भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को गत फेब्रवरीमा बसेको बैठकले गरेको निर्णयअनुसार ६५ वर्षीय महामन्त्री गणपतिलाई उमेर र स्वास्थ्यका कारण बिदा दिएर सोको ठाउँमा केन्द्रीय सैन्य आयोगसित सम्बद्ध नम्बाला केशव राव उर्फ बशवराजलाई ल्याउने तयारी गरिरहेको  छ।

६० वर्ष नाघेका अमुकअमुक नेताहरूको जिम्मेवारीमा समेत हेरफेर गरेको भनेर सत्ताधारी वर्गका माध्यमहरूले हल्ला मच्चाइरहेको बेला अहिले भाकपा (माओवादी) ले अस्वस्थ, वयोवृद्ध र अपेक्षित मात्रामा सक्रिय हुन नसकेका, लामो समयसम्म जेलमा रहेर छुटेका नेताहरूका बारेमा केही नीतिगत निर्णय गरेको कुरा सार्वजनिक गरेको छ  ।

पार्टीले सो आधारभूत नीतिनियम सार्वभौम प्रकृतिको  भएको र को हट्ने र किन हट्ने भन्ने कुरा पार्टी र क्रान्तिको हितलाई ध्यानमा राखेर आवश्यकताअनुसार सम्बद्ध नेताहरूसमेतको चाहनालाई समेत ध्यानमा राखेर कार्यान्वयनमा लगिनेछ भनेर प्रस्ट पारेको छ ।

भाकपा (माओवादी) ले चलायमान युद्धमा जाने निर्णय गरे पनि अहिलेसम्म मूलतः छापामार युद्धलाई मात्रै जोड दिएको छ ।

मोदी सरकार अमेरिकी–इजरायली प्राविधिक सहयोसमेतको प्रयोग गरेर दमनका सबै उपायहरू अँगालेर पार्टी र माओवादी आन्दोलनमाथि भीषण आक्रमण गरिरहेको र पार्टीले पनि प्रत्याक्रमणको नयाँ तयारी गर्नुपरेको अवस्थामा “स्थिति र क्रान्तिको आरोहअवरोह लाई ध्यानमा राख्दै  कमरेडहरूको स्वास्थ्य,  उमेर र सुरक्षासमेतलाई ध्यानमा राखेर” पार्टीले नयाँ प्रस्तावको निर्णय गरेको कुरा पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

यसका लागि पार्टीले कतिपयलाई सार्वजनिक जीवनमा रहेर काम गर्न, कतिपयलाई जनवर्गीय सङ्गठनसिन गाँसिएर काम गर्न, कतिपयलाई स्थानान्तरण गराउने र कतिपयलाई क्रान्तिलाई हित हुने गरी संस्मरण लेखेर क्रान्तिसित जोड्ने वातावरण मिलाउने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रस्तावमा अनुभवी र आन्दोलनसित गाँसिएका वृद्ध नेताहरू आन्दोलन र पार्टीका सम्पति हुन् र उनीहरूको सम्मानका साथै सबै किसिमका समस्याको समाधान गर्न सम्बद्ध निकायका जिम्मेवार नेताहरू गम्भीर हुनुपर्ने कुरा पनि उल्लेख छ ।

प्रस्तुत छ नीतिगत निर्णयको भावसङ्क्षेप :

पार्टीका भेटरन (वयोवृद्ध ?) कमरेडहरूका सम्बन्धमा
केन्द्रीय समिति फ्रेब्रवरी २०१७ को प्रस्ताव

चौथो केन्द्रीय समितिमा भएको छलफलका आधारमा पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकले भारतीय क्रान्तिमा देखिने आरोहअवरोह तथा यसको दीर्घकालीन चरित्रलाई ध्यानमा राख्दै बुढा र अस्वस्थ कमरेडहरूसित सम्बद्ध विशिष्ट प्रश्नमा छलफल गरी निम्न बमोनिम निर्णय गर्यो :

शारिरीक र मानसिक सीमाहरू भएका कमरेडहरू जो आफनो जिम्मेवारीलाई आआफ्नो कमिटीमा ठीक ढङगले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूले क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध बृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौँ  । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो  निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनु हुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैँले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैँ तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि  वर्गसङ्घर्षको महत्वलाई आत्मसात गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान  शोषण-उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाजको रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।

मुलुकमा चलिरहेको क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्न केन्द्र र राज्य सरकार दिनानुदिन थप आक्रामक बन्दैआएको छ । दुस्मनको आक्रमणको निसानामा परेका कतिपय स्थानमा बृद्ध कमरेडहरूको सुरक्षाको प्रश्न अहम् बनेको छ । स्थिति उहाँहरूको सुरक्षाका लागि अप्ठ्यारो पर्ने किसिमको भयो भने उहाँहरू अर्को ठाउँमा स्थानान्तर गराउनुपर्ने हुन्छ अथवा आन्दोलनको प्रभाव कम भएको सहरी अथवा ग्रामीण क्षेत्रमा पठाउनुपर्ने पनि हुनसक्छ । तर पनि,  प्रमुख कुरा के हो भने जहाँ रहे पनि र जस्तोसुकै अप्ठेरोमा पनि हामीले अनुभवी कमरेडहरूको अनुभव र क्षमताको भरपूर उपयोग गर्न सक्नुपर्छ । क्षेत्रीय ब्युरो तथा राज्य कमिटीहरूले पनि उहाँहरूको सुरक्षाको विशेष प्रवन्ध मिलाउनुपर्छ ।  यसरी स्थानान्तरित कमरेडहरूले पनि तोकिएको स्थानमा धैर्यताका साथ आफूलाई  राखेर आफ्नो  जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । सम्बद्ध पार्टी कमिटीले यस्ता कमरेडहरूसितको सम्बन्धलाई एकदमै गोप्य र गम्भीर किसिमले मिलाउनु पर्नेहुन्छ । सम्बद्ध सङ्गठनले विशिष्ट किसिमको सुरक्षा र सम्बन्धको संयन्त्र निर्माण गनुपर्ने हुन्छ । वर्षमा यस्ता कमरेडसित कम्तीमा पनि ६ महिनामा एकपल्ट, नभए वर्षदिनमा एकपल्ट भेटघाटको वातावरण मिलाउनुपर्छ । कुनै कारणले पार्टीसित सम्बन्ध विच्देद भयो भने उहाँहरू अलिकति पनि निरास नभइकन हिम्मतका साथ आफ्नै किसिमले भए पनि विचार जोगाएर काम गर्ने प्रयास गरिरहनुपर्छ । पुराना कमरेडहरूलाई खुला राजनीतिक गतिविधिमा ल्याएर क्रान्तिमा उहाँहरूको सेवा र सहयोग प्राप्त गर्नु पनि अर्को उपाय हो ।

पुराना कमरेडहरूको अर्को समस्या भनेको स्वास्थ्यसम्बन्धी समस्या हो ।  हामीसित उपलब्ध स्वास्थ्य सुविधा प्रदान गर्ने कुरा एउटा उपाय  हो तापनि गम्भीर किसिमका र दीर्घकालीन किसिमका बिमारीहरूको इलाज हाम्रो तहबाट सम्भव हुँदैन । उहाँहरूलाई सहरमै पठाउनुपर्ने हुन्छ, जसले विशिष्ट संयन्त्र र व्यवस्थापनको  माग गर्छ ।  हामीसित अहिलेको स्थितिमा यस्तो भरपर्दो संयन्त्र बन्न सकेको छैन । विगतमा हामीले यसरी औषधीउपचारको उचित व्यवस्थापन गर्न नसक्ता कतिपय युवा तथा वृद्ध कमरेडहरूलाई गुमाउनुपर्यो  । सहरमा औषधीउपचारका लागि पठाउँदा कतिपय कमरेडहरू पक्राउ परे, मारिए र जेल पठाइए । त्यसैले नेतृत्वदायी कमिटीले यो समस्या हल गर्नका अलि विशेष ध्यान दिनु आवश्यक छ ।

जेलबाट छुटेका, तर वृद्धावस्थाका र कमजोर स्वास्थ्य भएका कमरेडहरूलाई खुला किसिमको जिम्मेवारी लिन भन्नुपर्ने हुन्छ । सम्बद्ध कमिटीले उहाँहरूलाई आफ्नो क्रान्तिकारी अनुभवका बारेमा लेख्न भन्नुहोस्  । सम्बद्ध कमरेडहरूको अनुभव भनेको क्रान्तिको ज्ञानसित गाँसिएको अनुभव हो । यो अनुभवबाट क्रान्तिका विभिन्न मोडहरू, सामाजिक राजनीतिक  आर्थिक र सांस्कृतिक क्षेत्रमा आएका परिवर्तनहरूको जानकारी पाउन हामीलाई थप सहयोग मिल्छ । सम्बद्ध कमरेडहरूले अवश्य लेख्नुपर्छ र यसलाई सम्बद्ध कमिटीमा बुझाउन पर्छ । आवश्यक परे कमिटीरूले यसलाई सम्पादन गरेर प्रकाशमा ल्याउनेछन् । यसलाई विभिन्न रूपमा उपयोग गर्न सकिन्छ । हामीले जेलबाट छुटेर आएका र सार्वजनिक जीवन बिताइरहेका  पुराना कमरेडहरूलाई यथेष्ट सहयोग तथा सम्मान गर्नुपर्छ । खासगरेर हाम्रो पार्टी, जनवर्गीय सङ्गठनहरू र शुभचिन्तकहरूले यस्ता वृद्ध कमरेडहरूलाई बस्नेखाने उचित व्यवस्था , स्वास्थ्योपचार, हिँडडुल र दैनिक समस्या हल गर्न, आर्थिक सहयोग प्रदान गर्नुपर्छ तथा अन्य समस्या हल गर्न सहयोग पुर्याउनु पर्छ ।

खुला गतिविधिमा थुप्रै वयोवृद्ध कमरेडहरू लाग्नुभएको छ ।  । उहाँहरूमध्ये कतिपयले केन्द्र तथा राज्य तहमा जनवर्गीय सङ्गठनहरूको नेतृत्व पनि गरिरहनुभएको छ । कुनै खास संस्थाको नेतृत्व तहमा नरहेको भए पनि कतिपय वृद्ध कमरेडहरूले जनस्तरसित सम्बन्ध बनाएर काम गरिरहनुभएको छ । केन्द्रीय समितिको बैठकमा निर्णय भएअनुसार भूमिगत जीवनबाट खुलाजीवनमा आएको नभए पनि आन्दोलनमा निरन्तर लागेका पुराना अनुभवी कमरेडहरूका समस्या समाधान गर्न हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले उहाँहरूको स्वास्थ्य र अन्य समस्याप्रति चासो राख्नुपर्छ र सक्दो सहयोग गर्नुपर्छ ।

जेलमा रहेका वृद्ध कमरेडहरूका सम्बन्धमा पनि हामीले यही धारणा बनाउनु पर्छ । भूमिगत होस्, जेलमा होस्, उमेर, स्वास्थ्य र काम गर्ने क्षमतामा समस्या आउन थालेपछि हामीले उहाँहरू अब कुन क्षेत्रमा काम गर्न सक्नुहुन्छ होला भनेर जिम्मेवारीका विषयमा ध्यान दिन थाल्नुपर्छ  । बडो उत्साहका साथ विगतमा क्रान्तिलाई सहयोग गरेका तर, उमेर, स्वास्थ्य, मानसिक दशा, घाइतेस्थिति र अन्य यस्तै किसिमले अशक्त बनेका कमरेडहरूलाई हामीले गम्भीरतापूर्वक सघाउनुपर्छ र उहाँहरूबाट सहयोग लिनुपर्छ । यो तलका कमिटीको मात्रै कुरा नभएर केन्द्रीय कमिटी र सबै क्रान्तिकारी तह र तप्काले जिम्मेवारी बोध गर्ने विषय हो । किनभने यो जनतासित जोडिएको विषय हो ।

जनुसुकै क्षेत्रमा काम गरे पनि  लामो र विशिष्ट अनुभव भएका हाम्रा अनुभवी वृद्ध कमरेडहरू हाम्रो पार्टी र क्रान्तिकारी आन्दोलनका सम्पति हुन् । उहाँहरूको सैद्धान्तिक ज्ञान र प्रतिबद्धताले पार्टीलाई सही बाटोमा राख्न सहयोग मिल्छ । उहाँहरूको अनुभवले पार्टीलाई थप अगाडि बढाउन मद्दत पुग्छ । त्यसैले उहाँहरूको सम्मान र सुरक्षा गर्ने काम पार्टीको महत्वपूर्ण दाइत्व हो । वयोवृद्ध कमरेडहरूले पनि आफ्नो फेरिएको स्थितिलाई क्रान्तिको आरोहअवरोहको अवस्था र वस्तुगतस्थितिले उत्पन्न गरेका परिणाम ठान्दै पार्टी अनुशासनको पालना तथा अन्य कम उमेरका कमरेडहरूसित सुमधुर सम्बन्ध बनाइ राख्न सहयोग गर्नुपर्छ । उहाँहरूमा कम्युनिस्ट स्पिरिट  र आदर्श हुनैपर्छ  र क्रान्तिलाई अग्रगति दिन आफ्नो अमूल्य अनुभवको लगानी गर्ने प्रतिबद्धता हुनुपर्छ । उहाँहरूले कम्युनिस्ट चेतनाको निर्बाह गर्दै अरू कुनै व्यक्तिगत कुराको आशा नगरी निस्वार्थ रूपमा आफनो जिम्मेवारी बहन गर्नुपर्छ । यो नै उहाँहरूको पछिसम्मको  जिम्मेवारी हो ।

अनि मात्र उहाँहरू आफ्नो जीवनसहित सबै किसिमका व्यक्तिगत स्वार्थको वलिदान दिनसक्नु हुन्छ र पार्टी, जनसेना, जनसङ्गठनहरू र नयाँ जनवादी क्रान्तिका अन्य अङ्गउपाङ्गको स्पिरिट र आवश्यकता पूरा गर्न सक्षम हुनुहुन्छ । सम्बद्ध वयोवृद्ध कमरेडहरूले आन्दोलनको हितलाई अगाडि राखेर  बोल्सेविक स्पिरिटका साथ पार्टीको केन्द्रीय समितिको निर्णयलाई अवश्य पनि ग्रहण गर्नुहुने छ ।

Comments

comments

SHARE