८ चैत्र काठमाडौँ । राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेस । बिहीबार जेल जीवन बिताइरहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलले लेखेको गीति एल्बम विमोचन हुँदै थियो । मञ्चमा कार्यक्रमको अध्यक्षता गरेकी थिइन्, ढुङ्गेलकी जेठी छोरी विनिता ढुङ्गेलले ।

विनिताको छेवैमा बसेका थिए– कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला । उनीसँगै बसेकी थिइन् जनयुद्धका क्रममा मारिएका रितबहादुर खड्काकी आमा मनमाया खड्का । खड्कासँग बसेका थिए–माओवादीका नेता राम कार्की ।

जब बिनिताले कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत गर्न आफ्ना भनाई राख्न थालिन् – पूरै हल नै स्तब्ध बन्यो । उनले आफ्नो बाल्यकाल सम्झँदै भनिन् ‘म सानै थिए । मेरो बुबा माओवादी हुनु हुँदोरहेछ । मलाई थाहा थिएन । सबैका बुबा घरमा हुन्थे । मेरा बुबा भने घरमा थिएनन् । म र मेरी बहिनी कहिलेकाँही आमालाई सोध्थ्यौ–सबैका बुबा घरमा छन् हाम्रो बुबा चाँही खै त ? आमालाई यो प्रश्नले सारै पीडा हुँदोरहेछ ।’

आमाले हामीलाई सम्झाउँथिन्  – माओवादी हुनुभएको छ । कुनै दिन आउनुहुन्छ’ तर, हामीले बुबाको खोजी गरिरहयौँ । बुबा आउनु भएन ।

गाउँमा मेरा साथिहरु उनका बुबाले ल्याइदिएका नयाँ कपडा मलाई देखाउँथे । म र बहिनी पुनः आमालाई सोध्थ्यौ – ‘फलानाको बुबाले नयाँ कपडा ल्याइदिएछन् खै हाम्रो बुबा ?’ आमालाई हाम्रो प्रश्नले पीडामाथि पीडा दिँदोरहेछ । यो कुरा मैले बुझ्ने भएपछि मात्रै थाहा पाएँ ।

आमाले एक दिन म र बहिनीलाई दुई–तीन वटा फोटा देखाउँदै भनिन् – ‘यिनै हुन् तिम्रा बुबा । नाक, मुख र आँखा तिमी दुईकै जस्ता छन् ।’ पहिलो चोटी बुबालाई फोटामा देख्यौ । कहिलेकाँही त्यहि फोटो हेरेर बुबाको सम्झना पूरा गर्दथ्यौ ।

घरमा सेना र प्रहरीले खानतलासी गर्ने काम सधँैजस्तो गथ्र्यो । आमाले बुबाको फोटा घर पछाडी खाल्डो खनेर लुकाएकी थिइन् ।  एकदिन त्यो पनि सेनाले थाहा पाएर खाल्डो उधिनेर फोटो नै लग्यो ।

त्यसपछि फोटामा भेटेका बुबापनि हामीबाट टाढा भए । बालकृष्ण ढुुङ्गेलका छोरी भएकै कारण हामीले आफ्नो बाबाको फोटो पनि हेर्न पाएनौँ । उनले भावकु हुँदै भनिन् ‘मेरो घर नजिकै ठूलो ढुङ्गो थियो । एक दिन आमाले त्यही ढुङ्गामा गएर परको डाँडा देखाउदै भनिन् ‘तिम्रो बुबा त्यहि डाँडाबाट आउनुहुन्छ ।’ आमाले त्यति भनेपछि म र बहिनीको दिनचर्या त्यही ढुङ्गो हेरेरै बित्न थाल्यो । हामी बिहान–बेलुका फुर्सद भयो कि त्यही ढुङ्गोमा गएर बुबा आउनुहुन्छ कि भन्दै पुग्थ्यौं । तर बुबा कहिल्यै आउनु भएन ।’

विनिताले थप भावुक हुँदै थपिन् ‘समय बित्दै गयो, हामीलाई गाउँमा बस्न समस्या हुदै जान थाल्यो । यो बझपछि बुबाले हामीलाई काठमाडौ आउन भन्नुभयो । तर यहाँ पनि सहज भएन, हाम्रो जीवन ।
आमा ज्यामी काम गर्न थाल्नुभयो । म र बहिनी इन्दिरा रानामगरले सञ्चालन गरेको अनाथालयमा बस्न थाल्यौ ।

त्यहि बेला बुबा जेल पर्नुभयो । उज्जन श्रेष्ठको हत्या आरोपमा । सबै शनिबार चिडियाखाना घुम्न जान्थे । म र बहिनी भने बुबालाई भेट्न जेलमा जान्थ्यौँ । त्यहाँ भएका प्रहरीले हामीलाई जिस्काउँदै भन्थे– ‘अब तिम्रो बुबा यही बस्छ । कहिल्यै छुट्दैन । माया मारे हुन्छ । हामी आमाको हात समातेर रुन्थ्यौं । आमाले हामीलाई सम्झाउनुहुन्थ्यो–‘होइन अंकलहरुले जिस्काएको मात्रै हो ।’

यही दैनिकी चलेसँगै बाबा जेलबाट छुट्नुभयो । त्यसपछि दुःखका दिन सकिएकी भन्ने लाग्यो । केहि आसा पलायो । त्यसपछि हामी पढ्ने स्कूलमा पनि बाबा जेलबाट छुटेको खवर पुगेछ । हामीलाई भन्न थालियो कि– ‘अब तिमीहरु ठूलो स्कूलमा पढ्छौ । कालो सिसा भएको गाडीमा हिँड्छौ । अब त तिमीहरुका पनि दिन आए ।’

हामीलाई भनेका सबै कुरा बुबालाई भन्थ्यौँ । त्यसैक्रममा बुबाले पहिलो संविधान सभाको चुनाव पनि जित्नुभयो ।

मैले बुबालाई घर बनाउन भने । उहाँले भन्नुभयो –म तिमीहरुलाई घर बनाउन चुनाव लडेको होइन । मेरो लक्ष्य भनेको ओखलढुङगाको समृद्धि गर्नुछ । मलाई सारै रिस उठ्यो – एउटा घर पनि नबनाइदिने भनेर ।

जब म १२ कक्षाको परीक्षा दिएर गाउँ गए–त्यसपछि थाहा पाएँ मेरो बुबाले गरेको कामको बारेमा । ढाँडेमा गाडिले हर्न बजाउँदा मेरो बुबा बोले झै लाग्थ्यो । त्यो सडक मेरो बुबाको पहलमा खनिएको हो । आज कच्ची भएपनि गाडि गाउँ घर पुगेको छ ।

यति भन्दै गर्दा उनी कुनै नेताजस्तै लाग्थ्यो । उनमा यति आत्मविश्वास थियो कि उनी जेलमा बसेको बुबाकी छोरी होइन, कुनै राजनीतिशास्त्रका व्याख्याता ।

उनले बोलेका एकएक शब्द त्यति नै महत्वपूर्ण थिए । त्यति नै घोच्ने खालका थिए । ‘देशमा कम्युनिष्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यहि गणतन्त्रका लागि लडेका एक योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’ उनले पेचिलो प्रश्न गरिन् ।

उनले भनिन् ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरुले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन र ? हुन्छ भने किन खोज्दैनन ?

‘बुबाको अवस्था नाजुक छ । एउटा मृगौलाले काम गर्दैन । अर्को मृगौलाले २५ प्रतिशतमात्र काम गर्छ’ भावुक हुँदै विनिताले सुनाइन् ।

‘आज मेरो बुबाले धनसम्पति कमाएको भए सबै भेट्न जान्थे होलान् । तर सम्पत्ति नभएकाले आज केहिबाहेक भेट्न पनि जादैनन् । आज पनि सोध्न मन लाग्छ बालकृष्ण ढुङ्गेल जेल बस्नुपर्ने तर अरु छाती चौडा गरेर घुम्नुपर्ने कस्तो गणतन्त्र हो ?’ -रातोपाटी

लौ हेर्नुहोस भिडियो

 

Comments

comments