काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा इलाका प्रशासन कार्यालयबाट सेवा शूरु भएको छ ।
बुधबार एक कार्यक्रमका बीच सेवा शूूरु गरिएको हो ।

सेवा शुरुसँगै अब यस क्षेत्रका जनताले नागरिकता, पासपोर्ट लगायतका सेवाको लागि धुलिखेल आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले महाभारत गाउँपालिकाका नागरिकले आगामी दिनमा नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र र पासपोर्टको सिफारिस इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुने जानकारी दिएका छन् ।

त्यसैगरि सेवा शुरु भएपछि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले आफूले जनतालाई सकेसम्मको सुविधा दिन तयार रहेको र यो सुविधा गाउँसम्म आएकोमा खुशी समेत व्यक्त गरे ।

यस अघिका प्रमुख जिल्ला अधिकारीको असहयोगका कारण कार्यन्वयन हुन नसेको बताउँदै अध्यक्ष जिम्बाले धेरै प्रयासपछि मात्रै इलाका प्रशासन कार्यालय स्थापना गर्न सफल भएको बताए ।

‘यसअघिका प्रमुख जिल्ला अधिकारीले कहिले कर्मचारी नभएको भन्ने, कहिले स्थानकोबारेमा विवाद रहेको लगायतका बहाना बनाएर स्थापना गर्न सकेनौं ।’ जिम्बाले भने– ‘हामी जनताको सुविधाका लागि प्रतिबद्ध छौं ।’

कार्यालय स्थापना भएपछि पहिलो पटक महाभारत गाउँपालिकाका–६ का मकरबहादुर थिङकी छोरी अनिता थिङ र छोरा प्रविण थिङले नागरिकताको प्रमाणपत्र लिए ।

आफ्नै घर आँगनमा जिल्लाको सदरमुकामबाट पाउने सुविधा पाएपछि महाभारत गाउँपालिकाका जनता खुशी छन् । धुलिखेलसम्म आएर सेवा लिन करिब एक हप्ता लाग्ने गरेकोमा अब एकदिनमा पाउने भएपछि उनीहरु खुशी भएका हुन् । ‘यहाँका जनताले यो सेवा पाउनका लागि करिब एक हप्ता लाग्थ्यो ।’ ५ नं. वडाका वडा अध्यक्ष रविन लामाले भने– ‘खर्च नि धेरै लाग्ने, समय नि धेरै लाग्थ्यो । अब जनताको आँगनमै आइपुगेको छ सेवा ।’

यस क्षेत्रलाई काभ्रेको ‘कर्णाली’ भनेर चिनिन्छ ।

Comments

comments

SHARE