काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्राकृतिक स्रात साधनको दोहन तत्काल रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न प्रदेशको प्रहरी प्रमूख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमूख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमूखको जिम्मेवारी पाएका डिआइजिहरूलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

उनले यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा रहेको र अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको बताए । छ ।

उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नसमेत प्रहरी अधिकारीहरूलाई निर्देशन दिए । गृहमन्त्री बादलले भने, ‘‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वाँस गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैमा महत्वपूर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरूले पुरा गर्नुहुनेछ ।’

सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्री बादलको भनाई छ । उनले भने,‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमूख जिम्मेवारी हो ।’

प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिए । यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिए ।

निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।

Comments

comments