लेखक

-रोजबहादुर तामाङ (च्याङ्बा)

मानव सभ्यताको विकास क्रममा ढुंङ्गे युगबाट कृषि युग हुँदै कष्ठा युग सम्म आइपुग्दा तामाङ जातिभित्रको मोक्तान थरको पनि संगसंगै विकास भएको हो भनि अनुमान लगाउन सकिन्छ । अहिले २१ औं शताब्दीमा आइपुग्दा नयाँ पुस्ताहरु पुर्खाको इतिहासको खोजीको क्रममा रहेका छन् ।

पङ्तिकार पनि विगतको वर्ष देखि तेहि तामाङ जातिभित्रको मोक्तन थरको खोजीको क्रममा रहेको छ । यसै क्रममा काभ्रेको तेमाल क्षेत्र काल्धारका मोक्तानको इतिहास र पुर्खाको बारे केहि अध्ययन गर्ने मौका पाए । सोही अनुरुप कल्धार, कापढुङ्ग र गगाल हुँदै कुलेखानीसम्म पुगेर मोक्तानको इतिहास बोङ्रा खोर बारे बुज्ने मौका पाए ।

उत्पत्ति र नामाकरण    

मोक्तान थरको उत्पत्ति मुकु ग्याल (मुकु ग्याल्सा)मा नै भएको हो भन्ने कुरा प्रस्ट छ । मुकु ग्याल्सा अहिलेको मुगु जिल्ला नै हो भनेर बुढापाकाहरुले भन्ने गरेको पाइन्छ । यसरी बुढापाका र दोङह्राप लगायतका ग्रन्थहरुमा मोक्तानको उत्पत्ति मुकुु ग्याल्सामा नै भएको हो भनि लेखिएको हामीले भेट्न सक्दछौँ भने हाम्रो अनुमान पनि गलत हुन सक्दैन जस्तो लागिरहेको छ ।

मोक्तानहरु म्हेमे सेम्छ्यु रेम्बोर्जे र माम छ्यामजीमोको सन्तान भनिएता पनि फारपमा भने भेटिँदैन । फारपमा भने म्हेम्हे आंगु चितोङ ग्याल्पो(राजा)का सन्तान हुन् भन्ने प्रष्ट बुझिन्छ । मुकुुथान या मुकुतान भन्ने शब्दले नै कालान्तारमा मोक्तान भएको हो भनेर अनुमान लगाउनेहरु पनि धेरै पाइन्छ ।

मुकु ग्याल्सा, मुकुथान, मुकुतान शब्द नै कालान्तारमा अपभ्रंश भएर (मुकु–गाउँ ठाउँको नाम, थान–स्थान, ठाउँ) मुकुतान, मुक्तान, मोक्तान भएको देखिन्छ । अहिले पनि कतिपय मोक्तानहरुले मुक्तान नै लेखेको पाईन्छ ।       मोक्तानहरुको चार ओटा खोर प्रचलनमा रहेको पाइन्छ । मोक्तानहरुको खोर निम्नानुसार छन् ।

१. चन्द खोर 

२. बोङ्रा खोर 

३. च्युप्साङ खोर 

४. बाप्साङ खोर 

मोक्तानहरुको खोर भित्रको बोङ्रा खोरको एक इतिहास

मोक्तानहरु म्हेम्हे आंगु चितोङ ग्याल्पो(राजा)का सन्तानहरु नै हुन् भन्ने प्रष्ट छ । लाब्ताबाहरुले म्हेम्हे दाङ, साङसेरक्याम गर्दा यी शब्दाहरुको प्रयोग गर्दै आएको पाइन्छ ।

“नाम्ला म्हेम्हे ङवाला च्यान्दा

ग्याल्ना बाब्ना ग्याल्छो

लुन्ना बाब्ना लुन्छो

म्हेम्हे आंगु चितोङ ग्याल्पो

ङ्यारी छेगाई म्हेम्हे”

चाहा राहासे म्हेमेताङ राहासे

म्हेमे चक्र दिङदिङ

म्हेमे म्हेमे दिङग्युई बोन (बोन्दा)

म्हेमे कुसुम्ट् बोन

म्हेमे छिसुम्ट् बोन

म्हेमे स्हाङसिङ रुष्टा बोन

म्हेमे सुना ह्रेन्जेन बोन

म्हेमे सार्मा (म्हुनसिङ) बोन

म्हेमे बारा साही म्हेमे कृष्ण साही

म्हेमे धाना साही

म्हेमे माना साही

म्हेमे राना साही

म्हेमे कुपिन्त साही

म्हेमे पासान साही

म्हेमे छिसान साही

म्हेमे रातान साही

म्हेमे म्हुन्सीङ बोन

म्हेमे लोम्पो देउ

म्हेमे सीवा दास्

मानव सभ्यताको विकास पश्चात् मानिसहरु एक ठाउँबाट आर्को ठाउँमा बसाई सर्ने क्रममा मुगु ग्याल्साबाट म्हेम्हे आंगु चितोङ ग्याल्पो(राजा)का सन्तान पनि मुकुु ग्याल्साबाट ग्यानकलिङ (पश्चिम)मा बसाई सरेको र केही म्हेमेहरु भने तिब्बततिर बसाइ सरेर गएको भन्ने गरिन्छ । अहिले पनि तिब्बत तिर मुकुतानहरु रहेको पाइन्छ । त्यहाका मुकुतानहरुले अहिले पनि बोनलाई नै मान्दै आएको छ भनेर खेन्पो तेन्डु ग्याल्छो बताउनु हुन्छ ।

यसै क्रममा ग्यानकलिङ हँुदै बसाइ सर्दै–सर्दै म्हेम्हेहरु विभिन्न ठाउँहरुमा बसाई सर्न थाले । पछि ग्यानकलिङबाट पनि केही म्हेमेहरु बसाई सर्न थाले । सोही क्रममा ग्यानकलिङबाट एक जना म्हेमे गगालमा बसाई सरेर आउनु भएको हो भनेर अहिलेका म्हेमेहरुले भन्ने गरेको पाईन्छ । युग परिवर्तनसंगै मानिसको संख्या पनि बढ्दै जान थाल्यो ।

त्यसै गरी एक ठाउँबाट बसाइसराई गर्ने क्रम झन बढ्दै गएकोे पाइन्छ । बसाइसराई कै क्रममा गागलबाट दुई जना म्हेमे कुलेखानीतिर लाग्नु भयो भने अर्काे एक जना म्हेमे म्हुन सिङ बोन कापढुङ्गामा आएर बस्न थाल्नुभयो । यसरी नै केही म्हेमेहरु गहतेतिर पनि बसाई सरेको र त्यहाँबाट बुढाखानीतिर बसाई सरेको र अहिले त्यहाँका मोक्तानहरु पनि म्हेमे म्हुन सिङ बोन कै सन्तानहरु हुन ।

कापढुङ्गामा नै रहनुभएका म्हेमे पूर्व देउ एक व्यापारी थिए । उनी सधँै पूर्वतिर मात्रै व्यापार गर्दथे । व्यापार गर्न पूर्वतिर मात्रै गएका हुनाले सबैले उहाँलाई पूर्व देउ नामले चिन्दथे । उहाँको व्यापार पूर्वतिर फस्टाउँदै जान थालेपछि मेच्छेका स्याङ्बास्या माम बिहे गर्नुभयो । स्याङ्बास्या मामको कोखबाट सिवा दास म्हेमेको जन्म भयो । सिवा दास बाल्यावस्था हुँदा बुवा(पूर्व देउ)को मृत्यु भएको र बिहेमा मामको चार दाम नगरेको हुँदा पुर्व देउ म्हेमेको मृत्यु पश्चात स्याङ्बास्या माम आफ्नो छोरा सिवा दासलाई लिएर माइतमै गएर बस्न थाल्नु भयो ।

स्याङ्बास्या माम माइतमै रहेका बेला कुरुवासका स्योङ्तान(दोङ) म्हेमे उहाँलाई हेर्न आउनुभयो र शुरुमा बिहे गर्नका लागि फकाउनु भयो तर स्याङ्बास्या मामले मान्नु भएन । माइतमा दाजुभाई सबैले सम्झाइ–बुझाई गरेपछि मान्नु त भयो तर एउटा यस्तो शर्त राख्नु भयो कि ङाला च्यानगी मुला, ङला थे च्यान्दा ह्रि पिन्खाम्ला कि आखाम् ?

(मेरो एउटा बाघ छ, मेरो त्यो बाघलाई  बासस्थान (जंगल) दिना सक्छ कि सक्दैन ?) मामको त्यो प्रस्तावलाई कुरुवासको स्योङ्तान म्हेमेले स्विीकार्नु भयो र भन्नु भयो “लेख जगत बेशी बगार” आधा–आधा दिन्छु भनेपछि मामले बिहे गर्न तयार हुनु भयो । स्योङ्तान म्हेमेसंगको बिहेपछि छोरा सिवा दासलाई पनि संगै लिएर कुरुवासमै गएर बस्न थाल्नुभयो ।  फेरि मामको कोखबाट लखन देउको जन्म भयो ।

पछि म्हेमे पूर्व देउका छोरा म्हेमे सिवा दासले भोज्र्याङको दोङस्या माम बिहे गर्नुभयो । स्योङ्तान म्हेमे पट्टिको छोराको युवा अवस्थामै लखान देउको मृत्यु भएको थियो । त्यस समय लखन देउको बिहेको कुरा चलरिहेको र बिहे गर्न नपाउदै मृत्यु भएको थियो । लखान देउ स्योङ्तान म्हेमेको एक्लो सन्तान थिए ।

सिवा दास म्हेम्हेकोे बिहेपछि उहाँलाई काल्धार गाउँको पारी भोज्र्याङ पट्टिको पाखामा घडेरी छुट्याएर दिएका थिए । हाल त्यस ठाउँलाई म्हेमेको घडेरीगाङ भन्ने गरिन्छ । पछि उहाँले जंगल फडानी गरेर हालको काल्धारमा आएर बस्न थाल्नु भयो भनेर अहिले बुढापाकाहरु भन्ने गर्नु हुन्छ । अहिले कल्धारमा रहेका सबै मोक्तान सिवा दास म्हेमेकै सन्तान हुन् । अहिलेसम्म सिवा दासका सन्तानले १७ पुस्ता पुगेको छ ।

लगभग काल्धारमा मोक्तानहरु बस्न थलेको ५ सय बर्ष जति भएको अनुमान गर्न सकिन्छ । १६ शताब्दीको अन्त्यतिर यहाँ बसाई सारेर आएको अनुमान लगाउन सकिन्छ । अहिले पनि “ह्रुईरी बाप्पा ह्रुइगी फोला” लाई मान्दै आइरहेको पाईन्छ । यहाँ कुलपूजा गर्दा लाब्ताबा नै चहिन्छ । यहाँका मोक्तान पुरुषहरुले सुंगुरको मासु खानु, छुनु त के सुंगुरको दिसा समेत कुल्चिनु हुदैन भन्ने मान्यता राख्छन् । पछिल्लो समय यहाँबाट पनि बसाइ सरेर बिभिन्न ठाउमा गएको देखिन्छ ।

केहि म्हेमेहरु भोज्र्याङ, कोल्चे ल्होङ्साल, भिमखोरी, रामपुर, सिन्धुली र लालबन्दीसम्म गएको र केहि म्हेमेहरु भने  भारतसम्म पनि बसाइ सरेर गएको पाइन्छ भनेर अहिले म्हेमेहरुले भन्ने गर्नु हुन्छ । यसलाई डकुमेन्ट्रीको रुपमा एक भिडियो नै बनाउन सकियो भने मोक्तानहरुको इतिहासलाई सुरक्षित राख्न सकिन्थ्यो भन्ने लाग्छ ।

(यो लेख काल्धार, कापढुङ्गा, गगाल र कुलेखानीका म्हेमेहरुसंगको कुराकानी र मोक्तानहरुको फारपमा आधारित छ ।) 

 

Comments

comments

SHARE