काभ्रे । जिल्लाको बनेपा वडा नं. ७ मा रहेको उग्रतीर्थ घाटमा नेपाली सेना र जनकल्याण सामाजिक गुठीको सहयोगमा निर्माण हुँदै गरेको सामुदायिक भवनको आज अनुगमन गरेको छ ।

धुलिखेलमा रहेको विष्णुदल गणको सहयोगमा निर्माण हुँदै गरेको उक्त भवनको सेनाले अनुगमन गरेको हो ।
सोमबार (आज) विष्णुदल गणका प्रमुख सेनानी रामहरि केसी र सेनानी विनोद पाठक लगायतले निर्माण कार्यको अनुगमन गरेका छन् ।

गणका प्रमुख सेनानी केसीका अनुसार उक्त भवन ७० लाखको लागतमा निर्माण हुने छ । निर्माणाधिन उक्त भवन ८ कोठे सहितको दुई तले हुने केसीले तेमाल अनलाइनलाई जानकारी दिए ।

‘नेपाली सेना र नागरिक बीचमा सुमुधुर सम्बन्ध बनाउन यसरी सामुदायिक भवन निर्माणमा हामीले सहयोग गरेका छौं ।’ प्रमुख सेनानी केसीले भने, ‘नागरिकलाई तत्काल लाभ हुने कार्यक्रमहरु हामीले गर्दै आएका छौं ।’

निर्माणाधिन भवनमा क्रियापुत्र, विवाह, ब्रतबन्ध लगायतका कार्यहरु गर्न सकिने छ । भवनको सिलान्यास प्रमुख सेनानी केसीले गएको वर्षको फागुन ६ गते गरेका थिए ।

Comments

comments