१९ बैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंगको एकता प्रकृया अन्तिम चरणमा पुगेको ‘ब्रिफिङ’ गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा उनले केन्द्रीय कमिटीको संख्या बाहेकका विषयमा एमालेसंग सहमति जुटेको बताएका हुन् ।

‘अध्यक्षले एकता प्रकृया सहमति नजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधान लगायत विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले नयाँ पत्रिकालाई बताए ।

बिहिवार आफुले ओलीसंग ‘वान अन वन’ वार्ता गर्ने र केन्द्रीय समितिको संख्या लगायत सहमति जुट्न बाँकी विषयलाई अन्तिम रुप दिने प्रचण्डको भनाइ थियो । बुधवार बस्ने दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

यस्तै, प्रचण्डले संगठनलाई सुदृढिकरण गर्नसमेत बैठकमा निर्देशन दिएका थिए । ‘तलैसम्म कमिटीलाई चुस्त बनाउने, पार्टी सदस्य नविकरण गर्ने, डाटाहरु अपडेट गर्ने विषयमा अध्यक्षले निर्देशन दिनुभएको छ, अब हामी संगठनलाई सुदृढ गर्नतर्फ लाग्छौं’, थापाले भने ।

बैठकमा प्रचण्डले एकता प्रकृयामा भएको प्रगतिका बारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची भएकाले सचिवालय सदस्यले भने धारणा राखेनन् ।

Comments

comments