२६ बैशाख, काभ्रे । पनौति नपा वडा नं. २ मा रहेको गोरखनाथ हर्व स्यृटिकल्स प्रा.लि.का सञ्चालकले आफ्ना मजदुरहरुमा ‘दाविलो’ आक्रमण गरि सख्त घाईते बनाएका छन् ।

श्रम शोषण भएको र विना कारण कामबाट निकालेको भन्दै विगत १४ दिनेदेखि प्रालिको गेटमा धर्ना बसेका मजदुरहरु माथि सञ्चालकद्वय राजेन्द्र बस्नेत र मदन बस्नेतले अन्धाधुन्दा आक्रमण गरेको हो ।

महिला श्रमिकहरु माथि आक्रमण गर्न सञ्चालकद्वय बस्नेतलाई साथ प्रालिका सुरक्षा गार्ड कुमार बस्नेत र सौरब बस्नेतले दिएका थिए ।

मजदुरहरुले मागपत्र दिन खोज्दा सञ्चालक राजेन्द्रले मजदुरहरुलाई अपशब्द प्रयोग गर्दै ‘को हौ तिमीहरु ?’ भन्दै आक्रमण गरेको पिडित मजदुरहरुको आरोप रहेको छ ।

यसरी आक्रमण भयो

सञ्चालकको आक्रमणबाट घाईते भएकी प्रकृति बञ्जाराका अनुसार त्यस प्रालिमा ११ जना मजदुरहरुको कार्यरत छन् ।  ती मध्यमा पनि २ जना मजदुर सञ्चालकको आफ्नो मान्छे भएकोले सञ्चालकलाई सहयोग गर्दै आएका छन् ।

२ वर्ष अघिदेखि कार्यरत ती मजदुरहरुलाई शुरुमै ७ हजार रुपैयाँ तलब सुविधा दिन्छु भन्दै काममा लगाएका थिए । काम गरेको ६ महिनापछि स्थायी गरिदिने प्रतिबद्धता सञ्चालकले गरेका थिए । तर महिना मरेपछि सञ्चालकले ५ हजार रुपैयाँ मात्र तलब सुविधा दिएका थिए । स्थायीको त कुै छाडौं ।

 

१ वर्षसम्म उनीहरुले ५ हजार रुपैयाँमै काम गरे । एक वर्षपछि उनीहरुले तलब सुविधा बढाउन माग गर्दा १ हजार तलब थपेको बञ्जाराले तेमाल अनलाईलाई बताइन् ।

खाजाको लागि भने दैनिक ५० रुपैयाँ दिने कुरा पनि भयो । तर दैनिक खाजा सधैं एक पोका चाउचाउमै सिमित गरेपछि आफै किनी खाने भन्दै मजदुरहरुले नगद नै मागेका थिए ।

सेवासर्त पूरा गर्नुको सट्टामा सञ्चालकले ९ जना मजदुरहरुलाई विना कारण र जानकारी कामबाट निकालिएको भन्दै कामको लागि पुगेका मजदुरहरुलाई गेट प्रवेशमा रोक लगाएका थिए ।

करिब २ वर्षपछि मजदुरहरुले बाध्य भएर आन्दोलनको शुरुवात गर्नुपरेको श्रमिक कबिता पौडेलले बताईन् । नेपाल सरकारले तेकेबमोजिमको तलब सुविधा र स्थायीको माग गर्दै बैशाख १३ गते देखि आन्दोलनको शुरुवात गरे ।

दाविलो नचाउँदै मालिक आक्रमणमा उत्रिएपछि

सदा झैं बुधबार बैशाख २६ गते मजदुरहरु गेटमा धर्ना बसिरहेका थिए ।  मजदुरहरुले केही कुरा गर्न अनुरोध गरेका थिए । तर राजेन्द्र बस्नेतले दाविलो र रड हातमा बोकेर आएर श्रमिक मानबहादुर श्रेष्ठ माथि आक्रमण गरि सख्त घाइते बनाएका थिए । सबै मजदुरहरु माथि सञ्चालकद्वय बस्नेत र कुमार बस्नेत, सौरब बस्नेतले आक्रमण गरि घाइते बनाएका थिए ।

मजदुरमाथि आक्रमण गर्ने मालिक प्रहरी नियन्त्रणमा

मजदुरहरुमाथि आक्रमण गरेका सञ्चालकहरु राजेन्द्र बस्नेत र मदन बस्नेत, सौरब बस्नेत र कुमार बस्नेतलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरी प्रमुख सुनिलजंग शाहले जानकारी दिए । छानवि पश्चात कानुनी कार्वाही हुने इन्सपेक्टर शाहले बताए ।
शिरमा उपचार हुन नसकेपछि ठिमिमा

मालिकको दाविलो प्रहारबाट घाईते भएका मानबहादुर श्रेष्ठको उपचार बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि मध्यपुर ठिमि अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख शाहले जानकारी दिए । श्रेष्ठको कुममा दाविलो प्रहार भएपछि खुट्टामा समेत असर गरेको छ ।  अन्य घाईते हुनेहरुमा प्रकृति बञ्जारा, कविता पौडेल, मनिता कुवर, सुजिता कुवर रहेका छन् ।

जाहेरी दरखास्त

सञ्चालकले यसरी आक्रमण गरेपछि घाइते श्रेष्ठकी श्रीमति सावित्री श्रेष्ठले जाहेरी दरखास्त दिएकी छिन् । उपचार खर्चको समेत माग गर्दै उनले कानुन बमोजिमको कार्वाहरुको माग गरेकी छिन् ।

Comments

comments

SHARE