१३ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै गएको छ । कांग्रेस नेतृत्वजस्तै गुटबन्दी र आरोप नेवि संघभित्र पनि चर्किएको छ । संस्थापन पक्षविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थी नेताहरु एक देखिएका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा पनि पार्टी नेतृत्वजस्तै द्वन्द्व चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षभर विद्यार्थी नेताहरु एक देखिएका छन् । संघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै पौडेल र सिटौला पक्षधर विद्यार्थीहरुले सभापति शेरबहादुर देउवालाई छुट्टा–छुट्टै ज्ञापन पत्र बुझाइसकेका छन् ।

विवादकै कारण सार्वजनिक कार्यक्रम पनि एकैसाथ हुन छोडेको छ । राष्ट्रिय मेलमिलाप दिवस होस् वा नेवि संघको स्थापना दिवस गुटअनुसारका कार्यक्रम हुन थालेका छन् । दुवै पक्षले अध्यक्ष महरले विधान मिचेर काम गरेको आरोप लगाएका छन् । नेवि संघको निर्वाचन समयमै नगराउने रणनीतिमा अध्यक्ष महर लागेको असन्तुष्टहरुले जनाएका छन् । अध्यक्ष महर तयार नभए बहुमत जुटाएर महाधिवेशनको मिति तय गर्ने चेतावनी नेता पौडेल पक्षले दिएको छ ।

अध्यक्ष महरले चिठ्ठी लेखेर विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने, कानुनी सल्लाहकार तथा आमन्त्रित सदस्य नियुक्तिलगायत विधान बिपरित कार्य गर्दै आएको असन्तुष्ट पक्षको आरोप छ । कांग्रेस वा नेविसंघ नेतृत्वले नेवि संघलाई बन्धक बनाउन खोजे त्यसलाई सहेर नबस्ने सिटौला पक्षका विद्यार्थी नेता बताउँछन् ।

नेवि संघमा १ सय २९ निर्वाचित र २२ मनोनित गरी १ सय ५१ सदस्यीय केन्द्रीय कार्य समिति छ । यो नेतृत्वको कार्यकाल सकिन लाग्दा पनि अझै कार्य समितिले पूर्णता पाउन सकेको छैन् ।

Comments

comments