२० बैशाख, पनौति, काभ्रे । भौतिक संरचनाको अभावका कारण पनौती नगरपालिका–८ मल्पीमा रहेको भालेश्वर माध्यमिक विद्यालयले विद्यार्थी भर्ना लिन नसक्ने घोषणा गरेको छ ।

सामुदायिक विद्यालयहरुमा देशकै नमुना विद्यालय भएकोले यहाँ भर्ना हुन आउने विद्यार्थी अत्याधिक भएपनि भौतिक संरचनाको अभाव भएपछि विद्यालयले भर्ना लिन नसक्ने घोषणा गरेको हो ।

‘भौतिक संरचना अभावका कारण विद्यार्थी नअट्ने र जग्गा पनि पर्याप्त नभएको कारण विद्यार्थी भर्ना लिन सक्दैनौं ।’ प्रधानाध्यापक रामचन्द्र थापाले तेमाल अनलाईनसँग भने– ‘यसै शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म १ सय २१ जना नयाँ विद्यार्थीहरु भर्ना भएको छ । कक्षा ६, ७ र ९ मा थप विद्यार्थी भर्ना गर्न हामी सक्दैनौं । प्रधानाध्यापक थापाका अनुसार साँघुरो विद्यालय हाताको कारण थप भवन निर्माण गर्ने ठाउँ अभाव रहेको छ ।

यस विषयमा पनौती नगरपालिकाका शिक्षा प्रमुख महेश्वर जंगमले नगरले शिक्षा ऐन बनाएर शिक्षण संस्थाहरुलाई एकरुपतामा ल्याउने काम भईरहेको बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले विद्यालयलाई जिल्लाको उत्कृष्ट र ब्यवस्थित विद्यालय बनाउने उद्देश्यले विगत पाँच बर्षदेखि विद्यालय ब्यवस्थापन समिति र शिक्षकका छोराछोरीहरुलाई आफ्नै विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने ब्यवस्था गरिएको बताए ।

विद्यलायका शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बञ्जाराले विद्यालयको ब्यवस्थापकीय र शिक्षण सिकाईको राम्रो बातावरण भएका कारण विद्यार्थीहरुको आकर्षण बढ्दै गएको तर भौतिक संरचना अभावका कारण भर्ना रोक्नुपर्ने बाध्यता भएको बताए ।

विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षासम्म ४ सय ९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यस विद्यालयमा पनौति नगरपालिकाको मात्र होइन, जिल्लाको विभिन्न गाउँपालिकाबाट समेत अध्ययन गर्न आउने गर्दछन् ।

Comments

comments