१५ बैशाख, काभ्रे । ‘विहाबर क्षेत्र पर्यटन महोत्सव २०७५’ शनिबार (आज)बाट प्याराग्लाइडिङ उडानबाट उद्घाटन गरिएको छ ।

कुशादेवी क्षेत्र सरोकार विकास समाजको आयोजनमा भएको महोत्सवमा काभ्रेको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहादुर तामाङले पाईलटहरुलाई खादा लगाएर स्वागत गर्दै महोत्सवलाई प्याराग्लाईडिङ उडानबाट उद्घाटन गरेको हो ।

तामाङले प्याराग्लाईडिङ पाईलट पेम्बा शेर्पा र मदन राई लगायतलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले पर्यटन विकासको लागि सबै एकजुट हुुनुपर्ने बताए । ‘यो ठाउँ विगत जनयुद्ध कालमा बन्दुक बोकेर आएको थिए, आज सरकारको प्रतिनिधी भएर आउँदा पर्यटन विकासको छुट्टै प्रचुर सम्भावना देखे ।’ उनले भने, ‘अब यसको विकास गर्न थप जिम्मेवारी बोध भएको महशुस भएको छ ।’ मुलुकमा आर्थिक सम्बृद्धिको आधारहरु मध्य पर्यटन विकास महत्वपूर्ण रहेको बताउँदै तामाङले अब आगामी बजेटमा समेत पर्यटन विकासको लागि बजेटको व्यवस्था गर्न आफू लाग्ने बताए ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले गुर्दुमडाँडा ब्यवसायिक प्याराग्लाईडिङ उडानको उपयुक्त ठाउँ भएको बताए ।

‘अहिले महोत्सव अबधिभर परीक्षण उडानको लागि मात्रै अनुमति लिएका छौं, त्यसपछि ब्यवसायिक उडान गर्न संस्था दर्ता भएपछि यो अगाडी बढ्छ ।’ प्रमुख न्यौपानेले भने । महोत्सवमा परीक्षण उडानको लागि १५ वटा प्याराग्लाईडिङ रहेका छन् ।

दूई हजार सात सय मिटरको उचाईमा रहेको उक्त डाँडाबाट हिमालका दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्र महाभारत श्रृंखलामा पर्ने भएकाले दूई सय ८० प्रजातिका चराचुरुङ्गीहरु, वन्यजन्तुहरुको बासस्थान रहेकाले पर्यटन क्षेत्रको विकासको लागि थप आकर्षणको केन्द्र बन्ने आधार रहेका छन् ।

महोत्सवको उद्घाटनमा झाँक्री नाच, लामा नाच, लगातयका स्थानीय बाजागाजा सहित कुशादेवी बजारदेखि गुर्दुमडाँडासम्म पैदल यात्रा गरेका छन् ।

त्यससंगै विहावर महोत्सवमा स्थानीय सामग्रीहरु कृषि उत्पादन, स्थानीय जडिबुटी, घरेलु उत्पादनका स्टलहरु राखिएका छन् ।

महोत्सवको दोस्रो दिन पनौती नगरपालिका वडा नं. ३ पशुपति मन्दीरबाट सिमलबोट, रानीकोट, लाकुरी भञ्ज्याङ, मानेदोभान हुँदै कुशादेवी मन्दीरसम्म हाल्फ म्याथुन हुने भएको छ भने तेस्रो दिन वडा नं. २ को कुशादेवी मन्दीरबाट पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठाभञ्ज्याङ, लाँकुरीभञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दीर हुँदै कुशादेवीसम्म साईकल यात्रा हुने आयोजकले जनाएको छ ।

१ लाख भन्दा बढिले महोत्सवको अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।

Comments

comments

SHARE