काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा पुगेर पदभार ग्रहण गरेका छन् ।

माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पहिलोपटक पुगेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले ‘प्रचण्ड र ओली सँगै बस्न सक्लान र ?’ भनेर भ्रम फिजाउँनेहरुलाई दुई पार्टी बीचको एकताले गतिलो जवाफ दिएको बताए ।

४८ वर्षदेखि मिल्न नसकेका आफुहरु शान्ति प्रक्रियामा आएपछि मिलेको बताउँदै अध्यक्ष ओलीले यो कदम पार्टी–पार्टी मिलेर ठूलो पार्टी बनाउन सकिन्छ भन्ने उदाहरण भएको समेत प्रस्ट पारे ।

‘हामीले ०२८ मा हतियार उठायौं, उहाँहरुले २०५२ मा उठाउनुभयो । उहाँहरुले हामीले हतियार उठाएको कदमको विरोध गर्नुभयो, हामीले उहाँहरुले हतियार उठाएको कदमको विरोध गर्यौं ।’ अध्यक्ष ओलीले भने– ‘अहिले शान्ति प्रक्रियामा आएपछि हामी मिल्यौं । यो कदम पार्टी–पार्टी मिलेर ठूलो पार्टी पनि बनाउन सकिन्छ भन्ने उदहारण हो ।’

ओलीले विप्लव र मोहन वैद्य किरणहरुतर्फ संकेत गर्दै व्यंगात्मक शैली भने– ‘आउनुहोस् हाम्रा दुईवटा कार्यालय छन, तपाईहरुका एउटा पनि छैनन्, यसैमा मिलेर बसौं, पद पनि दिऔंला ।’

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी संगठनात्मक रुपले सही ढंगले व्यवस्थापन गर्ने बताए । निकै कम समय बोलेका दाहालले हिजोको समयमा लेनिननले रुसी समाजलाई रेलको गतिमा अघि बढाउने दाबी गर्नुभएको उदाहरण प्रस्तुत गर्दै अहिले आफुहरुले भने विमानको गतिमा नेपाली समाजलाई अघि बढाउन चाहेको दाबी गरे ।

Comments

comments