विनयराज बज्राचार्य

बर्ष दिनका १२ वटा पूर्णिमाहरु मध्ये बर्षकै पहिलो बैशाष पूर्णिमाले विशेष महत्व राख्दछ। यस दिनको पूर्णिमा अन्य पूर्णिमाभन्दा अझ बढी पूर्ण, प्रकाशमय, शीतलमय अनि जाज्वल्यमान भए झैं अनि सारा जीवजगत मै एउटा नयाँ जागरण आएको प्रतीत हुन्छ।

बैशाष पूर्णिमा केवल चन्द्रमाको जीवन चक्रसँग मात्र सम्बन्धित नभएर यो तिथी, यो दिनमा आजभन्दा २६४० बर्ष अघि हाम्रै देश नेपालको पवित्र पावन भूमि लुम्बिनी उद्यानमा विश्वशान्ति नायक भगवान सम्यक संबुद्धको जन्म भएको थियो। २६०५  बर्ष अघि यसै दिन भगवान बुद्धले ३५ बर्षको उमेरमा भारतको बिहार राज्यमा पर्ने बोधगयामा जीवन मरणको भवचक्रबाट मुक्त हुन सकिने संबोधि ज्ञान अर्थात बुद्धत्व ज्ञान प्राप्त गरी सिद्धार्थ गौतमबाट भगवान बुद्ध हुनु भएको थियो भने आजभन्दा २५६० बर्ष अघि यसै दिन भारतको उत्तर प्रदेशमा पर्ने कुशीनगरमा वहाँको ८० बर्षको उमेरमा महापरिनिर्वाण हुनु भएको थियो। भगवान बुद्धका जीवनमा घटित यी तीनै घटना संयोगवश बैशाष पूर्णिमाको दिनमा भएकै कारण बैशाष पूर्णिमालाई त्रीसंयोग दिवस पनि भन्ने गरीन्छ। विशेषतः बैशाष पूर्णिमालाई विश्वभरी नै बुद्ध जयन्तीका रुपमा मनाउने गरीन्छ।

नेपालमा यस बिशेष महत्वको दिनलाई राजा त्रिभुवनले वि.सं.२००८ साल जेठ ७ गतेका दिनदेखि सरकारी तवरबाट सार्वजनिक विदा दिने घोषणा गरेका थिए भने २०१२ फागुन ७ गतेका दिन तत्कालीन राजा महेन्द्रले लुम्बिनी भ्रमण गरी बैशाष पूर्णिमाको दिन नेपालमा हिंसाकर्म पूर्णतः बन्द गर्न लगाएका थिए। वि.सं.२०५५ सालमा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनबाट पारित घोषणा पत्र अनरुप नेपाल सरकारले १३  बर्ष अघि नै बैशाष पूर्णिमालाई लुम्बिनी दिवसको रुपमा घोषणा गरी सके पछि नेपालमा पछिल्लो चरणमा यस दिनलाई लुम्बिनी दिवसका रुपमा मनाईंदै आएको पनि छ।

संयूक्त राष्ट्र संघले १३ डिसेम्बर १९९९ को दिनमा बैशाष पूर्णिमाका दिनलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरी हरेक बर्षको बुद्ध जयन्तीका दिन विश्वभर रहेका संयूक्त राष्ट्र संघका सबै कार्यालयहरुमा विदा दिंदै आएको छ।

नेपालमा सर्वप्रथम भोजपुरमा बुद्ध जयन्ती मनाइएको थियो। वि.सं.१८६३ मा पाटनबाट आएका सुन्दर शाक्यले भीमसेन टोल, तानसेनमा  चैत्य निर्माण गरि आनन्द विहारको स्थापना भएपछि तानसेनमा बुद्ध जयन्तीको शुरुवात भएको अनुमान गर्न सकिन्छ। तर यकिनका साथ भन्नु पर्दा वि.सं. १९७२ सालदेखि टक्सार टोलबाट बुद्ध जयन्ती रथयात्रा प्रारम्भ भएको देखिन्छ।

बुद्ध जयन्ती हाम्रो देश र दक्षिण पूर्वका बौद्ध राष्ट्रहरु चीन, भारत, भुटान, म्यानमार, थाईल्याण्ड, श्रीलंका, ताइवान, मंगोलिया, लावस आदि राष्ट्रहरुमा मात्र नभई अन्य युरोपीय पश्चिमेली राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, स्वीट्जरल्याण्ड, इटली, जर्मनी लगायतका राष्ट्रहरुमा पनि अत्यन्त श्रद्धा, आस्था र भक्तिका साथ मनाउने गर्दछ। फलस्वरुप भगवान बुद्ध नेपालमा जन्मेकै कारण हाम्रो गौरव बढेको हो र बुद्ध जन्मेको देश भनेर सगर्व चिनाउन सकेका छौं। कैयन देशका नागरिकहरु जीवनमा कम्तिमा एक पटक नेपाल आएर बुद्ध जन्मभूमि चुम्न लुम्बिनी पुग्छन् र बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउँदा आफूहरुलाई अहोभाग्य ठान्दछन्। उनको दर्शन, शिक्षा, उनको ज्ञान र ध्यान मार्गमा उन्मुख भैरहेका छन्।

भगवान बुद्धको धर्मले मानव जातिलाई हित पुर्‍याउने, सुख, शान्ति र आनन्दित तुल्याउने, शीतलता प्रदान गर्ने भएकोले नै यत्र तत्र सर्वत्र संसारभर फैलिएको हो। उनको धर्मले शत्रुभाव होइन मित्रभाव जगाउने, हिंसामा होईन अहिंसामा अभिप्रेरित हुन सिकाउने, युद्ध होइन शान्तिको चाहना गराउने, बाहिरी आवरणमा मात्र होइन अन्तर्मनसम्म सुख शान्ति दिने, लोभी होइन दानी हुन त्यागी हुन सिकाउने, जीवन र जगतको अनित्यता अनि दुखलाई स्वीकार्दै आइपर्ने सुखदुखलाई साक्षीभावले हेर्न सिकाउने, काल्पनिकभन्दा पनि यथार्थ भावलाई अंगिकार गर्न सिकाउने, मानवलाई मात्र नभै समस्त प्राणी जगतलाई समभावले, मैत्रीभावले हेर्न सिकाउने जस्ता सर्वहितकारी गुणहरु भएबाट बुद्धका शिक्षाहरु अनि उनको दर्शन सबैका प्रिय बन्न पुग्यो र विश्वभर अपरिहार्य धर्मका रुपमा अनवरत् रुपमा यत्र तत्र सर्वत्र फैलिएको हो।

बुद्धको शिक्षाको प्रमुख आधार दुख र दुख मुक्ति हो। बुद्धले मानव जीवन र जगतमा दुख छ, दुखका कारणहरु छन्, दुख हटाउन सकिन्छ र दुख हटाउने मार्गहरु पनि छन् भनेर बताउनु भयो। यही नै चार आर्यसत्य हुन्। यी चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्।

१) दुख सत्य : दुख सत्यको अर्थ सबै कुरा दुखदायी हुन् भन्ने सत्यलाई बुझ्नु हो। प्रत्येक कुरा परिवर्तनशील छ, यो प्राकृतिक नियम हो र यो नै परम दुख हो। जन्मनु, बृद्ध हुनु, रोगी हुनु, मृत्यू हुनु, मन नपर्नेसँग बस्न पर्नु, मन परेकोसँग बिछोडिनु, मनले चाहेको नपाउनु आदि आदि।

२) दुख समुदय : दुख समुदय सत्यको अर्थ हो दुखका कारण भन्ने बुझिन्छ र दुखका वास्तविक कारण भनेको हामी भित्रको लोभ, राग तथा आसक्तमय तृष्णा अर्थात स्वार्थी इच्छा हो। बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद अर्थात हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ। यस सिद्धान्त अनुरुप नै मानिसको जन्म मरणको चक्र चलि नै रहन्छ जसलाई प्रतित्यसमुत्पाद चक्र भनेर भनिन्छ। यस चक्रका बाह्र कडीहरु छन्। जसअनुसार १) जरामरण २) जाति(जन्म) ३) भव(अस्तित्व) ४) उपादान(अनुराग) ५) तृष्णा ६) वेदना ७) फस्स(स्पर्श) ८) षडायतन( ६ इन्द्रिय) ९) नाम रुप(मन र शरीर) १०) विज्ञान(चेतना) ११) संस्कार र १२) अविद्या(अज्ञानता)। यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुखबाट मूक्ति पाउन सक्दैन। दुख मूक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ।

३) दुख निरोध सत्य : दुख निरोध सत्य भन्नाले दुखको अन्तलाई बुझिन्छ अर्थात दुखलाई अन्त गर्न सकिन्छ भनेर बुझ्नु नै दुख समुदय सत्य हो। तृष्णा निर्मुल गर्न सकिएमा अर्थात समाप्त भएपछि मात्र दुखचक्रको अन्त हुुन्छ। दुखको मूल जड नै तृष्णा हो अर्थात् आशक्ति। आशक्ति जति गहिरो हुन्छ, दुख पनि त्यहि अनुसार नै गहिरो हुन्छ। अर्को अर्थमा भन्नु पर्दा मानिसको लिप्तता जेमा जति हुन्छ त्यसैका कारणबाट मानिस दुखको भूमरीमा रुमलिरहेको हुन्छ। मायाजाल, वासना आदिमा लिप्त हुनु, पदीय लिप्तता अनि धन प्राप्ती आदिको लिप्तताका कारण नै मानिसले अनेक किसीमका दुख भोग गरिरहेका हुन्छन्। तृष्णा निर्मुल गर्न सकिएपछि मात्र वास्तविक सुख प्राप्त हुन्छ जसलाई निर्वाण सुख भनिन्छ।

४) दुख निरोधगामिनी प्रतिपदा सत्य : दुख निरोधगामिनी प्रतिपदा सत्य भन्नाले दुख निरोध गर्ने अर्थात दुखलाई रोक्ने मार्ग जनाउँदछ। यस मार्गलाई आर्यअष्टा•िक मार्ग भनिएको छ। दुखबाट मूक्ति र वास्तविक सुखशान्ति पाउने यो सही एवं अचूक मार्ग भगवान बुद्धको मौलिक एवं महत्वपूर्ण आविष्कार हो। यसले मनलाई दरिलो र शुद्ध बनाउन बिशेष जोड दिएको छ। भगवान बुद्धले दुई अति मार्ग अर्थात अति सुख र अति दुख लाई त्यागी मध्यम मार्ग अपनाउनु पर्ने बताउनु भएको छ।

मध्यम मार्ग भनेकै आर्यअष्टा•िक मार्ग हो र यो मार्ग नै दुख मूक्तिको उपयूक्त मार्ग हो। यसमा सम्मिलित ८ मार्गहरुको इमान्दारीपूर्ण अभ्यासबाट नै दुखलाई अन्त गरी निर्वाण प्राप्त गर्न सकिन्छ। ती ८ मार्गहरु यस प्रकार छन्।

१. सम्यक दृष्टि अर्थात ठिक धारणा भन्नाले जुन वस्तु वा जीवनको प्रकृति जे जस्तो अवस्थामा छ त्यसलाई त्यहि रुपमा हेर्नु भन्ने बुझिन्छ। अर्को अर्थमा भन्ने हो भने प्रत्येक वस्तु, व्यक्ति तथा परिस्थितिको यथाभूत ज्ञान दर्शन नै सम्यक दृष्टि हो। कर्म र कर्मफल, ध्यानको महत्व, अनित्यता र यथार्थ बोध, क्लेश निर्मूल पार्ने मार्ग र निर्वाणको महत्वका बिषयमा ठिक धारणा बनाउनु नै बुद्ध शिक्षा अनुरुपको सम्यक दृष्टि हो। विपश्यना ध्यानबाट यसको अनुभूति गर्न सकिन्छ।

२.) सम्यक संकल्प अर्थात उचित संकल्प भन्नाले बहुजन हितका निम्ति खराब र दूषित विचारहरुबाट मूक्त भई राग, व्देष, मोह विनाको चिन्तन मनन्लाई बुझिन्छ।

३) सम्यक वचन अर्थात ठिक बोली भन्नाले सत्य, मधूर र संयमित वचनलाई बुझाउँदछ। झूठो, कटू शव्द सहितको कडा वचन, अनावश्यक निन्दाचर्चा, चूक्लि, गाली गलौज वचनदेखि टाढा भई नम्र बोली वचन नै सम्यक वचन हो।

४)सम्यक कर्मान्त अर्थात परिशुद्ध कर्म भन्नाले मन, वचन तथा शरीरबाट अरुलाई दुख हानी नहुने किसीमले गरिने ठिक, शुद्ध एवं उदार सही कर्मलाई बुझाउँदछ। मूख्यतः प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगने आदि कर्महरु यसमा पर्दछन्।

५)सम्यक आजिविका अर्थात सही जीविकाको अर्थ जीवन जिउने क्रममा अथवा आफ्नो अनि परिवारको भरण पोषणका लागि कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धोखा नहुने गरी, शोषण, अन्याय अथवा हानी नहुने गरी कुनै काम, पेशा, व्यापार व्यवसाय गर्नु भन्ने बुझाउँदछ।

६)सम्यक व्यायाम अर्थात ठिक प्रयत्न भन्नाले निरन्तर रुपमा आफ्नो चित्तलाई सदैव सचेत भई अवगुण र दुर्गुणबाट विमूख गराउँदै सद्गुण तर्फ अग्रसर गराउने मानसिक प्रयासलाई बुझाउँदछ।

७)सम्यक स्मृति अर्थात उचित स्मृति भन्नाले हर घडीमा आफ्नो शरीर तथा चित्तमा हुने संवेदना अर्थात अनुभूति प्रति सजग रहेर विना रागव्देष समभावमा रहिरहने अवस्थालाई बुझाउँदछ। यसले हाम्रो चित्तलाई शान्त गराउन मदत मिल्दछ। विपश्यना ध्यान अभ्यासबाट सम्यक स्मृतिको विकास गर्न सकिन्छ।

८)सम्यक समाधी अर्थात ठिक एकाग्रताः कुनै किसीमको प्रतिक्रिया विना समता भावमा बसेर अनित्यतालाई बुझेर आफ्नो चित्तलाई निर्मल तुल्याउने विपश्यना ध्यानाभ्यास नै सम्यक समाधी हो। सम्यक समाधी आर्य अष्टा•िक मार्गको महत्वपूर्ण मार्ग हो। यसको निरन्तर अभ्यासबाट नै हामीले आफ्नो मनलाई शान्त, बलियो र निर्मल बनाउन सक्दछौं।

भगवान बुद्धद्वारा प्रतिपादित यो आर्य मार्ग विज्ञान सम्मत छ र यो सत्य मार्ग केवल बौद्धमार्गीहरुले मात्र नभई जीवनमा दीगो सुख शान्ति र आनन्द चाहने जो कोहीले पनि अभ्यास गर्न सक्दछ र यसको अभ्यासबाट जो कोहीले पनि दुख, सन्ताप र अशान्तिबाट छुटकारा प्राप्त गरी निर्वाण सुख पाउन सक्दछ। त्यसैले भगवान बुद्धद्वारा प्रतिप्रादित चार आर्यसत्यलाई अन्तरह्दयदेखि बुझौं र वहाँबाट निर्देशित शिक्षालाई जीवनमा उतार्र्दै परिवार, समाज अनि राष्ट्रलाई सकारात्मक उर्जा प्रदान गरा,ैं गर्न सकौं। अन्तमा, सम्पूर्णजनलाई आज २६४० औं बुद्ध जन्मजयन्ती, लुम्बिनी दिवस, २६०५ औं सम्बोधि ज्ञानलाभ दिवस तथा २५६० औं महापरिनिर्वाण दिवस बैशाष पूर्णिमाको सुखद उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको लागि मैत्रीभाव सहितको मंगलमय शुभकामना। भवतु सब्ब मंगलम्।
(सन्दर्भ श्रोतः आनन्दभूमि, अमृतोपदेश बौद्ध मासिक पत्रिका)

Comments

comments