१७ चैत्र, काभ्रे, भुम्लु । शुक्रबार जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १ मा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रम भइरहेको थियो । कार्यक्रममा अन्तिम वक्ताको रुपमा थिए प्रमुख अतिथि समेत रहेका भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवर ।

नितान्त फरक शैलीमा शुरु भयो उनको भाषण । ‘लौ सरकार तपाईंको आँगनमा आईपुगेको छ, के–के छ गुनासो सुनाउनु होला ।’ अध्यक्ष कुवरले भने । अध्यक्ष कुवरले यति भन्ने वित्तिकै हात उठाए आफ्नो कुरा राख्न जनताले ।  खुल्ला दिशाामुक्त वडा घोषणा गर्न पुगेका गाउँपालिका अध्यक्ष कुवरले जनताको गुनासो एक एक गरि सुने ।

दिदिबहिनीहरुले चाहे रक्सी बन्द हुन्छ

रक्सी जथाभावी विक्रि वितरण भएको कारण गाउँमा महिला हिंसा बढेको गुनासे सहभागी महिलाहरुले गरे । कुवरले गुनासोको जवाफ दिंदै महिलाहरुले आँटे रक्सी बन्द हुने बताए । ‘रक्सी दिदिबहिनीहरुले आँट गरे बन्द हुन्छ ।’ उनले सुझाए– ‘आफ्नो लोग्नेले रक्सी खाएर आए घर भित्र नछिराउनुहोस् । अति नै भए प्रहरी पठाउछु, गिरफ्तार गरेर कार्वाही गराउँछु ।’ गिरफ्तार भैसके पछि आफ्नो मान्छु छुटाउन नआउन पनि उनले गुनासो कर्ताहरुलाई अनुरोध गरे ।

अल्छि मास्टर चाहिएन

शिक्षकहरुकोबारेमा गुनासो आएपछि अध्यक्ष कुवरले पढाउन अल्छि गर्ने शिक्षकलाई अकौं विद्यालयमा पठाउने चेतावनी दिए । ‘पढाउनु त कता हो कता सुतेर बसेको शिक्षक पनि मैले देखेको छु ।’ उनले भने– ‘अब अल्छि शिक्षका दिन गए ।’

महिला स्वयंविकाको प्रशंसा

कुवरले महिला स्वयंसेविकाको खुलेर प्रशंसा गरे । विना तलब, विना कुनै सुविधा जनताको स्वास्थ्य प्रति इमान्दार भएर लागेकोले अर्को वर्षदेखि महिनाको १ हजार भत्ता दिने उनले बताए । महिला स्वयंसेवीकाहरुलाई टेलिफिल्मको देवी बन्न पनि अनुरोध गरे । ‘टेलिफिल्मको देवी बन्नपर्छ तपाईहरु ।’ उनले भने । कुवरले गरिब र दलितको घरमा सबैभन्दा पहिला सेवा पु¥याउन अनुरोध गरे । ‘मैले सुनेको छु, दलित र गरिबको घरमा तपाईंहरु जान आनाकानी गर्ने गरेको छ रे ।’ अध्यक्ष कुवरले भने– ‘दलित र गरिबकोमा सबैभन्दा बढी जानुहोस्, धनिले एम्बुलेन्स प्रयोग गर्छन्, जुनसुकै अस्पतालमा लान सक्छन् ।’

 

Comments

comments