३० बैशाख, २०७५

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिवेसी नगरपालिका–६ चालिसेमा रोकिराखेको २ वटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ र आरजे ४२ जिए ०७५६ नम्बरका भारतीय नम्बर प्लेटका २ वटा कन्टेनर ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

आज बिहान करीब ३ बजे आगजनी गरिएपछि ४ वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ फैलिन नदिन प्रयास गरिएको थियो। आगलागी भएको २ घण्टापछि काठमाडौं महानगरको दमकलले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन।

बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए। आगलागीपछि विद्युतको तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ।

आगजानी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले लगाएको आशंका गरिएको छ। घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ। रासस

Comments

comments