजनीतिमा क्रियाशील रहेका थिए ।

Comments

comments