२९ बैशाख, २०७५
काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले ज्येष्ठ नागरिकहरुलाई चुरोट, विडी, रक्सी, खैनी नखान अनुरोध गरेका छन् ।

शनिबार तेमाल गाउँपालिका वडा नं. १, २, ८ र ९ मा रहेका ७५ वर्ष भन्दा माथिका नागरिकहरुलाई सम्मान तथा नगद वितरण कार्यक्रममा तामाङले उक्त कुरा बताएका हुन् ।

‘तपाईं जे खान मन लाग्छ किनेर खानुहोस् तर चुरोट, विडी, रक्सी, खैनी नखानुहोस् है ।’ ज्येष्ठ नागरिकहरुसँग भने– ‘यो पैसाको सदुपयोग गर्नुहोस् ।’

गाउँपालिकाले ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने योजना अनुसार यसरी सम्मान र नगद वितरण गरेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सबैभन्दा ज्येष्ठ बृद्ध–बृद्धाहरुलाई सम्मान गरेका छन् ।

कार्यक्रममा अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत शर्मिला लामिछानेले बृद्धाहरुलाई सम्मान गरेका थिए भने वडा अध्यक्षहरुले नगद वितरण गरेका थिए ।

यसैबीच तेमाल गाउँपालिका वडा नं. १ मा ५५ जना ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई रु. ६ हजारका दरले वितरण गरेको वडा अध्यक्ष मानबहादुर श्रेष्ठले तेमाल अनलाईनलाई जानकारी दिएका छन् । वडा अध्यक्ष श्रेष्ठका अनुसार १ नं. वडामा सबैभन्दा ज्येष्ठ बृद्धा ९३ वर्षिय जय लक्ष्मी भण्डारीलाई दोसल्ला र नगदले सम्मान गरेका छन् ।

त्यसैगरि वडा नं. २ मा ९० जना ज्येष्ठ नागरिकहरुलाई नगद ६ हजार रुपैयाँका दरले वितरण गरेको वडा अध्यक्ष तिमालसिं तामाङले जानकारी दिएका छन् । यस वडामा सबैभन्दा ज्येष्ठ बृद्ध–बृद्धाद्वय वि.सं. १९७७ मा जन्मिएका इन्द्रप्रसाद पन्त र १९८३ सालमा जन्मिएकी अष्ठमाया माकाँजुलाई सम्मान गरेको थियो ।

वडा नं. ८ मा भने १ सय २४ जनालाई नगद वितरण गरेर सम्मान गरेको छ । यस वडामा सबैभन्दा ज्येष्ठ नागरिकद्वय अम्मैरानी तामाङ (८५) र फूलप्रसाद मैनाली (१०८) लाई सम्मान गरेको वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले जानकारी दिए ।

यता वडा नं. ९ मा भने १ सय ३ जनालाई सम्मान तथा नगद वितरण गरेको वडा अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए ।

यस वडामा १ सय ४ वर्षिय त्रिपन्न सिं तामाङलाई सम्मान गरेका थिए ।

Comments

comments