२७ बैशाख, २०७५
धुलिखेल । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले धुलिखेलमा भएको काभ्रे महोत्सवले धुलिखेल कै इज्जत माथि प्रश्न चिन्ह खडा गरेकोमा दुःख व्यक्त गरे ।

विहिबार धुलिखेल पर्यटन तथा खाना महोत्सव व्यवस्थापन संयोजन समितिले आयोजना गरेको आय व्यय विवरण सार्जजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख व्याञ्जुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा व्याञ्जुले काभ्रे महोत्सवले विगारेको इज्जत धुलिखेल पर्यटन तथा खाना महोत्सवले बचाएकोमा खुशी समेत व्यक्त गरे । बजारमा नगरपालिकाले सहयोग नगरेकोले महोत्सव सफल हुन सकेन भन्ने हल्ला धुलिखेल उद्योग बाणिज्य संघले गरेकोले मुख खोल्न बाध्य भएको व्याञ्जुले बताए ।

‘शुरुमा छलफल गर्दा धुलिखेल नगरपालिका र धुलिखेल उद्योग बाणिज्य संघले संयुक्त रुपमा महोत्सव गर्ने सहमति भएको थियो ।’ नगर प्रमुख व्याञ्जुले भने– ‘तर पछि संघले हामी एक्लैले आयोजना गछौं, तपाईहरुले आवश्यक सहयोग मात्र गर्नु भनेपछि हामीले छोड्यौं ।’

त्यत्रो महोत्सवमा धुलिखेल उद्योग वाणिज्य संघले ५०/१०० जना पनि उपस्थित गराउन नसकेको खबरले आफूलाई दुखित बनाएको उनले बताए ।

‘नगरपालिकाको स्थापना दिवस मनाउँदा त १२ सय जनाले उपस्थितिमा हस्ताक्षर गरेको छ । त्यो महोत्सव पो त ।’ उनले भने– ‘संयुक्त रुपमा कार्यक्रम नभएपनि मैले धुलिखेल उद्योग बाणिज्य संघलाई घाटा भएको भए नगरपालिकाले अझै पनि कति सहयोग गर्नुपर्ने हो गरौला भनेको छु ।’

आगामी दिनहरुमा सबै मिलेर महोत्सव गर्नुपर्ने बताउँदै उनले १२ वर्षमा यस्तो कार्यक्रम गर्दा असफल हुनेगरि नगर्न सुझाब दिएका थिए ।

धुलिखेल पर्यटन मेला तथा खाना महोत्सवको खुलेरै प्रशंसा

धुलिखले नगर प्रमुख व्याञ्जुले गत चैत्र ३० गतेदेखि बैशाख १ गतेसम्म सञ्चालन भएको धुलिखेल पर्यटन मेला तथा खाना महोत्व–२०७५ को भने खुलेरै प्रशंसा गरे । ‘धुलिखेल पर्यटन मेला तथा खाना महोत्व–२०७५ ले काभ्रे महोत्सवबाट खस्केको इज्जत धानेको छ ।’ उनले भने– ‘यो महोत्सबले धुलिखेलको पर्यटकीय क्षेत्रमा काम गर्न र जनपरिचालन गर्न सजिलो बनाएको छ ।’

पर्यटन विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुको नेटवर्क बनाउनुपर्नेमा जोडदिंदै नगर प्रमुख व्याञ्जुले यहाँको पर्यटन विकासका लागि बजेट विनियोजन गर्न आफू तयार रहेको प्रतिबद्धता जाहेर गरे । धुलिखेलका होटेल व्यवसायीहरु विभिन्न मिडियाहरुमा विज्ञापन गरेर यहाँको पर्यटन विकासमा टेवा पु¥याउन पनि व्याञ्जुले अनुरोध गरे ।

कार्यक्रममा धुलिखेल पर्यटन मेला तथा सडक खाना महोत्सवका व्यवस्थापन संयोजन समितिका संयोजक श्रवण कुमार तखाछेले आय तथा व्यय सार्वजनिक गरेका थिए ।

Comments

comments

SHARE