२२ चैत्र, रुपन्देही । रुपन्देहीमा स्रोत नखुलेको ४० लाख नगदसहित दुई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा बेलहिया वाईपासस्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रकम फेला पारेको हो ।

बुधबार बेलहियाबाट भैरहवातर्फ आइरहेको लु२२प ३८७१ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्ने क्रममा साे रकम फेला पारेकाे प्रहरीले जनाएकाे छ । स्कुटीको डिक्की भित्र कालो र पहेलो प्लाष्टिकले प्याकिङ गरि राखेको अवस्थामा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ र नेपाल एसबिआई बैङकको ३० हजार रुपैयाँको चेक फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्कुटीका चालक दीपककुमार मल्लिकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । उक्त रकम सिद्धार्थ नगरपालिका वडा नं ८ का धनवन्तकुमार अग्रवालको भन्ने पत्ता लागेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार अग्रवालले रकम स्विकारेको तर स्रोत खुलाउन नसकेको बताए । बरामद रकम र स्कुटीसहित दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको पाण्डेले बताए । अग्रवाल मनी चेन्जरको व्यवसाय गर्ने र मल्लिक उनकाे कामदार रहेको प्रहरीको भनाइ छ ।

-इनयाँ पत्रिकाबाट

Comments

comments

SHARE