लेखक

 -ङेमलीङ लामा

नेपाल सबै जातजाति र भाषाभाषीको साझा फूलबारी बन्नुपर्छ । यहाँ, सबै किसिमका फूलहरुले फुल्ने अबसर पाएका छैनन् । मलजल र गोडमेल नपाएकाहरु चाउरिएका अनुहार लिएर बाँचिरहेका छन् । नेपाल सबै जातजाति र भाषाभाषीको साझा फूलबारी हो भन्ने कुराको अनुभूति दिलाऔं । यहाँका जातजाति र भाषाभाषीहरुले साझाफूलबारी भन्न सकिरहेका छैनन । मुलुकलाई तोरीबारी, मकैबारी र घैयाबारीको संज्ञा दिइरहेका छन् ।

मुलुकलाई साझा फूलबारीमा रुपान्तरण गरी राष्ट्रियताको भावना जागृत गराऔं । तबमात्र राष्ट्रबादी सम्भव छ । मुलुकलाई तोरीबारी, मकैबारी र घैयाबारीमा सिमित गराई राष्ट्रवादीको हौवा पिटिरहनु बेकार छ । यहाँ तोरीबारी, मकैबारी र घैयाबारीमा उमे्रकाहरुलाई झार सम्झिरहेका छन् । उखेलिरहेका छन्, निमोठिरहेका छन् । पन्छाएर खाल्डोमा मल बनाइरहेका छन् । । नेपालका जातजाति र भाषाभाषीहरुले सदियौंदेखि यहि नियत्ती भोगिरहेका छन् ।  कुरा रह्यो, गाईकाण्डको विषयलाई लिएर मच्चिएको हंगामाको। बौद्धधर्माबालम्बीहरु हिंसा र हत्यामा विश्वास गर्दैनन् । सबै किसिका प्राणी एउटै हुन् । जुनसुकै प्राणी काटेपनि रगत नै आउने हो । प्राण हुञ्जेल कोही मर्न चाँहदैनन् ।

पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको कुरा गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने दुबैकुरा व्यवहारिक छैन । नत बैज्ञानिक नै । सकेसम्म कुनै प्राणीको हिंसा नगरौं, बौद्धधर्ममा यहि विश्वास छ । सक्दै नसके स्वार्थ र लोभ लालचमा दुर्लभ प्राणीको हिंसा र हत्या नगरौं । गाईगोरुको कुरा होइन, दुर्लभ वन्यजन्तु गैंडा, रेडपाण्डा र कस्तुमृग मार्नबाट रोकौं । दिन दहाडै मान्छे मारिरहेका छन्, त्यसलाई रोकौं । दुर्लभ प्राणी र मान्छे मार्नेलाई कठघरामा उभ्याऊ । गाई–गोरु, राँगा–भैंसी र बोका–बाख्रा र कुखुरा काट्नेलाई होइन ।

गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्नेहरु दुवै अतिवादीधारका मान्छेहरु हुन । धर्मको नाममा अस्तित्व जोगाउन खोज्ने कुवाको भ्यागुताहरु हुन् । संसार फराकिलो छ । फराकिलो संसारमा बाँच्ने प्रयास गरौं । सबैखाले समुदायको भावनालाई बुझ्ने प्रयास नभएकै कारण राजनीतिक परिवर्तनको नाममा मुलुकले थेग्न नसक्ने व्यवस्था भित्र्याएका छौ । पञ्चायतकालमा एकसय ५ जना जनप्रतिनिधि भए पुग्ने मुलुकमा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभामा गरी ८ सय ४४ जनालाई राज्यको ढुकुटीको दोहन गर्न दिइरहेका छौं ।

आज तिनै जनप्रतिनिधि भनाउँदा गगन थापाहरु गाईकाण्डको नाममा सदियौंदेखि शोषित पीडितको भावना विपरीत औंला ठड्याउने काम गरिरहेका छन् । गाईको मासु नखानेहरुलाई राधिका तामाङहरुले मुखैमा कोचिएको पारामा कुरा काट्न थालेका छन् । खाइरहेकाहरुले खान पाइरहोस् । नखानेहरु खान्न भन्न पाइयोस् । यहि नै प्रजातन्त्र होइन र ? आफूलाई प्रजातान्त्रिक व्यवस्थाको मसिहा भन्न पछि नपर्ने कांग्रेसका गगन थापाहरु जबसम्म जन्मिरहन्छ, तबसम्म नेपाल साझा फूलबारी बन्नै सक्दैन ।

जबसम्म गगन प्रबृतिका मान्छेहरु जन्मिरहन्छ तबसम्म राधिकाहरु मरिरहन्छन् ।  हामीले शुशासन, देशको उन्नति र प्रगतिको नाममा शासन व्यवस्था फाल्दै आयौं । शासन व्यवस्था फाल्दै आएपनि गगन थापा प्रबृतिका मान्छेहरुलाई हामीसँगै ल्यायौं, संकुचित प्रबृतिका त्यस्ता मान्छेहरुलाई फाल्ःन सकेनौं । सबैखाले समुदाय, वर्ग र क्षेत्रका वासिन्दाको भावनालाई बुझ्ने प्रतिनिधि ल्याउन सकेनौ । सुशासन र देशको उन्नतिको नाममा शासन व्यवस्था मात्र फाल्ने अनि गगन प्रवृतिका मान्छेहरुलाई काखमा च्यापेर देशको उन्नति प्रगति सम्भव छैन भन्ने कुरा उनैले पष्टि गरिएको छ ।

जबसम्म राज्यको निर्णायक तहमा यस्ता गगन थापाहरुको हाबी हुन्छन् तबसम्म सदियौंदेखि उपेक्षामा परेको समुदाय, वर्ग र क्षेत्रका वासिन्दाहरुले मुलुकलाई साझा फूलबारीको रुपमा हेर्न पाउने छैनन् ।, उपेक्षामा परेकाहरु चीरकालसम्म फूल्न नपाएरै मरिरहनु पर्ने छन् । यस्ताहरुले पिट्दै आएको नयाँ नेपालको कुराले मुलुकको दिगो विकास र शान्तिको कुरा कसरी सम्भव होला ? चिन्ताको विषय भएको छ ।

(लेखक हेलम्बु एफ.एम. ८९.६ मेघाहर्जका स्टेशन म्यानेजर हुन् । उहाँको यो नीजि विचार हो ।)

Comments

comments