२८ चैत, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए ।

संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’

अर्को एक प्रसंगमा सभामुख महराले दुई वर्षभित्रमा संसदको आफ्नै भवन हुने बताए । उनका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्नेछ । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भैसकेको उनले बताए । भवन निर्माणका प्राबिधिक काम शुरु भैसकेको सभामुखले बताए ।

सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै कानूनहरु बनाइसक्नु परने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग कुरा भैसकेको बताए ।

उनले संसदको रिपोर्टिङ गर्ने पत्रकारको सुबिधाका लागि आफूले सघाउने बताएका छन् ।