१५ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताउनु भएको छ । शनिवार अपरान्ह खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘ हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’ अध्यक्षले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउने कै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो ।’ दुईचार दिन समय लिएपनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उहाँको भनाई थियो ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको अध्यक्षले स्मरण गर्नुभयो । त्यसलाई माओवादी नेतृत्व र बिचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उहाँको भनाई थियो ।

‘त्यतिखेर केही साथीहरुले यो उपलब्धीलाई पचाउन सकेनन् र उनीहरुलाई बचाउन पनि सकिएन,’ उहाँले भन्नुभयो, ‘पहिलो संविधान सभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भईएन । हाम्रा विरोधीहरु माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए । ’

माओवादीलाई फुटाएर परिवर्तनका मुद्धाहरुलाई लावारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भन्नुभयो । अब सबै छरिएर रहेका माओवादीहरु ढिलोचाँडो मूल पार्टीमा फर्कने उहाँको विश्वास थियो ।

उक्त कार्यक्रममा विप्लव समुहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताए ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ तथा पार्टी प्रवेश गर्नेहरुको नामावलीः–

नेपाल कम्युनिष्ट पार्टी, सिन्धुपाल्चोक

प्रेस विज्ञप्ति

२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी २०१९ सालबाट विभाजित हुन थाल्यो र यसले नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न धारमा विभाजित भयोे । त्यसैक्रममा २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्धको सुरुवात भए पश्चात माओवादी कम्युनिष्टहरु प्रति जनताको व्यापक ध्रुबीकरण सुरु भयो ।

२०६२÷०६३ मा अर्को धारको कम्युनिष्ट पार्टी नेकपा एमाले सहित सात राजनीतिक दलसँगको सहकार्यमा जनयुद्ध र जनआन्दोलनको समायोजन गरी नेपालको राजनीतिक क्रान्ति सफलतामा परिणत भयो । तर त्यसलाई संस्थागत गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढाउन नेतृत्व गर्नुपर्ने तत्कालिन एकीकृत नेकपा (माओवादी) विभिन्न धारमा विभाजन हुन थाल्यो ।
त्यसैक्रममा २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा विभाजित भएपछि २०७१ सालमा मोहन वैद्यबाट समेत नेत्र बिक्रम चन्दको नेतृत्वमा पार्टी विभाजन भई नेकपा गठन भयो । हामी त्यही पार्टीमा रहेर विभिन्न संघर्षमा सहभागी भयौं ।

कम्युनिष्ट शक्ति विभाजनको उदेक लाग्दो घटनाक्रम चलिरहेको सन्दर्भमा २०७४ सालको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पूर्व नेकपा (माओवादी केन्द्र) जनयुद्धको धार र नेकपा एमाले शान्तिपूर्ण संघर्षका धारका साथ अगाडि बढिरहेका देशका दुई ठूला मूलधारमा कम्युनिष्ट पार्टीहरु विकसित समृद्ध र समाजवादी राष्ट्र निर्माणको उद्देश्यसहित नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माणको उद्घोषका साथ अगाडि बढे पश्चात कम्युनिष्टको नाममा विभिन्न पार्टी खोलेर बस्नुको औचित्य समाप्त भएको छ ।

अर्कातिर हामी आवद्ध विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समात्न पुग्यो ।

हामी पूर्वाग्रहीयुक्त मानसिकताबाट ग्रसित नेतृत्वको क्रान्तिकारी नाराबाट होइन सुस्पष्ट बिचार र दृष्टिकोणसहित जनयुद्ध र शान्ति प्रक्रियाको समेत सफल नेतृत्व कमरेड प्रचण्डको एउटै कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी नेपाल निर्माण गर्ने महाअभियानमा साथ दिन उपयुक्त ठानी नेकपा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी कमरेड प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने निर्णय गरेका छौं ।

क्रान्तिको अतृप्त भोकको पछाडि दौडेर गन्तब्यहीन यात्रामा लाग्नु भएका सबै कमरेडहरुलाई समेत समाजवादी राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन आब्हान गर्दछौं ।
१५ बैशाख, २०७५

Comments

comments