महेन्द्र पुलिस क्लबको जुडो हलछेउ माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठामा २०५९ जेठ १३ गतेका दिन बिहान ११ बजे डोरीले पछाडी हात बाँधेर सेनलाई लडाइएको थियो । उनी वरिपरि सैनिकबर्दी लगाएका चारजना उभिएका थिए । बर्दीधारी मध्येको एक जनाले उनलाई यो देश कस्को हो भनेर सोधेको प्रश्नमा सेनले यो जनताको देश हो भनेर जवाफ दिएका थिए ।

तत्कालै बर्दीधारी प्रश्नकर्ता उनीमाथि जाइलागेको थियो । जनताको होइन यो देश राजाको हो भन्दै उसले सेनको निधारमा मुक्कामाथि मुक्का बर्षाएको थियो । तँ पनि ठकुरी, राजा पनि ठकुरी र म पनि ठकुरी । बर्दीधारीले भयंकर अट्टहास गर्दै भनेको थियो । ठकुरी राजाको विरुद्धमा लाग्ने तँ को होस् ।

नेपाल प्रहरीको तत्कालिन डिआइजी अमरसिंह शाहले चरम यातना दिएर सेनको हत्या गरेको आज १५ बर्ष पुग्दैछ ।
२०५९ सालको जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका सेनलाई हप्ता दिनसम्म चरम यातना दिएर महेन्द्र पुलिस क्लबमै राखिएको थियो । उनी गिरफ्तारीमा परेको भोलीपल्ट राती २ बजेसम्म सेनलाई अरु सहकर्मी साथीसँगै राखिएको थियो । चरम यातनाका कारण सेनका हातखुट्टा भाँचिइसकेका थिए । उनी उभिन सकिरहेका थिएनन् । त्यस्तो अवस्थामा पनि दुईजना प्रहरीलाई समात्न लगाएर तत्कालिन नगर प्रहरी इन्चार्ज बिक्रम थापाले भित्तामा अड्याँउदै सेनलाई लगातार बुटले हानिरहेको थियो ।

समाचार स्रोतका अनुसार चरम यातनाका कारण जेठ १३ गते बिहान ११ बजे सेनको प्राण गइसकेको थियो । उनको शवलाई बोरामा पोको पारेर सरकारी गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा१च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा सेनको शव महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालिएको थियो । सई, असईलगायतको एउटा टोलीले सोही दिन रातारात सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा दाहसंस्कार गरेको थियो ।

नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा त्यतिबेलाका प्रधानमन्त्री थिए । महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर ज्यान लिएपश्चात तत्कालिन सरकारका गृह प्रवक्ताले सेनको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो विज्ञप्ती निकालेका थिए ।

को हुन कृष्ण सेन ?

कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व थिए । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिए ।

भीमकुमारी र यमबहादुर सेनको सन्तानका रुपमा भारतको देहरादुनमा वि.सं. २०१३ कातिक ३ गते जन्मिएका सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । जलुके दाङ जिल्लाको पुरानो शहर भालुवाङको नजिकै रहेको छ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए ।

सामान्य लाहुरे परिवारमा जन्मिएर बी.एड, एम.ए सम्मको अध्ययन गरेका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए ।

सेन अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समितिका संयोजक, तत्कालिन नेकपा (माओवादी)का क्षेत्रीय ब्यूरो सदस्य, प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् र दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघका सदस्य भएर काम गरेका थिए ।

उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे ।

उनका प्रकाशित कृतिहरुमा शोकाञ्जली (२०४८),इतिहासको यस घडिमा (२०५५),बन्दी र चन्द्रागिरी (२०५७) रहेका छन् । सेनले कलम साहित्यिक त्रैमासिक,जनादेश साप्ताहिक,जनदिशा दैनिक आदिमा सम्पादकको रुपमा काम गरेका थिए ।

उनले साहित्य सन्ध्या (२०५७),पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९),कृष्णमणि साहित्य पुरस्कार (२०५९),प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त,प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त पुरस्कार पाएका छन् ।

सेनले जेल जीवन पनि बिताएका थिए । दाङ कारागार (६ वर्ष)
बन्दीगृह (१ वर्ष) , सिराहा र राजविराज (२ वर्ष),शहादत ः वि.सं. २०५९ जेठ १३ मा (महेन्द्र पुलिस क्लबको हिरासतमा) ।

सेनको शहादतपछि पनि कृति प्रकाशित छन् । जसमा कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ ,इच्छुक रचनावली भाग १,२,३ , कवि इच्छुक कविताका सन्दर्भमा र आस्था र निष्ठाका शतिसाल इच्छुक हुन् ।

उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे । परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् । सेनकी पत्नि तक्मा केसी र छोरी समीक्षा केसी रहेका छन् ।

Comments

comments

SHARE