२३ बैशाख, काठमाडौं । सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुले शनिबारदेखि नियमित रुपमा गाडी चलाउने भएका छन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले विज्ञप्ति निकालेर सार्वजनिक यातायात सेवालाई यथावत् रुपमा संचालन गर्न सबै यातायात व्यवसायी, संघ, समिति तथा प्रा.लिहरुलाई आग्रह गरेको छ । सरकारले खारेज गरेको सिन्डिकेट कायम राख्न पाउनुपर्ने भन्दै शुक्रबार यातायात बन्द गरेर बसेका समितिका पदाधिकारीहरु धमाधम पक्राउ परेपछि आन्दोलनरत व्यवसायी गलेका हुन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले निकालेको विज्ञप्तिमा यातायात क्षेत्रमा देखा परेका समसामयिक समस्याहरुको स्थायी समाधानका लागि यातायातसँग सम्बन्धित महासंघहरुले उठान गरेका मागहरुलाई वार्ताद्वारा समाधानका लागि सरकारसँग आग्रह गरिएको छ ।

यस्तै समितिले शुक्रबार पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी, महासचिव सरोज सिटौला सहितका पदाधिकारीलाई विना शर्त रिहा गर्न पनि माग गरेको छ ।

Comments

comments