काठमाडौं । राजधानीको मेट्रोपार्कस्थित भीएलएन र वानस्टप सेन्टरमा प्रहरीले छापा मारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहमन्त्रालयलाई गरेको पत्राचारअनुसार प्रहरीले भीएलएन र वानस्टपमा छापा मारेको हो ।

मन्त्रालयले संस्थाको कामकारबाही बन्द गराएको भएपनि अवैध ढंगले काम गरिरहेको पाइएपछि सञ्चालक रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए ।

मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरिसकेको छ ।

मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय गरेका थिए ।

मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिँदै आएको थियो ।

पक्राउ परेका श्रेष्ठलाई नेपाल पुलिस क्लवमा राखिएको छ। भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको बताइएको छ।

Comments

comments