-अञ्जली तामाङ

काभ्रे । विश्व वातावरण दिवसको उपलक्ष्यमा काभ्रेमा विभिन्न कार्यक्रम सहित मनाएको छ ।

जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिकामा प्रभातफेरी र बृक्षारोपण गरेर मंगलबार विश्व वातावरण दिवस मनाएको हो ।

ठूलीचौरमा १ सय ५० विरुवा रोपियो

‘प्प्लास्टिक प्रदुषण निर्मूल पारौं, पुनः प्रयोग गर्न नसके बहिस्कार गरौं ।’ भन्ने नाराका साथ जिल्ला वन कार्यालय, काभ्रे र धोविखोला सामुदायिक वनको आयोजनामा जिल्लाको धुलिखेल नगरपालिकामा रहेको ठूलीचौरमा बृक्ष रोपण गरिएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा १ सय ५० वटा विरुवा रोपिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख तथा एसपी रविराज खड्का, राष्ट्रिय अनुसन्धान विभाग काभ्रेका प्रमुख अनुसन्धान अधिकृत हरिचन्द्र श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष विनोद सापकोटा, वन पैदावर संघका अध्यक्ष माधवमणि हुँमागाईं लगायतले विरुवा रोपेका थिए । ठूलीचौरमा मयुरपंखी, धुपी र कपूर जातका विरुवा रोपेका थिए ।

सेनाले पनि विरुवा रोपेर मनाए वातावरण दिवस

यसैबीच धुलिखेलमा रहेको नेपाली सेनाको विष्णुदल गणले पनि आफ्नो व्यारोक परिसर ठूलीचौरमा पनि विरुवा रोपेर वातावरण दिवस मनाएको छ ।

श्री विष्णुगण दलका प्रमुख सेनानी रामहरि केसी, सेनानी विनोद पाठक लगायतकाले विरुवा रोपेका थिए । ठूलीचौरमा नेपाली सेनाले २५ वटा विरुवा रोपेका थिए । यसैबीच भकुण्डेमा रहेको नेपाली सेनाहरुले १ सय ५० वटा विरुवा रोपेको सेनानी केसीले तेमाल अनलाईनलाई जानकारी दिए ।

नेपाली सेनाले कागजी बदाम, स्याउ, चुच्चे ओखर, सुन्तला, आम्बा, कागती, अंगुर, ल्याङ स्याङ टाङ लगायतका जातका विरुवा रोपेको हो ।

बेथानचोकमा पनि वातावरण दिवस मनाइयो

विश्व वातावरण दिवसको अवसरमा बेथानचोक गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘प्लास्टिक प्रदुषण निर्मुल पारौं, पुर्नप्रयोग गर्न नसके बहिस्कार गरौं’ भन्ने नाराका साथ ग्रामिण विकास संस्थाको आयोजना तथा टि.डि.एच जर्मनी र ए.ई.आई. एन. लकजम्र्वरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यमा प्रभातफेरी सहित वृक्षारोपण गरेको थियो । कार्यक्रममा वडा नं. २ का अध्यक्ष भगवान घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्य, वडा सचिव योगनाथ उपाध्याय, ग्रामिण विकास संस्थाका फिल्ड कोअर्डिनेटर खडानन्द गौतम, संस्थाका पुरुषोत्तम आचार्य, बेथानचोक गाउँपालिका स्तरीय युवा सञ्जाल तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

१९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको थियो ।

Comments

comments