-घनश्याम भुषाल

२०४८ सालमा हामी चुनाव लड्यौं। ३ वटा सिट जित्यौं। पार्टीको खातामा ३० तीस हजार थियो। २१ हजार खर्च भयो। ९ हजार बाँकी रह्‍यो।

अहिले चुनाव लड्न सालाखाला डेढ देखि २ करोड खर्च हुन्छ। कहीँ १० करोड १५ करोड भएको सुनिन्छ। चुनाव त्यसरी जितिने रहेछ। अब प्रश्न उठ्छ-  २ करोड खर्च गर्ने व्यवस्था कायम राखेर हामीले जाने भनेको समाजवादमा पुगिन्छ?

समाजवाद ल्याउछौं भन्दैछौं। कसरी आउँछ? जग्गा बेचेर?

म एमाले स्थायी समितिमा छु। पार्टी बैठकमा कचकच गरेर चाकडी गरेर २ देखि ४ सिटमा उम्मेद्वार उठाउन सक्छु। मेरो चुनावी खर्चपर्च उसैले गर्छ।

केहीअघि भएको चुनावको टिकट वितरणमा यो भएको छैन भन्न सकिन्न। म सक्दिन।

अब प्रश्न उठ्छ, चुनावमा कस्तोलाई टिकट? उहिले देखि लागेकोलाई? श्रीमान् श्रीमती मिलेर पार्टी जोगाएको अर्थ छ र यहाँ? अब त मुल दायित्व चुनाव जित्नु पर्ने भयो। पहिला क्रान्तिको कार्यभार लड्नु थियो। अब चुनाव जित्नु भयो।

नेताहरु भन्छन्, ‘दिनुपर्ने त उसैलाई हो। निर्णय गर्दा दु:ख लाग्छ।’ तर विस्तारै चुनाव जित्नेलाई खोजी खोजी दिनुपर्ने हुँदैछ।

यस्तोमा क्रान्तिको हविगत के हुन्छ? टिकट पाउने रातारात क्रान्तिकारी कुरा गर्छ। झोला च्यापेर हिँड्छ। एक रातमा एक लाख क्रान्तिकारी युवा तयार गर्छ। यसलाई शान्तिपूर्ण क्रान्ति भनिदैँछ। तर शान्ति भन्दाभन्दै शान्तीले गाल्दै गाल्दै ल्याउँदैछ।

शान्तिपूर्ण क्रान्तिको ध्येय भोट ल्याउन के गर्ने भन्ने छ। यहाँ त तीन घण्टामा गाउँभरीलाई ५-५ सय बाँडेर सक्नु क्रान्ति भयो।

म भन्छु यो शान्तिपूर्ण क्रान्तिको कुराले हामीलाई फसाउँछ।

भोट माग्ने उम्मेद्वार सबै राम्रो गर्छु भन्छ। जनताको छोरा छोरी के गर्दैछ, रोजगार के गर्दैछ? जीवनको अवस्था के छ थाहा छैन। केवल भोट चाहियो। जसरी पनि भोट ल्याउनुपर्ने भयो।

अहिले मान्छेको मुल्य हराउँदै गएको छ। कागजी भोटको, छापको महत्व बढ्दै छ। यो डरलाग्दो हुन्छ।

नेताहरु एकचोटी मन्त्री हुन चाहान्छन्।खासमा कामको व्यस्तताले ‘मन्त्री’ हुन मनपर्ने कुरा हैन। तर किन मन्त्री भैरहन चाहान्छ? किन मन्त्री हुन कमरेडको खुट्टा ढोग्न तयार छ? किनभने उसले सदर गर्ने फाइल दश वर्षसम्म जिवित रहन्छ। त्यसपछि मज्जाले (पैसा) आइरहन्छ।

यदि शान्तिपूर्ण क्रान्तिको नाम ‘चुनाव देखि चुनावसम्म’ मात्र हो भने यसले समाजलाई अमानविकीकरण गर्छ। सर्वसाधारण जनतालाई श्रमजीवि वर्गलाई क्रान्तिमा लागेका मान्छेलाई भुत्ते पार्छ। किनबेचको सस्तो माछा बनाँउँछ।

अब अर्को क्रान्तिको कुरा गरौँ।

भनियो, ‘राज्यसत्ता मागेर पाइन्छ?

‘पाँइदैन। लड्न पर्छ।’

‘लड्दा पुलिस आउँछ। जेल हाल्छ। लाठीसँग लड्न ढुङ्गा मुढा गर्नुपर्छ। अब पछाडी आर्मी छ। आर्मीसँग बन्दुक छ।’

अनि क्रान्ति गर्न भनिन्छ, ‘लड्न चाहान्छौ कि चाहँदैनौ?

‘बन्दुक छैन भने बोक। क्रान्ति सुरु भयो। अब हतियार बोक।’

‘हतियारमा शक्ति छ। क्रान्ति अब हतियारमा छ।’

५० वटा बन्दुक बचाउनका लागि कामरेड शहादत हुन्छ। त्यो फलामको किट बचाउन। यहाँ प्रश्न उठ्छ अब मान्छे ठूलो कि बन्दुक? ठूलो हुन्छ बन्दुक।

यो बन्दुकको लडाँइमा जसको ठूलो बन्दुक छ उसैले जित्छ।

साम्राज्यवादी कालमा सशस्त्र क्रान्ति कहीँपनि सफल भएको छैन। संयोग हो नेपालको माओवादी आन्दोलन।

सशस्त्रमा बन्दुकका लागि मान्छेको बलिदान थियो, अब हेरौं शान्तिपूर्ण क्रान्तिमा भोटका लागि मान्छेको बलिदान।

हो यहाँ आइपुगेपछि हामीले अब नयाँ सुरुवात गर्नुपर्ने हुन्छ।

अब हामी अहिलेको हाम्रो चुनौती हेरौं। चुनौतीका विभिन्न पाटा छन्। भूराजनीति र अर्थराजनीति अनि विचारधाराको राजनीति। नेपालमा चीनलाइ समाजवादी मान्ने कि नमान्ने भन्नेमा विवाद छ। तर पुजिँवादी विश्व चीनलाई समाजवादी हो भन्छ। यहाँ विचारधाराको अन्तरविरोध छ।

हामी तानातानीमा छौँ। उदाहरणका लागि युरोपियन युनियन हाम्रो विच्छौना सम्म आइपुग्छ।  चीन पनि त्यसरी नै आउँछ। काम गर्ने स्टाइल फरक होला। त्यसो नगरि चीन कसरी बाँच्छ। हामी चीनको छिमेकी हौं। संवेदनशील तिब्बतको छिमेकी हौं।

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गए। कुरा अनौपचारिक थिए।केही समय अघि दुवै देशका सैनिक दोक्लममा लड्न लागेका थिए। धेकलाधकेल गरे। अहिले मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले आठ राउण्ड कुरा गरे। किनभने उनीहरुलाई कुरा गर्नुपर्ने छ। पूर्वले विकास गर्दैछ र पश्चिमसँग अब टकराउँदैछ। पूर्व र पश्चिममा तनाव छ। अनि हामी बीचमा छौँ। दुइ बलिया राज्य छन्।

अब हाम्रो आन्तरिक कुरा गरौँ। अख्तियारमा लोकमानसिंह कार्की आए र गए। कुनै तर्क छ कार्कीलाई बनाउने भन्नेहरुको। राज्य कमजोर बनाइयो। आज अख्तियारले फलानो सांसद पूव मन्त्रीबारे यस्तो भेटियो हजुर ‘पक्डिउँ कि नपक्डिउँ’ भनेर सोध्ने अवस्था छ।

सर्वोच्चमा गोपाल पराजुलीलाई न्यायमूर्ती भनेर ल्याउने को? अनि अन्तिममा कसरी गयो? यसरी आउने र जाने भएपछी  अब ‘यहाँ मुद्दा परेको छ हजुर’ भनेर सोध्छन् कि सोध्दैनन्? अनि राज्य के हुन्छ?

पुलिस त विचरा भैसक्यो। हंस छाडेर मात्र कोही पुलिस हुन्छ।

नेतालाई जनताले चिन्दैन।  पढेको लेखेको, जन परिचालन गरेको, संघर्ष गरेको, गतिलो कानुन निर्माण गरेको नेता छैन।

नेता हो भनेर चिनाउन चार पुलिसले झ्याप सलाम ठोक्नुपर्छ। सिडिओ बोलाएर स्वागत हुनुपर्छ।

एक जना डिएसपी भन्दै थिए २० औं हजार सुन राजनीतिक नेतृत्वलाई थाहा नभइ आउन सम्भव छैन। ‘सानो फुली भेटियो भने पनि गृहमन्त्रीकहाँ रिपोर्ट हुन्छ। प्रधानमन्त्रीकहाँ हुन्छ।’  तर प्रहरी नै मिलेको भेटिन्छ। जस्तो सुनकाण्डमा पूर्व डिआइजी गोविन्द निरौला।

अब भन्नुस् निरौला, पराजुली र लोकमान। राज्य कस्तो छ?

एकपटक तीन जनाले तपस्या गरेछन् परमेश्वर खुसी भएर के माग्छौ माग भनेछन्।

बाँदरले मागेछ – राजा। परमेश्वरले दिए – ल राजा।

गधाले मागेछ – प्रधानमन्त्री। परमेश्वरले दिए – ल प्रधानमन्त्री।

अनि मान्छेले भनेछ – ‘हजुर देश निकाला गरिपाउँ।’

त्यस्तो भयो भने मान्छेको हालत के हुन्छ? यदि राज्य यस्तै हुने हो भने। राजा र प्रधानमन्त्री त्यस्तो हुने हो भने समाजवाद कहाँ जान्छ?

उदाहरण हेरौं न ती पूर्व डिआइजी निरौला धन्न गिफ्तार भएछन् नत्र अर्को चुनावमा क्रान्तिकारी पार्टीको उम्मेद्वार हुने थिए। हाम्रो क्रान्ति कहाँ छ?

अब समृद्धिको कुरा गरौं। मुलुकको समृद्धि कुरा गरिरहाँदा धरातल कहाँ छ ख्याल गर्नुपर्छ।

किनभने भ्रमले राष्ट्र बचाउँदैन। जनता शिक्षित पार्ने कुरा क्रान्तिका लागि महत्वपूर्ण कुरा हुन्छ। सद्दाम हुसेनका मन्त्री अघिल्लो दिनसम्म पूर्व र पश्चिमा देशको तुलना गरेर भाषण गरिरहेका थिए। हाम्रो पुर्खा खेती गरिरहाँदा तिमीहरुका उत्तरी पहाडको ओडारमा थिए भन्दै थिए।

भोलीपल्ट टेलिभिजनमा आक्रमणको लाइभ भिडियो देखियो। कसैले विरोध गरेन।

राष्ट्र बचाउन, धेरै धेरै टाढासम्म हेर्न गर्नुपर्ने कुरा जनतालाई शिक्षित पार्नु हो।

क्रान्तिको ग्यारेण्टी के हो भने सर्वहारा बहुमतमा हुनुपर्छ। संगठित हुनुपर्छ। यसलाई ज्ञानले नेतृत्व गर्नुपर्छ अनि क्रान्ति सम्पन्न हुन्छ। यी कुरा बुझेर लाग्यौं भने मात्र ५० वर्ष प्रतिक्रान्तिको खतरा रोकिन्छ।

भारत र चीनका बीचमा धेरै मामिला छन्। तानातानी छन्। बाछिटा हामीलाई पर्नेछन्। भारत र हाम्रा बीचमा इतिहास लगायका विषयमा अन्तरविरोध छ।

भारतसँग लडेर हाम्रा पुर्खाले माटोको रक्षा गरेका छन् भनेर हामी हेर्छौं। व्यवहारमा पनि राजाले कहिले अडान लिए, कहिले झुके। प्रजातन्त्र कालमा कोहीले घुँडा टेके, कोहीले अडान लिए। नेताहरुले कहिले घुँडा टेकेका छन् कहिले अडान लिएका छन्। हामी भन्छौँ – यी गद्दार भएपनि हाम्रो पवित्र माटो सुरक्षित छ।

तर भारतले लडाँइ लडेको हेर्दैन। राजाले ढोगेको, राणाले ढोगेको र नेताले ढोगेको लेखेर राख्छ। उसले झुकेको इतिहास नेपाल भारत इतिहास भन्छ। हामी लडेको इतिहास हेर्छौं। चुनौती यहाँ छ।

अब हामी भित्रको चुनौती हेरौं। आज चुनौती हामी लेफ्ट पार्टीहरु आफैंले सिर्जना गरेका छौं। ।  चुनावमा कम्ता कुरा गरेका छैनौं। एजेण्डा ठिकै बनायौं- विकास र समृद्धि। यो भविष्यको मामिला पनि हो।

तर हामीले दुईचार विद्युतको पोल राख्ने कुरालाई विकास मानेनौं। पानी जहाज आज हाम्रो कतिको प्राथमिकता हो?

विकास अर्काले त्यसै दिदैँन। किनभने आजसम्म धर्तीको विकास आफ्नै पौरखले मात्र भएको छ।

हामीले संविधानमा पनि विकास र समृद्धिकै कुरा गरेका छौं। लेखेका छौं- हाम्रो मुलुकमा छोराछोरी जन्मेको निरक्षर हुने छैन। अब नागरिक रोगी हुने छैन। रोजगारी पाउनेछ।अझ सम्मानजनक रोजगारी लेखेको छ। राम्रो वातावरणमा सास फेर्न पाउने भनेर पनि लेखेका छौं।

हामीलाई समृद्धि बनाउने चुनौती छ।

अहिले माथिल्लो कर्णालीको सफल मोडलको कुरा हुन्छ। तर कुन दिन देखि कति नाफा हुन्छ न नेता बताउँछ, न सचिव बताउँछन्।

अहिले हाम्रो समृद्धि गाडीमा हिँड्ने खालको छ। तर यसैकै कारण मर्मत गर्नका लागि आउँदो पुस्ताले मर्ने अवस्था हुन्छ। किनभने समृद्धि हामी संलग्न भएर हुदैँछैन।

राज्यको ठिक भयो ऋण लिएर केही हुदैँन। कुनै पनि राष्ट्र ऋण लिएर बिग्रेको छैन। तर प्रश्न के हो भने – लोकमान गोपालमानको राज्य, पूर्व डिआइजी निरौलाको राज्य, हामी नेता र यो सरकार। यहाँनेर समृद्धिको आकांक्षा म्याच हुन्छ कि हुदैँन?

हो, अब समाधानको सुरुवात कहाँबाट गर्ने त?

हामीले पार्टीलाई सारा अभिभारा बहन गर्ने पार्टी बनाउनुपर्छ। अहिले एमाले ३ लाख कार्यकर्ता छन्। माओवादीको जोड्दा ५ लाख संगठित सदस्य हुनेछन्। युवा संघ र वाइसिएल अनि विद्यार्थी संगठन जोड्दा २५ लाख जनसंगठनका होलान्। कूल ३० लाख त संगठित हुदैँछन्। यस्तोमा ३० लाखले एउटै कुरा एउटा उद्देश्य भनेपछि मुलुकको नक्सा कोरिदैँन त?

कपाल कोरिए जस्तो कोरिन्छ। तीस लाख मान्छे भनेको जनसंख्याको दश प्रतिशत हुन्छ। दश प्रतिशत संगठित भए के हुदैँन?

तर पार्टीको इन्जिन बिग्रन हुदैँन।  इन्जिन बिग्रियो भने पखेटामा पुतली बनाएर केही हुदैँन।

हाम्रो लोकतन्त्रको अवस्था कस्तो छ भने मान्छेलाई अब केही गर्न पर्‍यो भन्ने लाग्यो भने पार्टीमा लाग्छ। पार्टीबाट पद पनि पाइन्छ पैसा पनि।

यहाँ पस्ने र राष्ट्र लुट्ने।

प्रश्न कस्ता मान्छे पार्टीका सदस्य बन्छन् भन्ने हो। पार्टीमा आउँदा यस्तो गर्छु भनेर पढेर आउन पर्छ कि पर्दैन? तर भैराखेको के छ भने पार्टीको सदस्य हुनु पहिला गुटको सदस्य हुन्छ।

अब हेरौं न हाम्रो पार्टीका  बैठक कति बस्छन्? कसरी बस्छन्? त्यहाँ लोकतन्त्र छ कि छैन? के विषयमा छलफल हुन्छ?

आजको क्रान्तिको विश्व परिस्थिति भन्ने एजेण्डामा कहिल्यै छलफल भएको छ?  सांसद कस्तो व्यक्ति बन्नुपर्छ भन्नेमा छलफल भएको छ? मुलुक फेर्न पठाउने मान्छे कस्तो हुने भन्ने बहस हुन्छ? कस्तो सांसद क्रान्तिकारी हो भनेर छलफल भएको छ? यो विषयमा कोही पनि बोल्दैन।

सबैले भन्छन्, ‘कुरा ठिक हो। कुरा ठिक हो। तर बोल्दैन।

पार्टी कमिटीको बैठक अर्को गुट ठेगान लगाउन बस्छ। धेरै क्रान्ति गर्न बनेका ठूला कमिटी बनाउँदा बैठक बस्न संख्या पुग्दैन।यस्ता बैठकमा मान्छेको सचेत सहभागिता हुदैँन। किन बैठक हुदैँ छ, कसरी हुदैँछ भन्ने छलफल हुदैँन।

साँच्चै समृद्धि गर्ने हो भने आजको कार्यभार राष्ट्रिय पुँजिको विकास हो।

राम्ररी उद्दम गरेको मान्छेको यहाँ बेहाल छ। कर तिर्न सकेको छैन। भन्सार तिर्ने पैसा छैन। श्रमिक हड्ताल भए – भाइ नगर न यार भन्छ। त्यस्तालाई नुहाउने फुर्सत समेत छैन।

उसले चन्दा दिए पनि पाँच हजार पैसा हो। अहिले त हामी पाँच लाख पनि चन्दा हुन्छ र भन्छौं। त्यो भन्दा माथि पनि हिसाब हुन्छ रे। हामी जान्दैनौं।

समस्या देशलाई दलाल पुजिँवादबाट कसरी बचाउनुहुन्छ भन्ने हो। राष्ट्रिय पुँजीको विकासका भनेको रोजगारी उत्पादन हुने पुँजीको विकास हो। त्यो उद्यमशील पुँजी। तर पुँजी दलालले सस्तो ल्याउँछ। सस्तो व्यापार गर्छ। मेसिन बनेको राम्रो भनेर बेच्छ। त्यो दलाल व्यापारले हाम्रो उद्यम सक्यो। हो हामीले पार्टीमा अब उद्यम गर्न सक्ने कार्यकर्ता उत्पादन गर्नुपर्छ। अनि जहाज ल्याउँला, रेल पनि ल्याउँला।

तर दलाल पुँजिपतीले रेल ल्याए जहाज ल्याए भने हाम्रा छोरा छोरी हेर्छन् मात्र। मनाङबाट उता लाग्यो। ती रेलले धुँवा अलिकति छोड्लान् त्यति हो।

हो रेल पनि चाहियो। पानी जहाज पनि चाहियो। विरोध गरेको होइन। तर त्यो विकास हाम्रो छोराछोरी र नागरिक संलग्न भएर गर्ने हुनुपर्‍यो। यो पार्टीले गर्नुपर्‍यो। पार्टीका सदस्य जोडिएर हुनुपर्‍यो। कुनै नेताले म नेता हुँ मैले गर्छु। अरुले केही गर्न परेन भनेर हुदैँन। नेता कार्यकर्तासँग जोडिन्न भने जनतासँग कसरी जोडिन्छ। कार्यकर्ता हुदैँ जनतामा जोडिनुपर्छ।

हामीलाई राष्ट्रिय पुँजीको विकास गर्ने अध्यक्ष चाहिन्छ। हाम्रो अध्यक्ष यस्ता योजनाका साथ हिँड्छ भन्ने पार्टी बनाउने हो। जनतासँग जोडिनुपर्‍यो।

मेयरको काम अहिले कानुन निकाल्ने भएको छ। एउटाले गरेपछि अरु मेयरले पनि त्यहि गरिरहेका छन्। तर त्यस्त निर्णयले ६ देखि ७ हजार मान्छे जोड्ने काम गरेका छन् त? आवश्यकता के हो भने – हरेक निर्णयले जनतासँग जोड्नु पर्‍यो।

व्यक्तिलाई विकास गर्ने जिम्मा लगाइयो भने सद्दाम हुसेन जस्तो हुन्छ। जुन दिन सद्दाम हुसेन विरामी हुन्छ। जुन दिन सद्दाम हुसेन चुनाव हार्छ सारा राष्ट्रियता, राष्ट्र सकिन्छ।

बरु पार्टी कसरी बनाउने, संगठन कस्तो बनाउने भन्नेमा छलफल गरौँ। लोकतान्त्रिक तरिकाले समाजको परिवर्तन यसरी हुन्छ भन्ने देखाउन सकेनौं भने कम्यनिष्टले जितेको, दुई तिहाइ ल्याएर  विकास समृद्धि गर्छौं भनेको सबै कुरा दुई दिनको रामछाँया हुन्छ।

Comments

comments

SHARE