काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको एकतालाई पानीसँग तुलना गरेका छन् । दुईपार्टी बीचको एकता घोषणा सभामा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘यो पार्टी एकता हाइड्रोजन र अक्सिजन मिलेर बनेको पानी हो । दुईटा बस्तु मिलेर बनेको एउटा बस्तु हो ।’ प्रचण्डले भने– ‘पानीबाट अक्सिजन र हाइड्रोजन निकाल्न सकिदैन ।’

प्रचण्डले एकता भइसकेपछि एमाले र माओवादी कहीं कतै नरहने समेत स्पष्ट पारे ।
पदको लागि मात्र अगाडि जाने प्रबृत्तिको विकास भएको भन्दै उनले त्यस्ता प्रबृत्तिको विरुद्ध लड्न सबैलाई अनुरोध गरे ।

‘पहिला पहिला नेताहरु मर्ने लडाइँमा म पहिला जान पाउ भनेर प्रतिस्पर्धा हुन्थ्यो तर अहिले सांसद, मन्त्री, प्रधानमन्त्री हुनु पर्यो भनेर प्रतिस्पर्धा हुने गरेको छ ।’ प्रचण्डले भने ।
देश अब नयाँ युगमा

प्रचण्डले अब देशमा नयाँ युगको सुरुवात भएको बताएका छन् । आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई समृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।

अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए । प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

Comments

comments