१० बैशाख, रोशी । माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा सहादत प्राप्त गरेका रोशी–९, पिन्थलीका कुलबहादुर तामाङ (क्षितिज)को १२ औं स्मृतिसभा सोमबार पिन्थलीमा सम्पन्न भएको छ ।

क्षितिज स्मृति प्रतिस्ठान, नेपालको आयोजनामा स्मृतिसभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मिमबहादुर वाईबा (ज्वाला)ले सहिद क्षितिजको बीरताको चर्चा गरे । जनयुद्धको अन्तिम समयमा सिन्धुपाल्चोकको सदरमुककाम चौतारा आक्रमणमा उच्च साहस प्रदर्शन गर्ने क्रममा जीवन आहुती दिएको केन्द्रीय सदस्य ज्वालाले बताए ।

‘हामी एउटै मोर्चामा लडेका थियौं । उहाँले तत्कालीन शाही सरकारको क्याम्पमा उच्च साहसका साथ धावा बोल्दै हुनुहुन्थ्यो ।’ ज्वालाले विगतलाई सम्झिदै भने– ‘विजयको संघारमा पुगेको बेला उहाँले उच्च सहादत प्राप्त गर्नुभयो ।’

चौतारा मोर्चापछि मुलुकमा ऐतिहासिक परिवर्तनको ढोका खोलिएकोले त्यो मोर्चामा वीरतापूर्वक लडेका सहिद क्षितिजको सहादत अरु सहिदहरुको भन्दा भिन्ना रहेको उनले बताए । माओवादी जनयुद्धको अन्तिम मोर्चामा सहदत प्राप्त गरेका सहिद क्षितिज लगायतका सहिदहरुको कारण मुलुकमा ऐतिहासिक परिवर्तन भएको उनले बताए ।

उनले महान सहिद क्षितिजले देखाएको बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

आजको परिवर्तन जनयुद्धले गर्दा भएको हो– बज्रध्वज

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) रोशीका पुराना नेता बज्रध्वज लामाले मुलुकमा आज जेजति परिवर्तन भएको छ त्यो सबै जनयुद्धको बलमा भएको प्रष्ट पारे ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने र एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउने जनयुद्ध नै भएको उनको तर्क थियो ।

‘जनयुद्ध नभएको भए केपी ओली बहुमत सहितको प्रधानमन्त्री हुने थिएन, त्यस्तै जनयुद्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने थिएन ।’ नेता लामाले भने– ‘जनयुद्धले यो गाउँमा एउटा महान मान्छे जन्माएको छ । सहिदको गाउँ भनेर चिनाउन पाउँदा हामीलाई खुशी लागेको छ ।’

चौतारा मोर्चाका महान सहिद क्षितिज

त्यसैगरि माओवादी केन्द्र रोशी गाउँ कमिटिका अध्यक्ष उज्ज्वल लामाले महान सहिद क्षितिजले बगाएको रगतले मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिर्पेक्षता, समानुपातिक समाबेशी जस्ता उपलब्धि भएको बताए ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सुमन तामाङले सहिदले देखाएको बाटोबाट विचलित नहुन पार्टीपंक्तिलाई सुझाब दिएका थिए । कतिपय अवस्थामा सहिद परिवार प्रति बेवास्त भएको महासुस आफूहरुले गरेको गुनासो गर्दै तामाङले ‘खोला त¥यो लौरो विस्र्यो’ झै नगर्न पार्टी र सरकारलाई अनुरोध समेत गरे । ‘सहिद राष्ट्रको हो, त्यसैले सहिदलाई पार्टी भन्दा माथि राख्नुपर्छ । सहिद भनेको सबैको हो ।’ उनले भने ।

फाउन्डेशनले शिक्ष र स्वास्थ्यमा जोडदिने

कार्यक्रमको अध्यक्षता समेत गरेका फाउन्डेशनका सचिव छेवाङ लामा (सनिल)ले क्षितिज स्मृति फाउन्डेशन, नेपालले विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका थिए ।

महान सहिद क्षितिजकै सहदतबाट मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको चर्चा गर्दै लामाले अबका दिनमा शिक्षा र स्वास्थ्याको क्षेत्रमा अघि बढ्दे बताएका हुन् ।

स्थापना कालदेखि नै फाउन्डेशनले विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएकोमा यस पनि निरन्तरता दिएको उनले बताए । जस अनुसार संस्थाले पिन्थलीमै रहेको श्री महाकाली कर्मदय प्राविलाई दुई वटा अफिस टेबुल प्रधानाध्यापक रत्न लामालाई हस्तान्तरण गरेको हो । त्यसैगरि लामाले महाकाली देवि कर्म दय प्रा.वि.मा कक्षा २ मा अध्ययनरत सामना दोङ तामाङलाई मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा सहिद क्षितिजका आमा बुबा र बेपत्ता योद्ध दावा लामा (गौरब)का आमा बाबालाई सम्मान समेत गरिएको थियो ।

स्मृतिसभामा पूर्व गाविस अध्यक्ष सलाम सिं लामा, समाजसेवी ज्ञानबहादुर लामा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

२०३६ सालमा आमा राम्री तामाङ र बुबा रत्न सिं लामाको कान्छो सन्तानको रुपमा जन्मेका महान सहिद कुल बहादुर तामाङ (क्षितिज) २०६२ बैशाक १० गते चौतारा मोर्चामा सहिद भएका थिए ।

Comments

comments