लेखक
-गेलोङ तारा तामाङ
तामाङ समुदायको उत्पत्ति, भाषा, संस्कृति हरुको पृष्ठभूमिको भावहरु यहाँ उल्लेख गर्नु आवश्यक ठानेनन्। धर्म मध्ये पनि विशेष गरि बुद्ध धर्म र तामाङ समुदायको सम्बन्ध बारे परम्परागत पृष्ठभूमि र भविष्यको चिन्तन बारे केहि आफ्नो विचार हरु सम्प्रेषण गर्न चाहन्छु।
१)  सर्वप्रथम म के भन्न चाहन्छु भने बुद्ध धर्म कुनै पनि जातको हैन। बुद्धको धर्म देशनामा कुनै जात विशेष नभइ यो सर्व प्राणी हित तथा मुक्तिको निम्ति मार्गदर्शक हो।  यस बारे धेरै बोल्नु नपर्ला।
बुद्ध नेपालमा जन्मे पनि ज्ञान प्रप्त भारतमै गरे, धर्म देशनाको शुरुवात पनि भारत बाट हुदै नेपालमा पनि विस्तार भएको सत्यता हो। बुद्ध धर्मको भारत,नेपाल अन्य देशमा   उदय भए पश्चात धेरै वर्ष पछिल्लो  ७औ शताब्दी तिर ३३औ राजा स्रोङचेन गम्पोको पालामा तिब्बतमा बुद्ध धर्मको उदय पुर्णरुपमा सफल भएको थियो।
त्यस बेलाको परिवेशमा बोन (झाँक्री) धर्मको चलन थिए, त्यस्तो बलियो शक्तिशाली बोन चलनको परिवेशमा बुद्ध धर्म प्रवेश गर्नु  त्यति सहज परिस्थिति पटक्कै थिएन।  यद्दपी राज्यको संरक्षण र बुद्धको आशिष अनि गुरु पद्म सम्भवको शक्ति प्रदर्शन लगायत अनेक प्रयासरत संघर्ष पश्चात परिपक्वता पुर्णतया रुपमा उदय हुन सफल भएको थियो।   यस बारे अन्य लेखहरूमा लेखौला।
त्यसरी तिब्बतमा बुद्ध धर्मको प्रवेश संगै क्रमिक रुपमा विकास हुदै गयो।  तिब्बतमा रहेको प्राचीन बोन धर्म, पछिल्लो समयमा त्यसरी उदय भएको बुद्ध धर्म नै तामाङ समुदायको परापूर्व काल देखि मान्दै आएको पारम्परिक धार्मिक संस्कार भन्ने प्रचलन भन्ने आधारभुत कारण हरु त्यहि हो।
तामाङ समुदायको इतिहाँस हेर्दा, धर्म, भाषा, संस्कारको आधारमा तिब्बत संगै नजिक हुन्छ। र त्यहि कारण पनि भोटे भन्ने गरेको होला।  तिब्बतको राजनितिक उथलपुथलको इतिहाँस बुझ्ने हो भने तामाङहरु तिब्बतकै सन्तान भन्ने आधारहरू पक्कै देखिन्छ तर यथार्थको खोज सबैले गरुन् ।
तामाङ समुदायमा बोन र बुद्ध धर्म दुबै मिश्रित संस्कारको चलन कसरी सम्भव भएको होला त्यो सोचनीय विषय पक्कै छ। तसर्थ तामाङ समाजमा  मर्दा लामाले अन्त्येष्टी गर्ने कुल पुजा, बिरामी लगायत अन्य कार्यमा बोन संस्कार भएको प्रत्यक्ष आँखाले देख्न सकिन्छ। भलै अहिले धेरै परिवर्तन भईसकेको छ, अझ धेरै गाउँ वस्तीमा त्यस्तै चलन रहिरहेकै छ।
स्रोङचेन गम्पोको पाला देखि नै बौद्ध ग्रन्थहरु तिब्बत आफ्नै भाषामा अनुवाद गर्दै ८औ शताब्दी ठीस्रोङ देउचेन सम्ममा ग्रन्थसंग्रह नै अनुवाद भईसकेका थिए। यद्दपी ९औ शताब्दी तिर राजा लाङदरमाले बुद्ध धर्म पुरै नष्ट गरिएको कालो इतिहाँस छ।  ११ औ शताब्दी तिर फेरि बुद्ध धर्म पुनर्उथान गरिएको थियो।
पुनर्उथान गर्दा फेरि ग्रन्थ अनुवाद कार्यहरु पनि गरियो, स्रोङचेन गम्पोका पालामा उत्थान भएका तथा अनुवाद गरिएका ग्रन्थ तथा धर्मलाई ञ्यीङमा(पुरानो) भन्ने प्रचलन भयो।  त्यही ञ्यीङमा(पुरानो) परम्परा नै हाम्रो तामाङ समुदायले अंगाल्ने गरेको रहेछ। अर्थात हाम्रो तामाङ समुदायको बुद्ध धर्म भनेको ञ्यीङमा परम्परागत अनुसार रहेछ।  ञ्यीङमा परम्परागत अनुसार भए पनि अहिले त्यस्तो ञ्यीङमा परम्परा खासै देख्दिनँ।  ञ्यीङमा सम्प्रदाय भन्ने सबै चलन हाम्रो समुदायको परम्परागत प्रचलनमा रहेको संस्कार होईन।
आज भारत तथा तिब्बतमा ञ्यीङमा सम्प्रदायका गुम्बामा रहेका परम्परागत लामा ग्युपा (गुरु वंश) सबै तामाङ समुदायको परम्परा  संग सम्बन्ध छैन। तामाङ समुदायको आफ्नै छुट्टै परम्परागत गुरु वंश रहेको आधारहरू छ, यद्दपी अहिले त्यो ग्युपा लोप हुदै गएको अवस्था हो।
तामाङ समुदायको परम्परागत बुद्धिष्ट संस्कार बुद्ध दर्शन विपरित गएको भाव देखिन्छ किनकि मर्दा लामाले घेवा गर्ने अन्य बेला प्राणी बलि चढाउने बोन संस्कार पनि अपनाउने ।  यहि एक उदाहरण हेर्दा बुद्ध दर्शन विपरित भन्ने प्रष्ट  देखिन्छ।  यद्यपि यस्तो चलन कसरी बसालिएको हुन् त्यो भने बुझ्नै पर्ने हुन्छ।
तामाङ समुदायको बुद्धिष्ट परम्परा अनुसार मान्छे जन्म देखि मृत्यु सम्मको कर्म काण्ड गरिन्थ्यो।  उदाहरणको लागि, ४९ दिनमा घेवा गर्दा के कस्तो गरिन्थ्यो १३/१४ वर्ष अघि फर्केर हेर्दा प्रष्टै हुन्छ।
त्यसैले अहिले जुन सुकै सम्प्रदायको लामाले घेवा गरे पनि तामाङ समुदायको परम्परागत वंशीय संस्कार  पटक्कै हैन।  अहिलेको ञ्यीङमा सम्प्रदायको लामा गुरुले गरे पनि तामाङ समुदायको परम्परागत संस्कार अनुसार गर्नु हुन्न ।
माथि उल्लेख गरे अनुसार तामाङ समुदायको परम्परागत स्तरमा ञ्यीङमा सम्प्रदाय भने पनि लामा ग्युपा(गुरु वंशज) लोप भएको अवस्था हो।
त्यसैले अहिले जति पनि भारत , नेपाल तिब्बत गुम्बामा अध्ययन गर्ने जुन सुकै सम्प्रदायको लामा होस् हाम्रो तामाङ समुदायको परम्परागत गुरु वंशीय प्रचलनअनुरूप कोहि पनि छैन।
कोहि ञ्यीङमा सम्प्रदायका साथीहरुले  हाम्रो तामाङ समुदायको परम्परागत सम्प्रदाय ञ्यीङमा हो, हामी ञ्यीङमा नै तामाङ समुदायको मालिक हुन् भन्ने जस्ता भाव देखाउने गरे पनि यथार्थमा तामाङ समुदायको परम्परागत प्रचलन अनुसारको लामा ग्युपा कसैले संरक्षण सम्बर्द्धन गरिरहेका छैनन्।  ञ्यीङमा सम्प्रदाय भनेर मात्रै हुन्न त्यस भित्रको पनि फरक फरक गुरु वंश हुन्छ भन्ने यथार्थको धरातलमा उभिएर हेर्नु भयो भने अहिले जुन सुकै सम्प्रदाय होस् , अनि घमाण्ड नगरे हुन्छ ।
किनकि तपाई हामी कसैले पनि तामाङ समुदायको परम्परागत लामा ग्युपा संरक्षण गरिरहेका छैन।  अहिले परम्परागत प्रचलन अनुसार संरक्षण सम्बर्द्धन गरिरहने सीमित गाउँ ठाउमा केहि व्यक्ति होलान्।  समय संगै हरेक स्थिति परिवर्तन हुनु तथा रुपान्तरणमा परिणत हुनु पनि गलत हैन। तसर्थ हाम्रो तामाङ समुदायको धार्मिक परम्परा बुद्ध दर्शन विपरित जस्ता भएर पनि लोप हुदै गएको पो हो कि या अन्य कारण?
तिब्बतको गुम्बामा अध्ययन पश्चात गेशे, खेन्पो अचार्य के के विधा हासिल गरिएको असामान्य लामा गुरुहरुको उदय हुदैछ, अझ क‍ोहि कोहि त टुल्कु, रिन्पोछे के के अवतारी पनि घोषित भएको छ।  यि सबैले तामाङ समुदायको परम्परागत धर्म प्रचलन लाई संरक्षण गर्ने हो र ?  हैन, बरु परम्परागत भन्दा रुपान्तरित चलन स्थापित गराउने चाहिँ हुन्। यो आवश्यक पनि ठान्दछु। तामाङ समुदायको  बुद्धिष्ट चलन अपुर्ण छ त्यसैले लोप हुदै गएको छ।
अपुर्ण यस कारण छ:
बुद्ध धर्मको मुलग्रान्थ त्रिपिटक हो।
१)विनय सुत्र। २) सुत्र पिटक । ३) अभिधर्म पिटक। (देनोई सुम)
क)  भिक्षु र भिक्षुक  जिवन यापन, संघले पालना गर्नु पर्ने नियमहरु उल्लेख गरेको भागलाई विनय सुत्र  (धुलवा) भनिन्छ।
ख) भागवान बुद्धसँग अनेक विषयमा विभिन्न व्यक्ति वा समूहले गरेको वार्तालापहरुको संकलनलाई सूत्र पिटक (धो) भनिएको छ ।
 ग) भगवान बुद्धको दर्शन (विश्वदृष्टिकोण) पक्षलाई समेटिएको भागलाई अभिधर्म पिटक  (ङोन्पाइ छ्योइ) भनिन्छ।
हाम्रो तामाङ समुदायको परम्परागत बुद्धिष्ट प्रचलनमा यसको कुनै संरक्षण सम्बर्द्धन गरिएको छैन।   तान्त्रिक प्रचलन अपनाएर कर्म काण्ड आस्था संस्कार मात्रैमा सीमित रहिआएको छ।
गुम्बाहरु पनि देवलाय (ल्हाखाङ) बनेर कर्म काण्डी  पुजारीको रुपमा मात्रै सिमीत भएको छ।
तान्त्रिक विधि पनि सहि तरिकाले अपनाइयो या हैन त्यो पनि अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ।  यस्तै यस्तै कारण तत्वको आधारमा अपुर्ण धार्मिक  अभ्यास संस्कार रुपमा प्रचलन रहदै आयो, समय संगै यो विलय हुदै जानु अस्वाभाविक जस्तो नहोला कि!
जुन सुकै राष्ट्र तथा समुदायमा पनि  अनुयायीसमुह, धार्मिक प्रवर्द्धनको ऐतिहासिक कला तथा संरक्षण सम्बर्द्धनकै आधारमा धर्मको मुल मर्म बचाएको हुन्छ।  हाम्रो समुदायले धर्मको मुल मर्मलाई बचाउन तथा स्थापित गराउन सकेन। कर्म काण्डमा नै सीमित रहिआयो।
बुद्धले पनि धर्म संरक्षण सम्बर्द्धन लामो समय टेक्न वा व्याप्त हुन धर्म संघ स्थापना गर्नु भएको थियो।   त्यहि धर्म संघ मार्फत् आज सम्म धर्मको संरक्षण सम्बर्द्धन भईरहेको छ।
बुद्ध पछि पनि धर्म संघ  तथा अनुयायीहरुले  बौद्ध धर्ममा महायाना सम्प्रदायहरुको विकास भएपछि नालन्द विश्वविद्यालय, तक्षशीला र विक्रमाशीला जस्ता विश्वविद्यालयहरु स्थापना भए । जहाँ बौद्ध शिक्षाको अतिरिक्त संस्कृत लेखन (भाषा), औषधशास्त्र, तर्कशास्त्र, दर्शनशास्त्र, खगोलशास्त्र, ज्योतिषशास्त्र जस्ता विविध विषयमा अध्ययन गराउथे।  यसरी पुर्णरुपमा व्यवस्थापन गरेर धर्म संरक्षण सम्बर्द्धन, प्रचार प्रसार गर्नुभएको थियो, आज ति संघहरु समय संगै विलय हुन पुगे पनि त्यसको मुल मर्म संरक्षणमा छ।
२) तामाङ समुदायमा बुद्ध धर्मको भविष्य:
इतिहाँस फर्केर हेर्दा तान्त्रिक विधिवत् कर्म काण्डी संस्कारमा मात्रै सिमीत हुदै आएको धार्मिक विषय आँउदो दिनमा भने पक्कै पुर्णतया रुपमा प्रबर्द्धन हुने संकेत तथा आधारभूत तत्वहरु देखिएको छ। यसर्थमा तामाङ समुदायमा बुद्ध धर्मको भविष्य उज्वल देखिन्छ।    तर चुनौतिको पहाड हरु पनि उत्तिकै छ।
यद्दपी  हामीले गर्नुपर्ने धार्मिक व्यवस्था हरु: 
आस्थाका कथा जस्तै मात्रैमा सिमीत नभई त्रिपिटक, सुत्रसंग्रह (काङ्ग्युर) सहित्यनुवाद(तेनग्युर)  हरुको मर्मलाई बुझेर उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ।
विशेष गरि भिक्षु भिक्षुणीको संघ निर्मण गरि अध्ययन केन्द्रको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
उपसक उपसिकाहरुलाई पनि उचित व्यवस्थापन गरि धार्मिक अभ्यास केन्द्रमा व्यवस्थापन मिलाएर समाजमा जागरण गराउनुपर्ने हुन्छ।
तामाङ समुदायको परम्परागत धार्मिक प्रचलन लाई हेरफेर गरेर समय सपेक्षित परिमार्जित रुपान्तरण गर्नुपर्ने हुन्छ।
भारत तथा तिब्बत गुम्बामा अध्ययन गर्नुहुने जुन सुकै सम्प्रदायको भए पनि हाम्रो तामाङ समुदायको परम्परागत वंशीय प्रचलन कसैले नअपनाउने  भएकोले सम्प्रदायको नजरअन्दाज गरेर आनअवश्यक निषेध गर्नु भन्दा जसले समाजको लागि बुद्ध धर्मको त्रिपिटकको निम्ति व्यवस्थापन गर्छ त्यसलाई सबैले साथ सहयोग गर्नुपर्ने हुन्छ।
यस्तै यस्तै अभ्यास तथा व्यवस्थापन गर्दै गएर सफलता भयो भने मात्र तामाङ समुदायमा बुद्ध धार्मिक चलन परिपक्वता तथा पुर्णरुपमा स्थापित हुने मान्य हुनेछ।  भगवान बुद्धको उपदेशहरु जीवन, जगत र त्यसलाई हेर्ने वा बुझ्ने दर्शनतिर केन्द्रित गरेर स्थापित गराउनुपर्छ ।
वास्तवमा खेन्पो भनेको  भिक्षु शिल परिपक्वता  पालन गरिएको भिक्षु संघको नायकलाई भनिन्छ, तर आजभोलि कतिपय गुम्बा व्यवस्थापनमा विधा उपाधिको  आधारमा खेन्पो भन्ने प्रचलन देखिएको छ।  तसर्थ समय सपेक्षमा नयाँ आयाम बाट क्रिया प्रक्रियाहरु प्रचलनमा आउनु स्वभाविक रुपमा लिनु पर्दछ।
  त्यस्तै हाम्रो तामाङ समुदायमा पनि बुद्ध धर्मलाई नयाँ आयाम तथा परिपक्वता व्यवस्थापन गरेर विकास गर्दै जानु पर्दछ।  अब सबै सम्प्रदाय हाम्रो समाजमा प्रवेश गरिसकेकाले यसलाई नयाँ आयाम तथा ज्ञान शक्तिको रुपमा ग्रहण गरेर संरक्षण सम्बर्द्धन गर्नु नै तामाङ समाजमा बुद्ध धर्मको उज्वल भविष्यको आधारभूत कारक हुन्।
अन्तमाः  हामी तामाङहरु बुद्धिष्ट भन्ने गरे पनि वास्तवमा बुद्धिष्ट हुन नसकेको यथार्थमा दुख लाग्दछ । अब खेन्पो  गेशे, अचार्य ,अवतार टुल्कु सबैले बुद्ध शिक्षा तथा ज्ञानको दर्शन लाई स्थापित गर्न गराउन आ-आफ्नो स्थान बाट सशक्त भुमिका निभाउने दायित्व बोध सदैव मनमा राखियोस्।      
(लेखक बौद्ध शान्ति अभियान संघ, नेपालका अध्यक्ष हुनुहुन्छ । –सम्पादक)

Comments

comments

SHARE