-अञ्जली तामाङ
१९ चैत्र, काभ्रे । काभ्रेमा सबै आर्थिक परिसूचक समावेश गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ बैशाख १ गतेदेखि जिल्ला भरी एकसाथ शुरु हुँदैछ ।

जिल्लामा राष्ट्रिय आर्थिक गणना २०७५ को स्थलगत तथ्यांक संकलनको लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला आर्थिक गणना कार्यालय काभ्रेका आर्थिक गणना अधिकृत दीनानाथ लम्सालले जानकारी दिएका छन् ।

जिल्लाभर कुल ७४ जना गणक परिचालन गरी तथ्यांक संकलन गरिने लम्सालले जानकारी दिए । ‘१० जोड २ वा प्रमाणपत्र तहमा कम्तिमा १०० पुर्णाङ्कको गणित वा तथ्यांकशास्त्र विषय सहित उत्तिर्ण गरेकोहरुबाट २०७४ चैत्र ८ गते १४ गते सम्म करार सेवामा गणक भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा कुल ११३ जनाको आवेदन परेको थियो ।’ अधिकृत लम्सालले भने– ‘उल्लेखित तहमा प्राप्त प्रतिशतको आधारमा योग्यताक्रम निर्धारण गरी गणकहरु छनौट गरिएको थियो । छनौट भएका सबै ७४ जनासँग २०७४ चैत्र २० देखी लागूहुने गरी करार सम्झौता सम्पन्न भएको छ ।’ उनका अनुसार गणना प्रयोजनको लागि आवश्यक सामाग्रीहरु केन्द्रीय तथ्यांक विभागबाट प्राप्त भई तयारी अवस्थामा रहेको छ ।

स्थानीय तहमा यसरी गरिएको छ कार्यविभाजन

७४ जना गणकहरु मध्ये रोशी गाउँपालिकामा ७, बेथानचोक गाउँपालिकामा २, मण्डन देउपुर नगरपालिकामा ६, महाभारत गाउँपालिकामा २, भुम्लु गाउँपालिकामा ४, नमोबुद्ध नगरपालिकामा ५, पाँचखाल नगरपालिकामा ८, पनौती नगरपालिकामा ८, चौरी देउराली गाउँपालिकामा ३, तेमाल गाउँपालिकामा ४, खानीखोला गाउँपालिकामा २ र धुलिखेल नगरपालिकामा ८, बनेपा नगरपालिकामा १५ जना परिचालन हुनेछन् । जिल्लाभरमा गणकहरुको कार्यलाई प्रभावकारी बनाउन थप १० जना गणना सुपरिवेक्षक (स्थायी कर्मचारीहरु) मार्फत अनुगमन तथा सुपरिवेक्षण हुनेछ ।

५ दिनसम्म तालिम दिई बैशाख १ गतेबाट स्थलगत तथ्यांक संकलनको लागि जिल्लाभर एक साथ खटाईने लम्सालले जानकार िदिए । तथ्यांक संकलन कार्र्य २०७५ जेष्ठसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Comments

comments