अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने

५, चैत्र भक्तपुर/ यसपालिको एसईई परिक्षामा ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साथै बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले चैत ८ गते बिहान ८ बजेदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यसैगरि देशभर गरी एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको बताए।

परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४ सया ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन्।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री जिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको छ।

यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ। जसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।

आगामी वर्षदेखि प्रदेशस्तरमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी सुरु गरिएको जानकारी दिँदै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको बताए।

Comments

comments

SHARE