परापूर्वकालदेखि काठमाडौं उपत्यका र त्यस वरपरको भूगोलमा आदिम थलो बनाएर बसेका तामाङ जातिको त्यही भूमिमा तामाङ भाषा, संस्कृति, काअीरनका गाथाहरु बनेको तथा आस्थाका ज्योहो÷ज्योमोहरुको उत्पति भई भिन्न विशिष्ट साँस्कृतिक विरासत कायम रहेकोमा त्यसलाई चीरकालसम्म निरन्तरता दिनुपर्छ भन्ने कुरामा सामूहिक प्रतिवद्धता जनाउँदै,

एकात्मक तथा केन्द्रीकृत हिन्दू राज्यसत्ताद्वारा तामाङ समुदायमाथि जाति, भाषा, धर्म र साँस्कृतिक भिन्नता भएकै कारणले गरिएको ऐतिहासिक जातीय भेदभाव, अन्याय र हाल गणतन्त्रकालीन युगसम्म कायम असमानता तथा बहिष्करणलाई गम्भिरतापूर्वक मनन् गर्दै,

उत्पीडित तथा बहिष्कृत अवस्थामा रहेका तामाङ समुदायलाई सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक, धर्म निरपेक्ष नेपालमा ताम्सालिङ स्वायत्त प्रदेशको स्थापना गरी साझा शासनको अवधारणा अनुसार साझा हितहरुको प्रवद्र्धन र साझा भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दै,

२००७ सालको जनक्रान्ति, २०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०५२ बाट सुरु गरिएको सशस्त्र माओवादी जनयुद्ध हुँदै २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनसम्मका सबै न्यायिक आन्दोलनहरुमा तामाङ समुदायले निस्वार्थ रुपमा सहभागिता जनाई रगत बगाएको इतिहासको रक्तिम पानाहरुलाई पल्टाउँदै,

नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन, चिवतन घोषणापत्र तथा अग्रजहरुको प्राप्त सल्लाह÷सुझाव र यसअघि घेदुङको सचिववालय तथा राष्ट्रिय कार्यकारिणी समितिले गरेको निर्णयहरुलाई समेत समेट्दै,

२०६२÷६३ को दोस्रो जनआन्दोलनको सफलतापछि नेपाल तामाङ घेदुङ र ताम्सालिङ संयुक्त संघर्ष समितिले संयुक्त रुपमा सञ्चालन गरेको न्यायपूर्ण आन्दोलनबाट २०६५ चैत २९ गते नेपाल सरकार र ताम्सालिङ संयुक्त सङ्घर्ष समिति बीच भएको १९ बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गरिनुपर्छ भन्ने अडान दोहो¥याउँदै,

नेपालको संविधान २०७२ मा नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ भन्ने यस देशको बहुल विशेषतालाई सम्बोधन गरिएको मूल प्रस्तावनालाई मनन् गर्दैं,

इतिहासमा तामाङ समुदायमाथि भएको यसप्रकारको विभेद, शोषण, असमानता र ऐतिहासिक अन्यायबाट उन्मुक्तिका लागि संसारका तामाङहरुलाई संगठित गरी अघि बढ्न स्थापित एकमात्र साझा राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलाई समयानुकूल चलायमान र गतिशिल बनाउनका लागि यसको सांगठनिक संरचना अझ बलियो बनाउने अठोट गर्दै,

नेपाल तामाङ घेदुङको ६१ बर्षको इतिहासमा २०१३ देखि २०४७ सम्म विकास र एकीकरणको प्रथम चरण, २०४८ देखि २०५८ सम्म नीति÷कार्यक्रम निर्माणको दोस्रो चरण र २०५९ यता कार्यान्वयनको तेस्रो चरणमा प्रवेश गरेको भनि राकास बैठकको निष्कर्षलाई स्मरण गर्दै,

राज्य समुदायभन्दा भिन्न पहिचान भएकै कारण तामाङ समुदायमाथि यसखालको अन्याय र विभेदलाई निरन्तरता दिइरहने हो भने अस्तित्व रक्षाको खातिर संगठित रुपमा अन्तिम संघर्ष गर्नुको विकल्प नरहेको भन्ने सम्भावित सत्यलाई स्वीकार गर्दै,

हामी नेपालका तामाङ आदिवासी जनजातिहरु संसारको जुनसुकै कुनामा छरिएर रहेको भएपनि अबका दिनमा विगतको गल्ती र कमि÷कमजोरी नदोहो¥याउने कटिवद्धताका साथ ऐतिहासिक राष्ट्रिय विधानसभाबाट सांगठनिक संरचनालाई संघात्मक ढाँचामा ढाल्दै निम्न बमोजिमको सामूहिक प्रतिवद्धताका साथ नेपाल सरकार समक्ष हाम्रो पछिल्लो साझा मागहरु सहित यो कोन्ज्योसोम घोषणा–पत्र २०७४ जारी गर्दछौ ः

(क) विधानसभाबाट परिमार्जित घेदुङको सांगठनिक संरचना: 

१. नेपालको राज्य प्रणाली एकात्मक, केन्द्रीकृतबाट संघीय प्रणालीमा गएको र तीनै तहको निर्बाचन सम्पन्न भई पूर्ण रुपमा संघीयता कार्यान्वयन भइसकेको वर्तमान विशिष्ट परिस्थितिमा नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशनको निर्णय अनुरुप २०७४ चैत २३ र २४ गते ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका स्थित चौघरेमा सम्पन्न ऐतिहासिक राष्ट्रिय विधानसभाले पारित गरे अनुसार विधानत घेदुङको सांगठनिक संरचना संघीय ढाँचाको हुनेछन् ।

२. राष्ट्रिय विधानसभाबाट परिमार्जित विधान अनुसार नेपाल तामाङ घेदुङको चारवटा संरचनाहरु संघीय कार्यसमिति, प्रदेश कार्यसमिति, प्रदेश, स्थानीय तह (गाउँपालिका÷नगरपालिका) कार्यसमिति, वडा कार्यसमिति तथा विदेश स्थित कामको सिलसिलामा अस्थायी बसोबास गरिरहेका तामाङहरुको संगठन प्रवास कार्यसमितिको रुपमा रहनेछन् । यसअघि गठित जिल्ला कार्यकारिणी समितिहरु जिल्ला समन्वय समितिको रुपमा रहनेछन् तर जिल्ला समन्वय समितिको काम, कर्तब्य, अधिकार र प्रतिनिधित्व नवौ संघीय महाधिवेशनसम्म यस अघि तोकिएकै जिम्मेवारीको रुपमा रहनेछन् ।

३. पारित विधान अनुसार नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यकारिणी समितिलाई संघीय कार्यसमिति र केन्द्रीय सचिवालयलाई संघीय सचिवालय भनिनेछ भने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः संघीय अध्यक्ष, संघीय उपाध्यक्ष, संघीय महासचिव, संघीय सचिव, संघीय कोषाध्यक्ष र संघीय सदस्य भनिनेछ ।

४. नेपाल तामाङ घेदुङले स्थापित गरेको मूल्य÷मान्यता तथा मूल विधानसँग नबाझिने गरी तामाङ समुदायको राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा आर्थिक विकासको लागि सांगठनिक संरचनाको सबै तहले तामाङ विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन् ।

(ख) हाम्रो सामूहिक प्रतिवद्धताहरु:

१. नेपालमा विभिन्न चरणको आन्दोलनहरु सम्पन्न भई जनताको इच्छा र चाहना बमोजिम संघीय, लोकतान्त्रिक, धर्म निरपेक्ष, गणतन्त्र नेपालको स्थापना भएपनि तामाङ जनताले परिवर्तनको प्रत्याभूति गर्न नपाइरहेको विद्यमान परिस्थितिप्रति गम्भीरताका साथ छलफल गर्दै अबका दिनमा तामाङ समुदामाथि राज्य वा गैर राज्यपक्षबाट हुने सबैखाले उत्पीडन, विभेद, शोषण, अन्याय र मानवअधिकार विरोधी क्रियाकलापको बिरुद्ध हामी संसारका तामाङहरु एकठाउँमा उभिनेछौ ।

२. ताम्बा, लामा र बोन्बोवादको मिश्रित रुप नै तामाङ सभ्यता भएकोले ती ऐतिहासिक धरोहरहरुको समान ढंगबाट संरक्षण÷सम्बर्धन गर्दै तामाङ साँस्कृतिक विरासतलाई कायम राख्न नेपाल तामाङ घेदुङद्वारा स्थापित मूल्य÷मान्यता तथा समय समयमा संस्थागत रुपमा गरिने ऐतिहासिक निर्णयहरु अक्षरश पालना गर्नेछौ ।

३. तामाङ समुदायले लामो समयदेखि नेपालको संघीय राज्य ब्यवस्थामा विश्व ब्यापी मान्यतालाई समेत ध्यान दिँदै साझा र मौलिक पहिचानको आधारमा ताम्सालिङ प्रदेश निर्माण हुनुपर्छ भन्दै शान्तिपूर्ण संघर्ष गर्दै आएको भएपनि नश्लीय राजनीति हावी भई त्यस्तो हुन नसकेको र ताम्सालिङ प्राप्त नभएसम्म तामाङ पहिचानको सुनिश्चितता हुन नसक्ने ठहर गर्दै यसको लागि दबाबमुलक र चेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

४. नेपाल तामाङ घेदुङ संसारभरि छरिएर रहेका समस्त तामाङ समुदायको एकमात्र राष्ट्रिय सामाजिक संगठन भएको हुँदा यसले स्थापित गरेको मूल्य÷मान्यतामाथि वा सांगठनिक रुपमा हुनसक्ने सबैखाले बााह्य हस्तक्षेप र दलीय राजनीतिकरणको अन्त गरी घेदुङलाई साझा संस्थाको रुपमा अझ सुदृढ र ब्यवस्थित ढंगबाट विकास गरेर लानेछौ ।

५. तामाङ समुदायको भाषा, लिपि, भेषभूषा, बौद्ध धर्म र मौलिक संस्कृति प्रवद्र्धन गर्दै तामाङ जातिको न्यायपूर्ण अधिकारमूखी सामाजिक÷साँस्कृतिक आन्दोलनलाई पूर्णता दिन र तामाङ एकतालाई मजवुत बनाउनका लागि आन्तरिक तथा बाह्य सहयोग जुटाई गाउँ केन्द्रीत तामाङ जागरणका सचेतनामूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्नेछौ ।

६. नेपाल तामाङ घेदुङको सांगठनिक संरचना विधानसभाले पारित गरे अनुसार संघीय प्रणालीको हुने भएकोले नेपालको तामाङ बसोबास रहेको भूमिमा स्थानीय तहको वडा तहसम्म संगठन निर्माण गरी तामाङ विकासको लागि घेदुङले अघि सारेको आर्थिक कार्यक्रममा आधारित सहकारीलाई जोड्नेछौ र घेदुङलाई तामाङको सुःखदुःखको साथी संस्थाको रुपमा विकास गर्नेछौं ।

७. नेपाल तामाङ घेदुङको विभिन्न तहमा क्रियाशिल हामी समस्त तामाङ अभियन्ताहरु घेदुङ जस्तो संगठनको जिम्मेवार पदमा रहेसम्म कुनैपनि दल वा लाभको पद लिई संस्थाको गतिशिलतामा बाधा पार्ने छैनौ ।

८. तामाङ समुदायको लागि केही गर्नको लागि फुटेर होइन, जुटेर मात्र सम्भव छ भन्ने हाम्रो निष्कर्ष रहेको हुँदा बिगतमा विविध कारणबाट घेदुङको आन्दोलनभन्दा बाहिर रहेका तामाङ अभियन्ता तथा तामाङ संघ÷संस्थाहरुसँग निरन्तर बहस, छलफल चलाई सबैलाई मूल धारको अभियानमा समेटेर अघि लानेछौ ।

९. तामाङ समुदायको हरेक दुःख, विपत्तीमा सहयोग पु¥याउन तथा समुदायगत आर्थिक समृद्धिको लागि हामी आफै सक्षम छौ भन्ने उदाहरणीय काम गरेर देखाउने अठोट ब्यक्त गर्दछौ ।

(ग) सरकार समक्ष हाम्रा मागहरु:

१. विगतमा राजनीतिक दलहरुले गरेको सहमति पहिचानको पाँच आधारहरु जातीय÷समुदायगत, भाषिक, साँस्कृतिक, भौगोलिक÷क्षेत्रगत तथा ऐतिहासिक निरन्तरता र इतिहासको सम्मान गर्नका लागि हाल कायम ३ नं. प्रदेशलाई संविधानको धारा २९५ (२) बमोजिम प्रदेश सभाबाट अविलम्ब ताम्सालिङ–नेवा प्रदेश नामाकरण गरियोस् । साथै यसअघि राज्य पुनसंरचना उच्च स्तरीय आयोगको प्रतिवेदन अनुसार ३ नं. प्रदेशको तामाङ ऐतिहासिक भूगोललाई ताम्सालिङ स्वायत्त प्रदेश निर्माण गरिनुपर्नेमा समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

२. संविधानको धारा ७ बमोजिम प्रदेशमा नेपाली भाषाबाहेक थप एकभन्दा बढी भाषालाई प्रदेशको सरकारी कामकाजी भाषा बनाउन सक्ने व्यवस्था अनुरुप ३ नं. प्रदेशको सरकारी कामकाजी भाषा यस प्रदेशका बाहुल्य समुदायले बोल्ने तामाङ भाषालाई तोकियोस् । नेपाली भाषा बाहेक अन्य समुदायले बोल्ने मातृभाषाको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि बहुभाषिक नीति अनुरुप ३ नं. प्रदेशका विद्यालय तथा विश्वविद्यालयहरुमा मातृभाषा शिक्षालाई अनिवार्य विषय बनाइयोस् ।

३. नेपालको मूल संविधानको भावना र आदिवासी अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजहरु आई. एल. ओ. महासन्धि नं. १६९ तथा आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्र अनुसार संघ तथा प्रदेश सरकारले ऐन, कानून, नीति नियम एवं कार्यक्रमहरु बनाउँदा तामाङ समुदायको अधिकार स्थापित गर्नका लागि आदिवासी जातिको स्वशासन, आत्मनिर्णयको अधिकार, प्राकृतिक स्रोत÷साधनमाथिको अधिकार, प्रथाजनित कानूनको संरक्षण र प्रवद्र्धन गर्ने तर्फ ध्यान दिइयोस् ।

४. २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षतिग्रस्त बनेका तामाङ समुदायको धार्मिक, साँस्कृतिक एवं सामाजिक धरोहरहरु गुम्बा, माने, स्तुपा, काङलिङ, पाटीपौवा आदिको प्राचिन स्वरुप तथा पूर्ववत् अवस्थामा पुनःनिर्माण गरियोस् ।

५. नेपाल संवैधानिक रुपमा धर्म निरपेक्ष घोषणा भइसके पनि विश्व अभ्यास विपरित धर्म निरपेक्षताको अपब्याख्या गर्नुका साथै मूल कानुनसँग बाझिने गरी ऐन, कानुन बनाई गाईको मासु खाएको आरोपमा निर्दोष तामाङहरुलाई ब्यक्ति हत्या तथा जेलमा सडाउने कार्यले हालसम्म निरन्तरता पाईरहेको हुँदा यसखालको कार्य तत्काल बन्द गरियोस् । मूल संविधानसँग बाझिने कानुन अविलम्ब खारेज गरियोस् ।

६. नेपालको संविधानले सबै भाषालाई राष्ट्र भाषाको मान्यता दिएपनि अझैसम्म जेल जीवन बिताइरहेका वा प्रहरी हिरासतमा रहेका कैदी बन्दीलाई आफन्त भेट्न जाँदा तामाङ भाषामा बोल्न नदिने पञ्चायती शैलीको ब्यवहार कायम रहेको हुँदा बिना रोकटोक भाषा प्रयोग गर्न दिइयोस् ।

 ७. नेपाल तामाङ घेदुङको आन्दोलन र मागबाट प्राप्त तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछारलाई दिँदै आएको एकदिने सार्वजनिक बिदा भर्खरै नेपाल सरकारले कटौती गरेकोमा सरकारको यो निर्णयप्रति तिब्र असहमति जनाउँदै उक्त सार्वजनिक बिदा तत्काल पुनस्र्थापना गरियोस् ।

८. काठमाडौं उपत्यका वरिपरि मूल थलो बनाएर बसेको भएपनि तामाङ समुदायको आर्थिक, शैक्षिक स्तर अत्यन्तै कमजोर रहेको हुँदा उनीहरुको स्वविकासको चाहनालाई ध्यान दिई ताम्सालिङ रिङरोड निर्माणको योजनालाई तत्काल पूर्णता दिन र ३ नं. प्रदेश केन्द्रित तामाङ विकास योजना अघि सार्न जोडदार माग गर्दछौं ।

९. नेपालको संविधानमा निर्बाचन प्रक्रिया लगायत राज्यको हरेक तहमा समावेशी÷समानुपातिक प्रतिनिधित्वको ब्यवस्था गरिने उल्लेखि भएपनि संविधानमा ब्यक्त प्रतिवद्धता अनुसार समानुपातिकको सिद्धान्तलाई ब्यबहारिक रुपमा कार्यान्वयन नगरिएको र पछिल्लो निर्बाचनमा यो प्रणालीको चरम दुरुपयोग भएकोले राज्यको हरेक अंग, तहमा तामाङ समुदायको जातीय जनसंख्याको आधारमा लैङ्गिक सन्तुलन समेत मिलाई समानुपातिक सहभागिताको सुनिश्चितता गरियोस् ।

अन्तमा, 

यो घोषणा पत्र हाम्रो प्रतिबद्धता पत्र पनि हो । तामाङ समुदायमाथिको विभेद अन्त्य गर्न इतिहासले सुम्पेको नयाँ जिम्मेवारी पूरा गर्ने अठोटका साथ हामी यसै घोषणा पत्र मार्फत् प्रतिवद्धता पनि जाहेर गर्दछौं र हाम्रा उल्लेखित न्यायपूर्ण मागहरु सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने पनि सुचित गर्दछौं । थुजेछे, फ्याफुल्ला ।।

२०७४ साल चैत २४ गते, कोन्ज्योसोम, ललितपुर । 

Comments

comments

SHARE