वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा

क. प्रारम्भदेखि वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण : कार्यदिशाको मुख्य शर्त 

आजको विश्व मानव समाजको मुख्य उत्पादक शक्ति विज्ञान प्रविधि भइसकेकाले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति बनाइने पार्टी, सङ्गठनहरू, कार्यदिशा र त्यस कार्यदिशालाई प्राप्त गर्न तयार पारिने कार्यनीतिक शृङ्ख्ला पनि आजको विज्ञान प्रविधिमा आधारित भएर तयार पार्नुपर्ने आवश्यकता स्वतःसिद्ध विषय हो । विज्ञान प्रविधिका अलावा आजको युगमा विकास भएका ज्ञानका सबै शाखाका निष्कर्षहरूलाई पनि त्यस प्रक्रियामा अनिवार्य रूपमा जोड्नैपर्दछ ।

यस निष्कर्षबाट अघि बढेर समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्दा वैज्ञानिक समाजवादी व्यवस्था क्रान्ति पूरा भएपछि बनाउने होइन, बरू प्रारम्भदेखि भूमण्डलीकृत पुँजीवादी व्यवस्थाको समानान्तरमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न थाल्नु नयाँ कार्यदिशाको मुख्य शर्त बन्न पुग्दछ । निश्चितै रूपमा समाजवादी क्रान्ति पूर्ण रूपमा सम्पन्न नभएसम्म कुनै एक देश वा महादेश वा विश्वव्यापी रूपमा बनाइने वैज्ञानिक समाजवादी व्यवस्था पूर्ण हुँदैन, तर प्रारम्भदेखि पुँजीवादीको व्यवस्थाको समानान्तरमा कुनै एक देश, महादेश वा विश्वव्यापी रूपमा वैज्ञानिक समाजवादी व्यवस्था तीव्र रूपमा निर्माण गर्दै जानुको विकल्प छैन ।

पूर्ण रूपमा समाजवादी क्रान्ति पूरा गर्ने उचाइसम्म पुग्दा कम्युनिस्ट पार्टीको नेतृत्व र दिशाबोधमा कुन स्तरसम्मको पुँजीवादको समानान्तरमा समाजवादी व्यवस्था बन्न पुग्दछ, त्यो अहिले नै किटान गर्न सकिने विषय होइन तर पुँजीवादको समानान्तरमा समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्ने विषयलाई अबको कम्युनिस्ट आन्दोलनले वर्गसङ्घर्षको एउटा मुख्य हतियार बनाउनै पर्दछ । आजको युगको नयाँ कम्युनिस्ट आन्दोलनले सङ्घर्षको यो नयाँ मोर्चा खोल्नैपर्दछ ।

परम्परागत दृष्टिले मात्र हेर्दा यो विषय काल्पनिक समाजवादी वा असम्भव लाग्न सक्दछ । तर आजको विज्ञान प्रविधि र ज्ञानका सबै शाखामा भइरहेको असाधारण विकासलाई चिन्तनको आधार बनाएर हे¥यो भने यो विषय सम्भव छ ।

कुनै पनि सामाजिक व्यवस्थाका तीन वटा आधारभूत खुट्टा हुन्छन् । एक, अर्थतन्त्र । दुई, राजनीति । र तीन, संस्कृति । यी तीन विषयमा एकीकृत ढङ्गले नयाँ कम्युनिस्ट आन्दोलनले भूमण्डलीकृत पुँजीवादको विकल्पसहितको नीति र संरचना बनाउँदै अघि बढ्न सक्नै पर्दछ ।

सामन्तवादी युगको उत्तरार्धतिरबाट सामन्तवादभित्रै जन्मिएको पुँजीवादले सामन्तवादका सामन्त, महासामन्त, राजा, महाराजा र सम्राटहरूको इच्छाविपरीत उनीहरूकै व्यवस्थाविरूद्ध आफ्नो व्यवस्था बनाउँदै अन्ततः सामन्तवादलाई पूर्ण रूपमा परास्त ग¥यो, पुँजीवादी क्रान्ति सम्पन्न ग¥यो । त्यसरी नै भूमण्डलीकृत पुँजीवादी विश्व व्यवस्थासँग समानान्तर रूपमा समाजवादी व्यवस्था निर्माण गर्दै, त्यसलाई वर्ग सङ्घर्षको एउटा जनआधारित मुख्य औजार बनाउँदै समाजवादी क्रान्ति अघि बढाउन सम्भव छ । हिजोको युगमा उत्पादक शक्ति कमजोर भएकाले त्यस्तो रणनीति सम्भव थिएन तर आज प्रचुर उत्पादनको युग सुरू गर्ने स्तरमा पुगेको विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति भएकाले यो रणनीति लागू गर्न सम्भव छ ।

विभिन्न देश र नेपालमै पनि हिजोको इतिहासमा सामन्तवादविरोधी कम्युनिस्ट नेतृत्वको जनवादी क्रान्ति सम्पन्न गर्न भूगोलसहितका आधार क्षेत्रहरू निर्माण गरिएका थिए । ती आधार क्षेत्रहरूमा कम्युनिस्ट पार्टीले आफ्नो बलबुताले भ्याए जतिको जनवादी व्यवस्था निर्माण गर्दै अगाडि बढेको तथ्य प्रष्टै छ । तर अबको परिस्थितिमा त्यसप्रकारको छुट्टै भूगोलमा आधार क्षेत्र निर्माण त्यही प्रकारले सम्भव छैन । त्यसको सट्टा अब भने पुँजीवादी आर्थिक, राजनीतिक र सांस्कृतिक नीति र संरचनाको समानान्तरमा समाजवादी आर्थिक, राजनीतिक र सांस्कृतिक नीति र संरचनाहरू समग्रमा वैज्ञानिक समाजवादी व्यवस्था नै निर्माण गर्दै क्रान्तिलाई अगाडि बढाउन पर्दछ ।

यसरी समग्रमा वैज्ञानिक समाजवादी व्यवस्था नै पुँजीवादको समानान्तरमा निर्माण गर्दै अघि बढाउन आजको विज्ञान प्रविधि र ज्ञानका सबै शाखामा विकास भएका नवीनतम निष्कर्षहरूलाई एक साथ अवलम्बन गर्न सक्नुपर्दछ । यो एकै भूगोलमा दुई व्यवस्थाको रणनीति भनी बुझ्न सकिन्छ ।

यो रणनीति अख्तियार नगर्ने हो भने भूमण्डलीकृत पुँजीवादको नेतृत्व गरिरहने कथित विकसित मुलुकहरू र नेपाल जस्तो भूमण्डलीकृत पुँजीवादको दलाली गरिरहेको दलाल पुँजीवादको आर्थिक शोषणकारी चक्रबाट आम श्रमजीवी जनताको वा उत्पीडित राष्ट्रको मुक्ति सम्भव नै देखिँदैन । नेपाल जस्तो देशमा राष्ट्रिय पुँजी निर्माण र त्यसद्वारा दलाल पुँजीसँग सङ्घर्ष पनि सम्भव छैन किनभने बहुराष्ट्रिय कम्पनीवाला भूमण्डलीकृत पुँजीवादले सम्भावित राष्ट्रिय पुँजीपतिवर्गलाई दलाल पुँजीपतिवर्गमा रूपान्तरित गरि नै सक्यो ।

त्यसकारण पुँजीवादी अर्थतन्त्रको समानान्तरमा समाजवादी अर्थतन्त्रको निर्माणले मात्रै दलाल पुँजीवादको प्रतिरोध सम्भव छ । उत्पादनदेखि वितरणसम्म, सेवादेखि मनोरञ्जनसम्म सबै सबै क्षेत्रमा समाजवादी आर्थिक व्यवस्था निर्माण गर्दै जाने रणनीतिले मात्र बेरोजगारी समस्यालाई पनि सम्बोधन गर्न सम्भव हुँदै जानेछ । विशाल जनसमुदायले आजैदेखि जुन हदसम्म सम्भव हुन्छ, त्यो हदसम्म समाजवादी व्यवस्था अभ्यास गर्दै क्रान्तिलाई अघि बढाउने अवस्थाको सृष्टि गर्नु नै यस रणनीतिको नयाँपन हुन जानेछ ।

पुँजीवादले अर्थतन्त्र, राजनीति र संस्कृतिमा ल्याएको मानवताविरोधी चक्रव्युहको आलोचना र विरोध मात्र होइन, बरू त्यसका विरूद्ध वैज्ञानिक समाजवादी विकल्पको व्यवस्था नै लागू गर्दै क्रान्तिलाई अघि बढाउनु यस रणनीतिको सार हो । हो, हरेक चिजमा समाजवादी विकल्पको निर्माण ।

पुँजीवादले विकास गरेको पुँजीवादी संसदीय व्यवस्थालई ध्वस्त पार्न त्यसलाई बाहिरबाट प्रहार गर्ने नीति लिँदा विगतका रूस, चीन लगायतका देशका क्रान्ति सफल भएका थिए । तर त्यही व्यवस्थाकै मोडलभित्रको अङ्ग बनेर क्रान्ति गर्ने नीति लिएको विगतदेखि आजसम्म क्रान्तिका प्रक्रियाहरू कि त चिली र इन्डोनेसियामा जसरी ध्वस्त भए या त सबै त्यही व्यवस्थाभित्रै आत्मसमर्पण गर्दै विसर्जन भए । नेपालको ताजा उदाहरणबाट पनि प्रष्ट भएको छ । आज नेपालमा राजतन्त्रको अन्त्य लगायतका सामन्तवादविरोधी उपलब्धीहरू जे जति भए, ती राजतन्त्रले नेतृत्व गरेको व्यवस्थाबाहिर बसेर चलाइएको जनयुद्ध र जनआन्दोलनका कारणले भएको हो ।

पञ्चायतबाहिर बसेर प्रहार गरेर पञ्चायत ढलेको हो । जब पञ्चायत ढलेपछि पुँजीवादी संसदीय व्यवस्थाकै अङ्ग बनेर एमालेले जनवादको कुरा गर्न थाल्यो, बचेखुचेको क्रान्तिकारिता पनि त्यसले गुमायो र त्यही शोषणकारी व्यवस्थाको उग्ररक्षकका रूपमा रूपान्तरित भयो । प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जब पुँजीवादी संसदीय व्यवस्थाकै अङ्ग बनेर समाजवादमा पुग्ने लाइन तय ग¥यो, त्यसपछि त्यो भूमण्डलीकृत पुँजीवादसँग आत्मसमर्पण गर्दै अन्ततः विसर्जन हुन पुग्यो ।

यसरी विश्व र नेपालकै ऐतिहासिक अनुभवबाट के सिद्ध हुन्छ भने दुश्मन वर्गको व्यवस्थाका कतिपय पक्षलाई कम्युनिस्ट क्रान्ति तथा जनताको निम्ति उपयोगसम्म गर्न सम्भव हुन्छ तर त्यही व्यवस्थाको संरचनामा आफू पनि ढालिएर त्यो व्यवस्थालाई ढाल्न कदापि सम्भव छैन ।

यो ऐतिहासिक शिक्षाको आधारमा पनि यो निष्कर्ष संश्लेषण गर्नैपर्दछ कि अबको समाजवादी क्रान्ति पुँजीवादी व्यवस्थाको अर्थतन्त्र, राजनीति र संंस्कृतिभित्रैको अङ्ग बनेर होइन, बरू त्यसभन्दा बाहिरबाट अर्थात् त्यसको विकल्पका रूपमा समानान्तर अर्थतन्त्र, राजनीति र संस्कृति समग्रमा समानान्तर समाजवादी व्यवस्था निर्माण गर्दै त्यसलाई प्रहार गर्ने रणनीतिद्वारा मात्र समाजवादी क्रान्ति अघि बढाउनु अनिवार्य छ ।

के यस्तो यथार्थमै सम्भव होला ? प्रश्नहरू उठ्छन्, उठ्नैपर्छ । एउटा सन्दर्भलाई अगाडि राखेर हेरौँ । आज पुँजीवादी संसदीय व्यवस्थाका प्यादामा रूपान्तरित हुन पुगेका एमाले र माओवादी केन्द्र जस्ता पार्टीले यदि नेता÷कार्यकर्ताको विशाल फौजलाई राज्यको दोहन गर्ने, एनजिओको सञ्चालन, निजी कलेज, अस्पताल, फाइनान्स, टिभी, वित्तीय सहकारी सञ्चालन जस्ता पुँजीवादी व्यवस्थाकै अङ्ग बन्न नलगाई पुँजीवादी व्यवस्थाको विकल्पमा सामानान्तर समाजवादी व्यवस्थाका अङ्ग बन्ने स्कुल, कलेज, अस्पताल, वित्तीय क्षेत्र उत्पादनदेखि वितरणसम्मको समाजवादी आर्थिक चक्र, सञ्चार क्षेत्र आदिमा व्यवस्थित समाजवादी व्यवस्थाको प्याकेजमा लगाएको भए आज परिणाम के हुन्थ्यो होला ? प्रष्टै छ, आजको राजनीति र अर्थतन्त्रको आधारभूत परिदृश्य नै बेग्लै हुन्थ्यो ।

यदि उनीहरूले त्यो दिशा लिएको भए, लिन सर्वथा सम्भव थियो, न त उनीहरू अपारदर्शी आर्थिक जीवनको रसातलमा जाकिनुपथ्र्यो, न त कम्युनिस्ट आन्दोलन भनेको बेरोजगार उत्पादन गर्ने कारखानामा फेरिन्थ्यो, न उनीहरूले भूमण्डलीकृत पुँजीवादसँग आत्मसमर्पण गर्न जरूरी हुन्थ्यो ।

अर्को प्रश्न पनि उठ्दछ र प्रश्न उठ्नै पर्दछ । त्यो के भने समानान्तर रूपमा समाजवाद निर्माण गर्न के प्रतिक्रियावादी राज्यसत्ताले दिन्छ र ? के उसले बलात् हस्तक्षेप गरी रोक्दैन ? पक्कै पनि प्रतिक्रियावादले हजार हथकण्डा प्रयोग गरेर समाजवाद निर्माण गर्ने प्रक्रियालाई रोक्न प्रयत्न त गर्छ नै । त्यसो त कुनै पनि क्रान्तिकारी प्रक्रियालाई प्रतिक्रियावादले रोक्न खोज्छ । हिजोका क्रान्तिहरूमा भूगोलसहितको आधार क्षेत्रहरू प्रतिक्रियावादले जति प्रयत्न गर्दा पनि रोक्न नसकेर बनेका हुन् । आधार क्षेत्र बिना अगाडि बढ्न नसकिने भएपछि आवश्यक सबै प्रकारको बलिदान गरेर अनि उपलब्ध विज्ञान प्रविधि सबै सबै प्रयोग गरेर बनेका हुन् ।

समानान्तर रूपमा समाजवाद निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएपछि र वर्गसङ्घर्षको नयाँ मोर्चा त्यसलाई बनाउनै पर्ने आवश्यकता भएपछि त्यसका निम्ति आवश्यक सबै प्रकारको बलिदान दिन तयार हुनै पर्दछ । र, आजको विज्ञान प्रविधि र सबै विकसित ज्ञानलाई प्रयोग गरेर प्रतिक्रियावादका सबै प्रकारका प्रहारलाई निस्तेज पार्नै पर्दछ । आजको विज्ञान प्रविधि र सबै शाखाका ज्ञानमा भएको प्रगतिका कारण त्यो काम अब सम्भव छ । र, सम्भव पार्नैपर्दछ ।

थप एउटा प्रश्न पनि उठ्ने गर्दछ । त्यो के भने नेपाल जस्तो भूगोल, जनसङ्ख्या, अर्थतन्त्रको आकार आदिका कारणले वित्त, बजार, श्रमशक्ति आदिको सीमाले समानान्तर समाजवाद निर्माणको बाटो प्रभावकारी हुन्न कि ?

यो प्रश्न जरूरी छ किनभने यो प्रश्नले यस रणनीतिको थप आयामतिर ध्यान केन्द्रित गराउन बल पु¥याउँछ । भूमण्डलीकृत पुँजीवादका विरूद्ध समानान्तर रूपमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै क्रान्तिलाई अघि बढाउने रणनीतिलाई कुनै एक देश, उपमहादेश, महादेश मात्र होइन, सिङ्गै विश्वव्यापी आयाममा बुझ्नुपर्दछ ।

आजको विज्ञान प्रविधि र ज्ञानका विविध आयामले विश्वका सर्वहारा–श्रमिक वर्गलाई विचार–अन्तरक्रियाको निम्ति मात्र सहज बाटो खोलेको छैन, बरू आर्थिक–राजनीतिक–सांस्कृतिक क्षेत्रमा भौतिक सहकार्यकै निम्ति समेत अवसर उपलब्ध गराएको छ । प्रत्येक देशका सर्वहारा–श्रमिक वर्गले समानान्तर रूपमा निर्माण गर्ने समाजवादको निर्माण, रक्षा र विकासका निम्ति सबै क्षेत्रमा एक अर्काको भौतिक सहयोगी बन्न सकिने, संयुक्त गतिविधि गर्न समेत सकिने भएको छ । नेपाल र भारतबीच जस्तै खुला सीमाना भएका देशहरूका सर्वहारा–श्रमिक वर्गले खुला सिमानालाई समानान्तर समाजवाद निर्माण गर्ने रणनीतिका निम्ति थप अनुकूल सहयोगी अवस्थाका रूपमा आवश्यकताअनुसार उपयोग गर्नै पर्दछ ।

त्यसैले नेपालको भौगोलिक जनसांख्यिक अवस्थितिले समानान्तर रूपमा समाजवाद निर्माण गर्दै अघि बढ्ने रणनीतिलाई अवरोध सिर्जना गर्न सक्दैन भन्ने यथार्थ दाबी गर्न सकिन्छ ।

तसर्थ, सारमा भूमण्डलीकृत पुँजीवाद र त्यसद्वारा हाम्रोजस्तो उत्पीडित राष्ट्रमा सिर्जना हुन पुगेको दलाल पुँजीवादी व्यवस्थाको समानान्तरमा वैज्ञानिक समाजवादी व्यवस्था प्रारम्भदेखि निर्माण गर्दै अघि बढ्ने मुख्य सर्त भएको कार्यदिशामा अघि बढ्दा त्यस सर्तलाई पूरा गर्ने दिशामा नै सबै प्रकारका वर्ग एवम् जनसङ्घर्षहरू, राष्ट्रियता–जनतन्त्र–जनजिविका सङ्घर्षहरू र आन्तरिक राष्ट्रियताहरूको मुक्तिका सङ्घर्षहरू परिचालित हुनु अनिवार्य हुन्छ ।

ख. सर्वहारा–श्रमिक वर्ग मजदुर, किसान लगायतका सबै शोषित–उत्पीडित वर्गका मुद्दाहरूलाई सङ्गठित रूपमा स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा लगातार उठाएर वर्ग सङ्घर्षको शृङ्खलालाई विकसित गर्दै लैजाने ।

ग. महिला, दलित, मुस्लिम, उत्पीडित जाति र क्षेत्रका अधिकारका मुद्दालाई नयाँ उचाइबाट सङ्गठित गर्दै एकातिर आन्तरिक राष्ट्रियतालाई सुदृढ गरी बाह्य राष्ट्रियताको रक्षाको कवज बनाउन परिचालित गर्ने, अर्कोतिर ती मुद्दाको सही समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न सक्ने हुँदा ती मुद्दा तथा ती आन्दोलनलाई भूमण्डलीकृत पुँजीवादविरूद्ध समाजवादी क्रान्ति प्रक्रियाको अङ्ग बनाउँदै अघि बढाउने ।

घ. राष्ट्रिय स्वाधीनता, जनजीविका र जनअधिकारका विषयमा लगातार सङ्घर्ष÷आन्दोलन निर्माण गर्दै लैजाने ।

ङ. सामन्तवादका विविध क्षेत्रमा रहेका अवशेषहरूविरूद्धको सङ्घर्षलाई समाजवादी क्रान्तिको कार्यदिशाभित्रै समेटेर अघि बढाउने ।

च. सुरूदेखि सङ्घर्षका वैधानिक र अर्धवैधानिक रूपहरू अवलम्बन गर्दै सङ्घर्षका विभिन्न उन्नत चरणको मागअनुसार फौजी रणनीति र फौजी सङ्गठन निर्माण गर्दै अघि बढाउने ।

यसप्रकार, भूमण्डलीकृत पुँजीवाद र त्यसद्वारा निर्मित दलाल पुँजीवादी व्यवस्थाको विरूद्ध समानान्तर रूपमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्ने रणनीतिलाई मुख्य आलम्ब बनाएर सर्वहारा–श्रमिक वर्ग, मजदुर, किसान लगायत सबै शोषित–उत्पीडित वर्गका सङ्घर्षहरूलाई अघि बढाउँदै,

महिला, दलित, मुस्लिम, उत्पीडित जाति र क्षेत्रका अधिकारको सङ्घर्षलाई नयाँ उचाइमा उठाउँदै, सङ्घर्षका विभिन्न चरणको मागअनुसार आजको विज्ञान प्रविधिमा आधारित फौजी रणनीति र फौजी सङ्गठन निर्माण गर्दै, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको गतिशीलताभित्र क्रान्तिको अनुकूलताको ठोस निरूपण गरी, सशस्त्र जनविद्रोहमार्फत् वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्नु नै अबको समाजवादी क्रान्तिको कार्यदिशा हुनुपर्दछ ।

Comments

comments

SHARE