सर्वोच्चले साधारण तारेखमा छाड्ने आदेश गरेको भोलिपल्टै तामाङ पक्राउ

८ बैशाख, काठमाडौं । मानव बचेबिखन अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधरण तारेखमा छाड्ने आदेश गरेको भोलिपल्टै प्रहरीले पक्राउ गरेको छ । तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शुक्रबार साँझ डिल्ली बजार कारागार परिसरबाट पक्राउ गरेको हो ।

सर्वोच्चको फैसलापछि उनी शुक्रबार मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए । प्रहरीका अनुसार जिल्ला अदालतले उनीविरुद्ध गरेको फैसला कार्यान्वयन बाँकी नै रहेकाले उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध नुवाकोट जिल्ला अदालतले मानव बेचबिखन अभियोगमा ३७ वर्ष ६ महिना कैद सजायसहित दुई लाख ५० हजार जरिवाना सुनाएको छ ।

सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले अदालतको फैसला कार्यान्वयन हुन बाँकी नै रहेकाले उनलाई समातिएको बताए । उनले भने, ‘सुनबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध अदालतले गरेको फैसाल कार्यन्वय हुन बाँकी नै छ । त्यही क्रममा उनलाई पक्राउ गरिएको हो ।’

१० माघमा सर्वोच्च अदालतमा सुनबहादुर तामाङको हकमा छोरा प्रदीप तामाङले दायर गरेको बन्दी प्रत्यक्षकरण रिटमा न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सामान्य तारेखमा छाड्ने आदेश जारी गरेको थियो । प्रतिवादी तामाङका बाबुको नाम दुईवटा र ठेगाना दुई ठाउँमा देखिएपछि सोही व्यक्ति हो भनी एकीन गर्न सक्ने आधार नदेखिएको भन्दै तारेखमा छाड्न भनेको हो ।

मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । १० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए ।

तामाङविरुद्धको दोस्रो मुद्दामा दुई सय महिलालाई बेचेको अभियोगमा नुवाकोट जिल्ला अदालतले ९ चैत ०७४ मा सुुनबहादुरलाई ३७ वर्ष जेल सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना घयाङफेदी–४ र बाबुको नाम वीरबहादुर तामाङ छ ।

पुरानो मुद्दामा ठेगाना घ्याङफेदी–६ बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो । मानव बेचबिखनमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका थिए । –नयाँ पत्रिकाबाट